-मनिषा श्रेष्ठ
म सानै उमेरको थिए । त्यस्तै ६÷७ बर्ष जतिको । ०५४ सालतिरको कुरा होला । त्यतिवेला माओवादी सशस्त्र जनयुद्धको प्रभाव बढिरहेको बेला थियो । गाउँमा माओवादी गतिविधि बाक्लिँदो थियो । एकदिन हामी पढ्ने स्कुलको प्राङ्गनमा केही मानिस भेला भए । स्कुलको प्रांङ्गनमा मान्छेहरूको चहलपहल देखियो । मानिसहरु देखेपछि म लगायत हामी केटाकेटीहरु पनि पुग्यौँ मानिसहरु भेला भएको ठाउँमा । किन मानिसहरु भेला भए भन्ने उत्सुकता थियो हामीमा । त्यहाँ माओवादीका कार्यकर्ता र केही गाउँलेहरु थिए । एक छेउमा दुई तीन जना व्यक्ति र तीनका नजिकै २ वटा काला ड्रम, गिलेन, घैँटो लगायतका भाँडो राखिएको थियो । एकछिनमा ती ड्रमलाई खुकुरी, हँसिया जस्ता धारिलो हतियारले घोपेर, काटेर, बिर्को खोलर त्योभित्रको चिज बगाइयो । घैँटोहरु फुटाइयो । केही पछि थाहा भयो त्यहाँ त घरेलु मदिरा उत्पादन गर्नेलाई माओवादीले कार्वाही गर्न लागिरेको रहेछ अनि मदिरा नष्ट ।
गाउँका सबैलाई जम्मा गरि सबैलाई ति माओवादी कार्यकर्ताले चेतावनी पनि दिए कि आइन्दा कसैले पनि मदिरा उत्पादन नगर्न भनेर । कार्वाही र तोडफोडको त्यो दृष्य चेतावनी लागि प्रयाप्त थियो भन्ने अहिले लाग्छ । त्यति भए पछि एउटा उर्दी जारी गरियो । कुनै पनि घरमा मदिरा उत्पादन र मदिरापान गर्न नपाइने, त्यसो गरेको पाइएमा कडा कार्बाही गरिने तर बृद्धाहरुको लागि भने केहि लचक नियम सुनाए ति माओवादी कार्यकर्ताले । जनजाती समुदायमा मदिरा फेरी अस्वभाविक हैन अनिवार्य जस्तै मानिन्छ । त्यहि भएर होला बृद्ध बृद्धा भएको घरमा थोरै मात्र उत्पादन गर्ने र बेलुकामा थोरैमात्र सेवन गर्न भनिसकेपछि माओवादी कार्यकर्ता तितरवितर भए ।
गाउँलेहरु पनि आफ्नो आफ्नो बाटो लागे । म आजका दिन सोच्छु त्यो घटनाले त्यतिवेला गाउका महिलाहरु पक्कै पनि खुशी भए होलान् । नहोउन् पनि कसरी । ती महिला, जसले मदिरा उत्पादनदेखि लोग्नेहरुका लागि मदिरा टक्र्याउने सम्मको काम उनैले गर्नुपथ्र्यो । अन्त्यमा त्यहि मदिराको नशाको शिकार पनि तिनै महिला हुनुपर्ने पिडा सहिरहेका थिए ।
मदिराले महिला र बालबालिकामा पार्ने असरबारे बुझेर नै माओवादीले मदिरा नियन्त्रण अभियान चलाएको थियो । नियम कडा । नियम उल्लंघन गर्ने जरिवाना सँगै जन श्रम शिविरमा ढुंगा बोक्न जानुपर्ने । सजायको भागिदार बन्नुपर्ने । यति भएपछि गाउँमा मदिरा बनाउने र सेवन गर्ने थररर...। उता मदिराको कारण हिंसाका शिकार हुने महिलाहरु यसमा खुशी हुनु स्वभाविक थियो । त्यसैले उनिहरुले माओवादीको अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष समर्थन गरे ।
देशमा अशान्ति र द्वन्द्व बढ्दै गइरहेकोबेला माओवादी पकड क्षेत्रका गाउँघर र समाजमा भने मदिरा कलह शान्त हुँदै थियो । यो पनि एउटा कारण थियो माओवादी आन्दोलन र पार्टीप्रति महिलाहरुको आशा, भरोसा, विश्वास र सहभागिता बढ्नु । माओवादी पार्टी र आन्दोलनको अभियानले साँच्चिकै मिठो सपना बाँडेको थियो । सपना बाँडेको मात्र थिएन गतिला उदाहरण पनि पेश गरेको थियो । मन मथिंगलमा तरंग अनि शरिरमा उर्जा पैदा गर्ने । गाउँघरमा छुवाछुत, जाँडरक्सी, उचनिच, महिला मुक्ति र समानता, वर्ग विभेदमुक्त समाज......यी परिकल्पना उद्देश्य कमता मिठा थिएनन् त ?माओवादीको त्यो कदमले मद्यपानबाट व्यक्ति, घर र समाजलाई मुक्त गर्दै थियो । महिलालाई हिंसाबाट र बालबालिकालाई अशान्तिबाट मुक्त गर्दै थियो । मद्यपानले दिनहँु घरमा हुने कलह झगडा समाप्त गर्दै थियो । मन मनमा खुशी, आशा र भरोसा भर्दै थियो । समग्रमा समाजलाई सभ्यतातिर डो¥याउँदै थियो ।
अब म ठिक २२ वर्ष पछाडि आजको मितिमा आउँछु । धेरैले आज द्वन्द्वकालमा माओवादीको त्यो अभियान याद गरेको देख्छु । त्यो नेता, त्यो कार्यकर्ता आज सम्झनुपर्ने बाध्यता भएको छ । किनकी शान्ति प्रक्रियामा आएपछि त्यसले निरन्तरता पाएन । माओवादी शान्ति प्रक्रियामा आएसँगै गाउँमा माओवादीको चहलपहल र सक्रियता कम हुन थाल्यो । शहर केन्द्रित हुन थाले । त्यतिसम्म त ठिकै थियो । आफूले बनाएको नियम, अनुशासनलाई कायम राख्न र निरन्तरता दिन माओवादी आफैले सकेनन् । उल्टै आफैले ती अनुशासन तोड्दै हिँड्न थाले । समस्या यहाँनेर देखियो । युद्धकालमा माओवादीको मिसन थियो । समाम्यवाद चुम्ने लक्ष्य थियो । त्यहि लक्ष्य हासिल गर्ने आन्दोलनकै एउटा पाटो मदिरा निषेध अभियान थियो । तर अहिले लक्ष्य बदलिए झै देखिने गरी मदिरा प्रतिको निति ठिक विपरित बन्न पुगेको छ । सामान्य लाग्ने तर धेरै कुरामा मदिराले गर्ने बेफाइदाबारे सचेत बनाउने ती अभियानकर्ता बिस्तारै आफै अचेत हुने गरि पिउन लागे ।
गाउँमा फेरि मदिरा उत्पादन सुरु भयो । भट्टीहरु खुल्न थाले । मदिराको नशामा श्रीमति, छोराछोरीको उठिबासदेखि हत्यासम्म गरेका समाचार दिन दिनैजसो बन्न थाले । तीनै मदिराको नियमित ग्राहक उनै माओवादी नेता कार्यकर्ता बनेको देख्दा उदेक लाग्छ । जनवाद, समाजवाद, साम्यवादको कुरा गर्नेहरु आज होटल होटलमा रक्सीका ब्राण्डबारे गफिएको देख्नु कुनै आश्चर्य रहेन ।
विदेशी र महंगा रक्सीका गुण, दोषबारे तछाडमछाड गर्दै बहसगरिरहेका हुन्छन् । नशाको तालमा डुब्दै अरु केके बहस गर्छन् गर्छन् । यहि नशामा जनवाद भेटाउँछन् होला । त्यहि नशामा सामाजवादको बाटो हुँदै साम्यवादसम्मै पुगिसक्छन् अनि किन गर्नु बेकारको वहस ? अब उनिहरुको लागि साम्यवादको बहस बेकार हुन थालिसक्यो । वगीर्य मुक्ति र समानताको लागि लडे नेता, कार्यकर्ता अनि जनता । तर आज मदिरामै बर्गीयता देखिन थाल्यो । मदिरा पनि लोकल र ह्वीस्की । मदिराको पनि बर्गीकरण छ । मदिराको बर्गीकरणले नै मदिरापान गर्नेहरको वर्ग छुट्याएदिएको छ । गरिबले खाने र धनीले खाने मदिरा ।
यति सम्म कि अब स्ट्यान्टडर्डको मापन मदिराबाट हुन थाल्यो । जसले महंगो र विदेशी मदिरा सेवन गर्छ उसको सान अलग्गै, माथिल्लो तहको, धनी वर्ग भयो । घरेलु मदिरा खानेहरु जडयाँहा, गरिब अनि तल्लो बर्गमा गनिने । घरेलु उत्पादन, लोकल अथवा सस्तो मुल्यको मदिरा सेवन गर्नेहरुलाई जड्याँहा भनिन्छ । अनि विदेशी रक्सी, महंगो हजारदेखि लाखौँसम्मको मुल्य पर्ने मदिरा सेवन गर्ने चाँहि ड्रि«ङ्स रे । अनि भएन त मदिरामा बर्ग विभेद ? महंगो रक्सी खाए ड्रिंस अनि सस्तो खाए जड्याँहा । आधुनिक नेपाली समाजमा मदिराले बर्गीय विभेदको पर्खालमा अझै इटा थप्ने काम गरेको छ । बर्गीय मुक्तिको आन्दोलनमा मदिरमाथि कडा नियम बनाइयो । अनुशासन कडाइकासाथ पालना गरियो । तर विस्तारै ती अनुशासन भंग हुँदै जान थाल्यो । नियम बनाउनेले नै तोड्न थाले नियम । अनि फोड्न थाले ह्वस्कीका बिर्को । यसै त मदिरा राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि प्रयोग भइरहेकै छ । अझ बढ्दो छ । विश्व अर्थतन्त्रको ठूलो हिस्सा हतियार र मदिरा व्यापारका कारखानाले धानेको छ ।
भोज भतेर, भट्टी, रेष्टुराँ, सुख, दुःख, वैश, बुढ्यौली सबैमा छाएको मदिरा आधुनिक समाजको उपज होइन । आजकलको पुस्ता मदिराले बिग्रिएको आक्षेप लागे पनि यसको प्रयोग परापुर्वकालदेखि नै हुँदै आएको विभिन्न ग्रन्थहरुमा पनि पाइन्छ । त्यसैले त त्यतिबेलैमदिराबारे कवि भूपी शेरचन लेख्छन्, मैले पिएकोमा रिसाएका साथीहरु एक फेर पिएर त हेर, पिउन झन गाह्रो छ मरेर शहीद हुनेहरु, एकफेर जिएर त हेर जिउन झन गाह्रो छ । मदिराको नशाले गर्दा धेरैले अकालमा ज्यान गुमाएका छन् । धेरैको सम्बन्ध र घर परिवार तहस नहस भएको छ । मदिरा साँच्चिकै एउटा समस्या भएको छ । मदिरा बेगर पनि मनोरञ्जन सम्भव छ भन्ने कुरामा विश्वास गर्नुपर्छ, गर्ने वातावरणा तयार गर्नुपर्छ । मान्छेका जीवनमा अनेक समस्या र दुःखहरु आइलाग्छन् । ती समस्याको समाधान मदिरा होइन ।डर, चिन्ता, एक्लोपन, निद्राको उपचार मदिरा कदापी होइन । दम्भको प्रस्तुति मदिरा बनाउने चलन बढ्दो छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies