
महेन्द्रनगर : महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी झोलुंगे पुल भत्काएपछि त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका छन् । पुलमा आवागमन बन्द हुँदा पर्यटकको संख्या घटेको र व्यवसाय ठप्पजस्तै भएको स्थानीय व्यवसायीले बताएका छन् ।
गत असोज दोस्रो साता आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्काएपछि प्रशासनले आवागमनमा रोक लगाएको थियो । यसअघि दसैँ, तिहार र शैक्षिक भ्रमणका बेला पर्यटकले भरिभराउ हुने क्षेत्र अहिले सुनसान बनेको छ ।
होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार पहिले दैनिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा पुल बन्द भएपछि व्यापार निकै घटेको छ । उनले पुल पुनर्निर्माणमा ढिलाइ हुँदा व्यवसायी समस्यामा परेको भन्दै सरकारसँग तत्काल काम सुरु गर्न माग गरेका छन् ।
प्राविधिक टोलीले पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने अनुमान गरेको छ। यता सुदूरपश्चिम प्रदेश सरकारले पुनर्निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार दसैँ–तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक पुल अवलोकन गर्न आउने गर्थे । पुल बन्द भएपछि पर्यटनसँग जोडिएका व्यवसायमा समेत असर परेको उनले बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पनि पुलको पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार उक्त पुल आवागमनको माध्यम मात्र नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणसमेत भएकाले यसको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने व्यवसायीको माग छ ।