
दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतार द्वारा आयोजित करियर डेभलपमेन्ट तालिम सम्पन्न भएको छ । सामान्य रूपमा बायोडाटा कसरी निर्माण गर्ने, अन्तर्वार्ता दिन जाँदा कसरी प्रस्तुत हुने र कार्यक्षेत्रमा कसरी नम्रता प्रकट गर्नेसहितका विभिन्न आधारभूत विषयलाई समेटेर उक्त तालिम आयोजना गरिएको थियो ।
नयाँ कुराहरू सिक्न चाहानेहरू सहभागी भएको उक्त कार्यक्रमलाई विषयगत दक्ष उमेश महरा र गोपाल बस्यालले रोजगारी, सीप विकास तथा व्यक्तिगत प्रगतिको क्षेत्रमा प्रत्यक्ष प्रयोग हुने ज्ञानका बारेमा प्रशिक्षित गरेका थिए । सहभागीहरूले भविष्यको यात्रामा अझ सक्षम, आत्मविश्वासी र प्रतिस्पर्धी बनेर सिकेका ज्ञानले थप सफल हुने विश्वास एनसिसीले लिएको छ ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रममा एनसिसी कतार र क्युएस्टी ट्रेनिङ एन्ड कन्सल्टेन्सीबीच नेपाली समुदायको क्षमता विकासका उद्देश्यले ऐतिहासिक सीप विकास सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी म्यानेजिङ डाइरेक्टर यासमिन नाजले हस्ताक्षर गरेका हुन् । कतारमा रहेका नेपालीहरूका लागि केही निःशुल्क र केही छुटसहितका तालिमहरू प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौताले नेपाली समुदायको सीप, योग्यता र अवसरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

सम्झौताअनुसार कन्सल्टेन्सीले सिप सिकेका नेपाली नागरिकलाई प्रमाणपत्रसहित स्वास्थ्य र कार्यक्षेत्रको सुरक्षाका बारेमा २० जनालाई निःशुल्क, खाद्य तथा एचएसिसिपी लेभल २ तथा सेफ्टी २० जना र खाद्य तथा एचएसिसिपी लेभल ३ मा १० जनालाई निःशुल्क तालिम प्रदान गरिने जनाइएको छ ।
त्यस्तै वर्षभरि तीन चरणमा ५० जना नेपाली सहभागीका लागि निःशुल्क माइक्रोसफ्ट अफिस र डकुमेन्ट कन्ट्रोलरका लागि आवश्यक कम्प्युटर तालिमका कोर्सहरू समावेश गरिएको कन्सल्टेन्सीकी म्यानेजिङ डाइरेक्टर यास्मिन नाजले मध्यान्ह दैनिकलाई जानकारी दिइन् । नाजका अनुसार दुवै संस्थाले प्रत्येक तीन महिनामा एक पटक समुदायको हितमा सामाजिक सचेतना, स्वास्थ्य, सुरक्षा र गर्मीबाट बच्ने उपाय तथा तनाव व्यवस्थापनका बारेमा निःशुल्क रूपमा सञ्चालन गरिने सम्झौता भएको बताइन् ।
त्यस्तै छुटसहित प्रदान कन्सलटेन्सीले नेपाली समुदायका लागि एचएबिसी युकेको सबै कोर्समा ५० प्रतिशत छुट ओटिएचएम युके क्वालिफिकेसनमा १५-२० प्रतिशत, पिएक्यु युके क्वालिफिकेशनमा ५० प्रतिशत छुट दिने भएको छ । उक्त कार्यक्रमको सहजीकरण एनसिसि कतारका सचिव श्री अर्जुन सग्रौलाले गरेका थिए । कार्यक्रमको समापन गर्दै एनसिसीका अध्यक्ष कृष्ण पन्थीले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । पन्थीले नेपालीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।