छबि सापकोटा/मध्यान्ह
भैरहवा : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण प्रकिया शुरु गरेको छ । निगमले भैरहवाबाट ७ किलोमिटर टाढा रहेको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको बीचमा रोहिणी खोला किनारामा रहेको १४ बिगाहा जग्गामा भण्डारण गृह निमार्ण प्रक्रिया बुधबारदेखि शुरु गरेको हो ।
निमार्ण प्रक्रिया शुरु भएसँगै भूमि सम्याउने तथा रिटेनिङ वाल निमार्णको कार्य शुरु गरिएको छ । पेट्रोलियम भण्डारण गृह निर्माण परियोजना प्रमुख प्रदीप यादवले भने ‘निमार्ण प्रक्रिया शुरु भएको छ । डिजेल भण्डारणका लागि दुई हजार १ सय किलोलिटर क्षमताका तीन वटा, पेट्रोल भण्डारणका लागि एक हजार ६ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्यांक निर्माण गरिनेछ ।’
उनले अगाडि भने, ‘यो भण्डारण गृह बनेपछि डिजेल २० दिनका लागि पुग्छ । अहिले भलवारी डिपोमा ७ दिनका लागि मात्र पुग्ने छ । भलवारी १० वटा गाडीको प्रोटोलियम पदार्थ भण्डारणका लागि बनाइएको डिपोमा अहिले सय गाडी राख्नु परेको छ । त्यसैले भलवारीको विकल्पमा रोहिणीमामा भण्डारण गृह छिटो बनाउनुको विकल्प छैन ।’
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले परियोजना स्थानीयवासीलाई रोजगारीको अवसर तथा विकासका लागि महत्वपुर्ण हुने बताए । आयोजनाको लागत करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भण्डारण डिपो निर्माणस्थल नजिक बस्ती नभएकाले डिपो भण्डारणका लागि उत्तम थलो रहेको निगमले जनाएको छ । अब निर्माणस्थल नजिक रहेको खोलामा करिब दुई मिटर अग्लो बाँध निर्माण गरिने छ । आगामी असारसम्म तटबन्ध लगाउने काम सम्पन्न गरेर असोजभित्र परियोजनाको डिपिआर बन्नेछ । यस्तै आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गर्नेछ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले भने, ‘यो उर्जाको संरचना बन्न लागेको छ । सम्रग उर्जाको भण्डारणमा टेवा दिने छ । मुलुकको ऊर्जा सुरक्षाका लागि भण्डारणगृह महत्वपूर्ण छ ।’
२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको हाहाकार भएपनि निगमले सातै प्रदेशमा पेट्रोलियम पदार्थको जग्गा खरिद गरेको थियो । २०७२ साल असोज ५ गते जग्गा खरिद गरिएको थियो । निगमले झापा, सर्लाही, चितवन, भैरहवाको जग्गामा परियोजना अगाडि बढाउनुपर्ने भनेर बजेट समेत स्वीकृत भएको नियमले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies