तेजबहादुर बन/मध्यान्ह
इटहरी : नजिकिदै गरेको हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली लगायतका चाडपर्वलाई लक्षित गर्दै प्रदेश १ प्रहरीले नयाँ सुरक्षा योजना ल्याएको छ । प्रहरी कार्यालय विराटनगरले नयाँ सुरक्षा योजना ल्याएको हो । नयाँ सुरक्षा ल्याएसँगै प्रहरीले अन्य स्थानको तुलनामा भारतसँग सिमा जोडिएका नेपालका नाका क्षेत्रहरुमा सुरक्षा गस्तिलाई कडा बनाएको छ ।
तर केही व्यापारीहरुले भने प्रहरीले सुरक्षा चेकिङको नाममा अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।
भारतको जोगवनीबाट धरानका लागि दशैँ किनमेल गरेर फर्किएका मणिकुमार कटुवालले परिवारका लागि लत्ताकपडा र घरका लागि आवश्यक खाद्यन्न लिएर फर्कने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच भन्दै झोलाको सामान निकालेर छर्ने गरेको बताए । त्यस्तै इटहरी हलगढाकी रमिला दाहालले पनि चेकजाँचका क्रममा प्रहरीले दुःख दिएको गुनासो पोखिन् ।
यता चाडपर्वलाइ मध्यनजर गर्दै प्रदेश एक प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशका १४ जिल्लाहरूमध्ये मुख्य जिल्लाहरूका सहरहरूमा केहि प्रहरी प्रमुखहरूको फेर बदल गरी बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । विशेष गरी सुनसरी, मोरङ, झापा, ताप्लेजुङ, धनकुटा, उदयपुरर भोजपुरमा प्रहरीको संख्या बढाइ ती जिल्लाका मुख्य शहरहरूमा दैनिक निगरानी बढाइएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चाड पर्वमा हुने अपराधिक गतिविधिहरूलाई मध्यनजर गर्दै सिमा क्षेत्रमा मदिरा बिक्री वितरणमा थप कडाइगरिनुका साथै नियमित चेकजाँचलाई तिब्रता दिइएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डीआइजी ठाकुर प्रसाद ज्ञवाली बताउँछन् ।
निगरानी बढाइएका जिल्लाहरू मध्ये प्रदेश एकका मुख्य पाँच जिल्लाहरूमा प्रहरी हाइअलट गरिएको ज्ञवालीको भनाइ छ । उनका अनुसार सुनसरी, मोरङ, झापा, धनकुटा, उदयपुर र ताप्लेजुङमा सुरक्षा संयन्त्र बलियो बनाइएको छ ।
बढी जसो अपराधिक गतिविधि हुने यि ५ जिल्लाका प्रहरी प्रमुखहरूलाई हाइअलट रहेर काम गर्न निर्देशन दिइसकेको बताउँदै प्रदेश एकका प्रहरी प्रमुख डीआइजी ज्ञवालीले चाडपर्वको मुखमा अहिले बिप्लवको चन्दा आतंक,साना हातहतियार किनबेच, लागूऔषध बिक्रिवितरण, ठुला तस्करीहरूको चलखेल, मानव बेचविखन, अवैध यौनधन्दा, अपहरण, हत्या, बलात्कार जस्ता घटनाहरूले प्रशय पाउने हुँदा त्यस्ता गतिविधिहरूलाई नियाल्न प्रहरी प्रमुखहरूलाई हाइ अलर्टमा रहेर काम गर्न निर्देशन दिइएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies