अनुज अधिकारी/मध्यान्ह
लमजुङ : गुरुङ चलचित्र क्षेत्रमा स्थापित नाम हो मनोज गुरुङ । लमजुङको बेसीशहर नगरपालिका ४ पुरानोकोटमा जन्मिएका गुरुङ पछिल्लो समय व्यस्त कलाकारका रुपमा चिनिन्छन् । २०५९ साल फागुन २५ गते जन्मिएका गुरुङले २१ वर्षकै उमेरमा गुरुङ भाषाको ६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।
मुख्य नायकको रुपमा ६ वटा चलचित्रमा अभिनय गरिसकेका गुरुङले झण्डै ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । २०७५ सालमा कक्षा ११ मा अध्ययन गर्दै गर्दा जनक गुरुङको निर्देशनमा बनेको ‘आमाको मन’ नामक नेपाली भाषाको गुरुङ चलचित्रबाट उनले डेब्यू गरेका हुन् । त्यसपछि उनले क्रमशः एकपछि अर्को चलचित्र र म्युजिक भिडियोमा काम गर्ने अवसर पाए ।
उनले विद्यालयमा पढ्दादेखि नै विद्यालय तथा अन्य संघ संस्थाको आयोजनामा हुने कार्यक्रमहरुमा नृत्य गर्दै आएका थिए । २०७४ सालमा गाउँकै सेवा सदन माध्यामिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि लमजुङ सदरमुकाम बेसीशहरको अथ्र्ली प्याराडाइज बोर्डिङ स्कुलमा भर्ना भएका गुरुङले जिल्लामा आयोजना हुने नृत्य प्रतियोगितामा भाग लिन शुरु गरे । उनले लमजुङ टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो ‘लमजुङ डान्स च्याम्प सिजन–२’ मा अडिसन दिए । पहिलो अडिसनमा छनोट भएका गुरुङले निर्णायकको राम्रो प्रतिक्रिया पाए । त्यसबखत निर्णायक केदार बोहरा र विष्णु घलेले गुरुङको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले गुरुङ चलचित्रको नायक भन्दा कम नभएको भन्दै ‘भोलिका दिनमा तिमी एउटा राम्रो कलाकारको रुपमा स्थापित हुन्छौ’ भनेको उनले आज पनि झलझली सम्झिरहेको बताउँछन् ।
हुन पनि त्यस्तै भयो उनलाई त्यही रियालिटी शोपश्चात् गुरुङ चलचित्रमा अफर आएको थियो । त्यसपछि उनी निरन्तर चलचित्र र म्युजिक भिडियोमा आफूलाई उभ्याउन सफल भएका छन् । उनले शुरुवातको समयमा केही म्युजिक भिडियोहरुमा कोरस नृत्यसमेत गरेका थिए । यस क्षेत्रमा लाग्न उनलाई आमा मोतीमाया गुरुङ र बुबा डम्बर गुरुङको एकदमै राम्रो साथ रहेको छ । गुरुङले हालसम्म गुरुङ चलचित्र दिदीबहिनी, ङोल्स्यो माया, पूर्णिमा, सम्बन्धको डोरी, मेरो इच्छामा अभिनय गरिसकेका छन् । उनले निकट भविष्यमा बन्न लागेको कुलदेउता र अर्को एक चलचित्रका लागि सम्झौता समेत गरिसकेका छन् ।
गुरुङले विशेषगरी गाउँ चिनारी, सालैजो, कौडा, झ्याउरे र गुरुङ भाषको गीतमा आफ्नो उत्कृष्ट नृत्य र अभिनय गरेका छन् । गुरुङले हालसम्म गरेका करिब ७० म्युजिक भिडियोमध्ये चलेछ्याबा, परदेशी, अमिलो कागती, ताँजे गाउँ चिनारी, क्यों बिना, डाँडापारी हिमाललगायतका म्युजिक भिडियोलाई स्रोता दर्शकले अत्यधिक मन पराएका छन् ।
गुरुङले झण्डै आधा दर्जन अवार्डसमेत जितेका छन् । उनले आदिम कलामञ्च अवार्ड, गुरुङ फिल्म एशोसिशन नेपाल जिफान, सुभेक्षा फिल्म नेपाल, स्वस्ति फिल्म अवार्डबाट बेस्ट एक्टर र परफरमेन्स उपाधिसहित अवार्ड जितेका छन् । गुरुङ चलचित्र र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल गुरुङको अब ठूलो पर्दामा देखिने गरी नेपाली चलचित्र खेल्ने ठूलो चाहना छ । त्यसका लागि उनले आफूलाई निखार्न र तिखार्नका लागि निकै कडा मेहनत र परिश्रम गरिरहेको बताएका छन् ।
गुरुङ समुदायमा जन्मिएको हुनाले ठूलो भएपछि लाहुरे बन्ने, लाहुरे बन्न नसके विदेश पलायन हुने सोच बनाएका गुरुङले अहिले आफ्नै देशको कला क्षेत्रमा भविष्य देखेका छन् । आफूले गरेको कामप्रति एकदमै सन्तुष्टी मिलेको गुरुङ बताउँछन् । गुरुङलाई नेपाली भाषाको चलचित्रबाट अफर भने नआएको होइन । उनले राम्रो कथावस्तु भएको प्रोजेक्टमा जोडिएर काम गर्ने इच्छा भएको भन्दै कथावस्तु राम्रो नलागेकै कारण आफूले रिजेक्ट गरेको बताएका छन् ।
काठमाडौं : ओखलढुंगाकी अनुषा कार्कीले ‘मिसेस हिमालयन नेपाल २०२३’को ताज पहिरिन सफल भएकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा आइतबार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा अनुषा दशौं संस्करणको विजेता बन्न सफल भएकी हुन् ।
नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा अनवरत सन्चालित कार्यक्रममध्ये एक मिसेस हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हो । कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भए ।
सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सञ्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुई सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, बौद्धिक विकासलगायतका विविध विषयमा तालिम लिइ पारगतरुपमा आफूलाई स्टेजमा उतारेका थिए । अभिनेत्रीसमेत रहेकी कोरियोग्राफर सुब्बाले प्रतियोगीहरूलाई ‘मलाई आँखैको परेलीमा’ बोलको गीतमा सुन्दर नृत्यसमेत गराएकी थिइन् ।
परिचय चरण, प्रश्नोत्तर चरण, लिखित चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफूलाई प्रमाणित गर्ने कोसिस गरेका थिए । अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ निर्णायक मण्डलमा रहेको सो कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विविध सवटाइटलहरू समेत वितरण गरिएको थियो । जसमा अनुषा कार्की मोस्ट एट्राक्टीभ, अनिषा घजु मोस्ट एक्टीभ, राज्यलक्ष्मी कर्माचार्य मोस्ट डाइनामिक, मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खड्गी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाईली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट शुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईले हात पार्न सफल भएका थिए । विवाहित महिलाहरूको क्षमता, प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।
काठमाडौं : मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि हासिल गरेका हुन् ।
स्याली क्राउन ब्युटी कन्सल्टेन्ट्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टेलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।
कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायतका देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला, संस्कृतिको प्रचारप्रसारका अलवा नेपालको पर्यट प्रवर्द्धनसमेत गरेका थिए ।
आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड अलुरिङ अउरा ग्राण्ड ग्लोबल इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’की विजेता हुन् ।
काठमाडौं : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगितामा मिसतर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेसतर्फ भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभाले जितेकी छन् । हाराले मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड समेत प्राप्त गर्दा क्यासानोभाले मिसेस् पर्सनालिटीको अवार्ड हात पार्न सफल भइन् ।
थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा आयोजित प्रतियोगीतामा मिसेस्तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अप भए ।
त्यसैगरी मिसतर्फ नाइजेरियाकी ट्रेसी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स अप छनोट भएका थिए ।
ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगीता आयोजना भएको थियो । ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटा हुन् । प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् ।
प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली श रहेका थिए । कार्यक्रमको सञ्चालन पनि रोजिन आफैंले गरेका थिए । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्व मिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।
प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो । सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेशनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेशनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाइल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुति रहेको थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : म्याग्दी जिल्लामा जन्म भइ अमेरिकालाई कर्मथलो बनाउँदै आएका युवा पुस्ताका मोडल, सर्जक तथा गायक सज्जन बोहोराले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । म्याग्देली गायिका कुमारी चेपाङसँग मिलेर बोहोराले ‘बन चरी’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका हुन् ।
लामो समयपछि गाउँमा फर्केका प्रेमीले आफ्नो प्रेमिका नभेटेपछिको छटपटीलाई गीतले बोलेको छ भने भिडियोलाई त्यही कथामा बुनिएको छ । बोहोरा स्वयंका शब्द संगीत रहेको गीतमा स्वर चेपाङ र बोहोराको नै रहेको छ । चेतन गोतामेले संगीत संयोजन गरेको गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने म्युजिक भिडियोमा बोहोरासँग जुनु एसडीले कम्मर मर्काएकी छिन् ।
बोहोराको आफ्नै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । अन्य सिर्जना जस्तै यो सिर्जनालाई पनि दर्शकले रुचाउनेमा बोहोरा आशावादी देखिएका छन् ।
उत्कृष्ट शब्द, संगीत र गीतको मात्र म्युजिक भिडियो निर्माण, निर्देशन गर्दै आइरहेका केशवराज भट्ट अहिलेका व्यस्त निर्देशक हुन् । यहाँ दैनिक दर्जनौं नयाँ म्युजिक भिडियो बन्ने गर्छ । एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आइरहेका निर्देशक भट्टले हालै दश दिनमा सात वटा गीतको भिडियो निर्देशन गर्न भ्याएका छन् । ४२ हजार मिटर उचाई रहेको रसुवा जिल्लाको दुर्गम स्थान क्याञ्जिङरिसम्म पुगेर उनले ‘माया दिउँला तिमीलाई’, ‘मेरो जीवन’, ‘तिमी मेरो प्रित हौ’, ‘यस्तो टाढा हुनु छैन’ आदि गरी सात वटा गीतको भिडियो छायाँकन भ्याएका हुन् । पछिल्लो समय भिडियो निर्देशनको क्षेत्रमा व्यस्त बनिरहेका केशवराज भट्टले अहिलेसम्म पाँच दर्जनको हाराहारीमा भिडियो निर्देशन गरिसकेका छन् । झण्डै एक दशकदेखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिँदै आएका भट्ट विभिन्न पुरस्कार र अवार्डबाट सम्मानित भएका छन् । प्रस्तुत छ कुशल निर्देशक केशवराज भट्टले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडियोकै काम गरिरहेको छु । हप्तामा केही नभए पनि दुई वटा म्युजिक भिडियो निर्देशन गरिरहेको छु । दशैं अगाडि झण्डै ४२ हजार मिटर उचाई रहेको रसुवाको क्याञ्जिङसम्म पुगेर एकै साथ सात वटा गीतको भिडियो छायाँकन गरें । सात वटा भिडियो गर्न दश दिन समय लागेको थियो । मेरो जीवन, तिमी मेरो प्रित हौ, यस्तो माया दिउँला तिमीलाई, टाढा हुनु छैन आदि गीतको भिडियो छायाँकन भएको थियो । त्यसको पोष्टप्रोडक्शन र नयाँ भिडियो निर्माणको गृहकार्यमा व्यस्त छु ।
म्युजिक भिडियोप्रति आकर्षण बढ्नुको कारण ?
युट्युबदेखि टिकटकसम्म र डिजिटल प्लेटफर्ममा कमर्सियल हिसाबले भिडियोको बजार राम्रो हुनुले म्युजिक भिडियोमा युवा वर्गको क्रेज बढेको हो । गीत संगीतको मार्केटिङले पनि बजार लिइरहेको छ । गीतसंगीतको माग जति बढेको छ, त्यही हिसाबले म्युजिक भिडियो निर्माणको दर पनि एकदमै बढिरहेको छ । गीतसंगीत र म्युजिक भिडियो यो गतिमा निर्माण हुनुमा यसमा बढ्दै गएको आकर्षण र नयाँपन पनि कारण हुनसक्छ ।
यो पेशामा कमाइको हिसाबले सन्तुष्ट हुनुहुन्छ ?
म्युजिक भिडियो निर्देशन गर्ने भनेरमात्र हुँदैन । त्यसमा क्वालिटी दिन सक्नुपर्छ । आफ्नो काममा इमान्दारिता, लगनशिलताका साथ मेहनत गर्ने र नयाँ नयाँ क्रियसन गर्ने थोरै म्युजिक भिडियो निर्देशकको भिडमा म पनि पर्ने गरेको छु । म यस मानेमा आफूलाई भाग्यमानी ठान्छु । मैले निर्देशन गरेको प्रायः सबै म्युजिक भिडियो व्यावसायिकरुपले सफल भएका छन् । म्युजिक भिडियो निर्देशन गरेर आफ्नो परिवारको रेखदेख गरिरहेको छु भने सन्तुष्ट नहुने त कुरै भएन ।
अभिनय गर्न सजिलो कि निर्देशन गर्न ?
