
काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम बनाउन प्रस्ताव गरेको छ ।
तुर्किएको अन्ताल्यामा जारी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली तथा पर्वतीय मुलुकका मुद्दालाई कोपको औपचारिक प्रक्रियामा समेट्न नेपालले पहल गरेको बताएका छन् ।
सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उच्चस्तरीय बैठकहरूमा नेपालले पर्वतीय मुलुकका सरोकार उठाएको बताए । यस वर्षको सम्मेलनले ती सरोकारलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनमा विश्वव्यापी अनुकूलन लक्ष्य र नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्नुपर्ने धारणा राखेका थिए । नेपालले जलवायु वित्तमा न्यायोचित पहुँच र जलवायु परिवर्तनबाट हुने हानि–नोक्सानीको प्रभावकारी सम्बोधनमा पनि जोड दिएको मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता पनि गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री खनाल स्वदेश फर्किएपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन र बहुप्रकोपीय पूर्वसूचना प्रणाली सुदृढ बनाउनुपर्ने विषय उठाएको थियो । प्रतिनिधिमण्डलले प्रविधि हस्तान्तरण, क्षमता विकास र क्षेत्रीय सहकार्यका साथै जलवायुजन्य विपद्पछिको पुनर्निर्माण तथा पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्नेमा पनि जोड दिएको थियो ।