२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छ : सुनिता डंगोल

Nada
२०८३ मंसिर ५ गते १३:०२
Shares
गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छ : सुनिता डंगोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी छन् ।

शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् । 

 उनले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको बताइन् ।

विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भएपनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको उनको भनाइ छ । 

उनले भनिन्, ‘आजको यो शिलान्याससम्म आइपुग्न भवन भत्काउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न र सरोकारवाला निकायसँग समन्वय, परामर्श तथा सहकार्य गर्न लामो प्रयास गर्नुपरेको छ । पूर्व गणेश र भैरवका पुजारी तथा अग्रजहरूको योगदानले पनि यस कार्यलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ । विशेषगरी इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यसको महत्त्वपूर्ण भूमिका रहनेछ । यस निर्माण कार्यले जीवित सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक गरिमा बढाउने विश्वास लिइएको छ । त्यसैले भवनलाई सम्पदामैत्री, आकर्षक र बलियो बनाउन निर्माण कार्यको निरन्तर अनुगमन, सुझाव र सहयोग गर्न सबैमा अनुरोध गर्दछु ।’

उनकाअनुसार नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउनेछ । उनले निर्माण कार्यलाई सम्पदामैत्री, बलियो र आकर्षक बनाउन स्थानीय तथा सरोकारवालाको सहयोग र सुझाव आवश्यक रहेको बताइन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर