
काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् ।
पक्राउ मध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।