२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिँदै

Nada
२०८३ असोज १९ गते १२:२८
Shares
पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिँदै

काठमाडौँ : पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ ।

ncell

ट्रेकिङ एजेन्सीजी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आइतबार साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानका लागि महासंघ बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए), पाट्टा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नयाँ गठन गर्न लागिएको महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ । बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र  एकीकृत आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले भदौ १० गते आएको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

विपद्का कारण अझै बेपत्ता रहेका व्यक्तिहरूको खोज तथा उद्धारलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, भदौ १० को विपद्का पीडितहरूको स्मृतिमा अन्तरराष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि गरिएको छ ।

सरकारले लामो समयपछि पर्यटन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा बैठकले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी नयाँ ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै, बैठकले नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे पनि छलफल गरेको छ । निजी क्षेत्रका प्रतिनिधिले वर्तमान पर्यटन बजार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र पर्यटन उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेट अझ बढी पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी र परिवर्तनकारी हुनुपर्ने धारणा राखेका छन् ।

पर्यटन प्रवर्द्धनलाई बजेट खर्च गर्ने विषयमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा बैठकले जोड दिएको छ । 

ताजा खबर

सम्बन्धित खबर