सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : सामुदायिक वन डढेलो नियन्त्रण सञ्जाल डोहोटे अर्घाखाँचीका अध्यक्ष रेशमराज बन्जाडे आजभोलि डढेलोबाट वन कसरी जोगाउने भनेर स्थानीय समुदायसँग छलफलमा खटिएका छन् । उनी दैनिक सामुदायिक वनका पदाधिकारी तथा वन सरोकारवालासँग जंगलमा डढेलो लाग्नै नदिने र लागिसकेपछि नियन्त्रणमा कसरी लिने भनेर छलफलमा खटिने र अन्तरक्रिया गर्ने गरेका छन् ।
उनी मात्रै होइन, सो क्षेत्रका सामुदायिक वनका अध्यक्ष, पदाधिकारी, सदस्यहरु, सव डिभिजन कार्यालय बाणगङ्गा, सव डिभिजन वन कार्यालय शितगंगा, सामुदायिक वनमा काम गर्ने संघसंस्था तथा सरोकारवाला निकायहरू अहिले डढेलो नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै वन जोगाउन रातदिन खटिएका छन् । वसन्त ऋतु (चैत÷वैशाख)मा खासगरी वनजंगल जोगाउनै सकस पर्ने गरेको बाणगङ्गा सव डिभिजन कार्यालयका वन अधिकृत पन्नालाल भट्टराईले बताए ।
बाणगङ्गा सव डिभिजन अन्तर्गत धिरिखोला सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायण पौडेलले भने, ‘उपभोक्ताहरूले वर्षभरि दुःख गरेर जोगाएको वन डढेलोले एकैछिनमा सखाप पारिदिन्छ, त्यसैले पनि हामी उपभोक्तालाई चैत, वैशाखमा जहिल्यै पनि वन जंगल जोगाउनै चिन्ता पर्ने गरेको छ ।’
वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पनि हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा व्यस्त देखिन्छन् भने वनको हेरचाहमा लागिपरेका छन् ।
गर्मीयाम शुरु भएसँगै अर्घाखाँचीको शितगंगा नगरपालिकाभित्रका १ सय १० वटा सालघारि रहेका सामुदायिक वन उपभोक्ता समितिहरुले सामुदायिक वनमा अग्निरेखा नियन्त्रण, आगलागी नियन्त्रणसम्बन्धी जनचेतना जगाउने खालका सन्देश दिने गरे पनि समाजमा रहेका केही नबुझ्ने व्यक्तिहरूले आगो लगाइदिने गरेका कारण डढेलोको प्रकोपबाट जंगल जोगाउन सकस हुने गरेको गैडे सामुदायिक वन उपभोक्ता समितिका सचिव तथा वैज्ञानिक वन व्यवस्थापन महासंघका केन्द्रीय सदस्य सीता बेल्बासेको भनाइ छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले गर्मीयाममा जंगलका विभिन्न ठाउँमा आगलागी भइ बहुमूल्य काठ, जडीबुटी तथा जीवजन्तुको बासस्थान, स–साना बोटबिरुवा वर्षेनी नोक्सान हुने गरेकाले जंगल जोगाउन वनका कर्मचारी रातदिन नभनी खटिने गरेको बताए । पौडेलले भने, ‘वनजंगलमा डढेलो लाग्न नदिनका लागि वन कार्यालय एक्लैले केही गर्न सक्दैन, त्यसका लागि सरोकारवाला निकाय सबैको सहयोग र आम उपभोक्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यो सहयोग अर्घाखाँचीमा हुने गरेकाले डढेलोमा कमी आएको छ ।’
केही उपभोक्ताले समयमा ध्यान नदिँदा हरियो वन वर्षेनी डढेलोका कारण मासिँदै गएको बताउँदै पौडेलले भने, ‘त्यसका लागि हामीले पनि अर्घाखाँचीका सबै सामुदायिक वनलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्न लगाएका छौं, आफैंले पनि गरिरहेका छौं भने डढेलो नियन्त्रणका लागि सामुदायिक वनलाई चाहिने सामग्री पनि प्रदान गरेका छौं ।’
डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत मदन प्रसाद ढुंगाना भन्छन्, ‘गर्मीयामा बढी आगलागी भइ बहुमूल्य काठ, जडीबुटी तथा जीवजन्तुको बासस्थान, स–साना बोटबिरुवा वर्षेनी नोक्सान हुने गरेकाले त्यो जोगाउन वन कार्यालय केही सफल भएको छ ।’
सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीका नेता लक्ष्मण पराजुलीले वन क्षेत्रमा डढेलो लाग्दा चाहिने सुरक्षा सामग्री र दक्ष तथा तालिमप्राप्त जनशक्ति नहुँदा नियन्त्रण गर्न नसकेर वर्षेनी वन मासिँदै गइरहेको बताए ।
शितगंगा सव डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मरिच लामा भन्छन्, ‘घना जंगल रहेको अर्घाखाँचीको दक्षिणी खाचीमा वन क्षेत्र वर्षेनी डढेलोका कारण जोगाउन कठिन छ भने हुर्किएका बोटबिरुवा चैत/वैशाखको समयमा फैलने डढेलोले वर्षेनी मासिँदै गएका छन्, जसले गर्दा बुढा तथा पुराना रुखबाहेक नयाँ पालुवा हुर्किन कठिन हुने गरेको छ ।’
जंगलमा डढेलो लाग्दा अग्नि नियन्त्रण गर्ने दक्ष जनशक्ति अभाव रहेको बताउँदै डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ डिभिजन वन अधिकृत पौडेलले भने, ‘डढेलो नियन्त्रणका लागि हामीसँग छुट्टै दक्ष जनशक्ति छैन, वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना तथा प्रहरीकै सहयोगमा हामीले डढेलो नियन्त्रणमा लिने प्रयास गर्दै आएका छौं ।’
डिभिजन वन कार्यालयलाई अग्नि नियन्त्रण गर्न चाहिने एक अलग्गै दमकल, सव डिभिजनका लागि पानी बोक्ने ट्यांकर नहुँदा पनि जंगलमा सल्किएको डढेलो नियन्त्रणमा लिन गाह्रो भइरहेको डिडिजन वन कार्यालयका सूचना अधिकारी यादव सापकोटाले बताए । डढेलो नियन्त्रणका लागि चाहिने पर्याप्त आवश्यक सामग्री हुनुका साथै डढेलोका लागि मात्रै छुट्टै मोबाइल टोली बनाउन सकिए जंगल जोगिन सक्ने सूचना अधिकारी सापकोटा बताउँछन् ।
अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिकासँग मात्रै एउटा दम्कल छ । सोही दम्कल जिल्लाभर प्रयोग हुने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies