२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान, कायममुकायमको जिम्मेवारी रथी प्रदीपजंग केसीलाई

Nada
२०८३ असोज १९ गते १२:२६
Shares
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान, कायममुकायमको जिम्मेवारी रथी प्रदीपजंग केसीलाई

काठमाडौँ : प्रधानसेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्  ।

ncell

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ देखि २३ गतेसम्म (५–११ अक्टोबर २०२६) हुने भ्रमणका लागि बेलायत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।

नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणले सदियौँदेखि रहँदै आएको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि सैनिक सम्बन्ध र सहकार्य रहँदै आएको छ । सेनाले भने यस विज्ञप्तिमा भ्रमणका क्रममा हुने भेटवार्ता तथा अन्य कार्यक्रमको विस्तृत कार्यतालिका खुलाएको छैन ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति सिग्देलको औपचारिक बेलायत भ्रमण असोज २३ गते अर्थात् अक्टोबर ११ सम्म रहनेछ ।

ताजा खबर

सम्बन्धित खबर