काम कुनै पनि सजिलो हुँदैन । तपाईंले गर्नु भएको काम मलाई सजिलो लाग्छ, मैले गरेको तपाइलाईं । दुबै पाटो एक–अर्कामा फरक भए पनि गाह्रो छ । अभिनय अरुको निर्देशन बमोजिम गर्ने हो । आफैंले निर्देशन गर्न झन् गाह्रो छ । निर्देशन गर्नका लागि धेरै कुरा सोच्नुपर्छ । कन्टेन्टदेखि प्रिजेन्टेसनसम्मको कुरा हुन्छ ।
कोरोना पछि चलेका फिल्मी कलाकारहरु पनि म्युजिक भिडियोमा देखिए, काम गर्न र गराउन कुनलाई सजिलो ?
फिल्मी कलाकार र मोडल दुबैले आ–आफ्नो क्षमता अनुसार काम देखाउने हो । कामको हिसाबले त्यस्तो फरक पर्दैन । बरु नयाँ मोडललाई लिएर काम गर्दा चाहिँ अलि बढी मेहनत गर्नुपर्छ । चलेको मोडललाई लिनु र चलेको कलाकारलाई लिनु उस्तै हो ।
यो क्षेत्रमा आउँदा के कुरामा ध्यान दिन आवश्यक छ ?
कुनै पनि क्षेत्रमा आउँदा बुझेर हात हाल्दा राम्रो । यो क्षेत्रमा व्यावसायिकरूपमा आउनेलाई फाइदा छ । भिडियो कसरी बनाउने, कस्तो बनाउने, मार्केटिङ कसरी गर्ने भन्ने विषयमा पहिले नै अध्यायन गर्नु आवश्यक छ ।
मार्केटिङको कुरा उठिहाल्यो यसमा तपाईंको धारणा के छ ?
प्रतिस्पर्धाको जमना छ, भिडियो बनाउनु भन्दा बढी त्यसको प्रमोसनमा दुःख छ । युट्युबले गर्दा टिभी च्यानलहरुमा प्रसारण गर्न इन्कार गर्ने प्रवृत्ति छ । अर्कातिर डलर तिरेर सामाजिक सञ्जालमा बेतुकको दर्शक बढाउनेहरुको तँछाडमछाडको स्थितिका कारणले गर्दा वास्तविक प्रतिभा पछि पर्ने गरेको छ । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, क्षणिक चर्चाको लागि हुने प्रतिस्पर्धाले दीर्घकालीनरुपमा फाइदा पुर्याउँदैन ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को पहिलो अडिसन सम्पन्न भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको डिजिटल अडिसनबाट छनोट भएका गायन विधाका ४७ जना र नृत्य विधाका २१ जना मध्येबाट शुक्रबार कूल ४९ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । पहिलो अडिसनमार्फत दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रवेश गरेका छन् ।
गायन विधाबाट दोस्रो चरण प्रवेश गर्ने कलाकारहरूमा अनमोल श्रेष्ठ, अनमोल श्रेष्ठ, उत्तम राई,अक्षय लिम्बु, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, विनीता राई, बुद्धसिंह लामा, गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ,मान सिंह परियार, रश्मि विक, सरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुष्तम तामाङ, प्रविन प्रधान बद्री देवकोटा, मालती लामा, दीपक घले र एन्जल कुलुङ रहेका छन् । त्यस्तै नृत्य विधाबाट झरना राई, सौजन चोहार, अमित राई, दिया सिंह, रितु श्रेष्ठ, जीवन राई, निरु श्रेष्ठ, शर्मिला घर्ती, सविना राई, जुनु माया कुमाल, सरोज लामा, सुनिता शेर्पा, रेखा मगर र ललिता लामा रहेका छन् । दोस्रो चरणमा प्रवेश गरेका कलाकारहरूले आगामी डिसेम्बर १५ तारिकभित्र आफ्नो गीतको म्युजिक ट्रयाक आयोजकलाई बुझाउन समेत आग्रह गरेको छ । दोस्रो चरणमा प्रवेश गरेका कलाकारलाई आयोजकले प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रमलाई एनसीसी कतारका अध्यक्ष रमेश भट्टले सभापतित्व गरेका थिए भने नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण क्षेत्रीले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले नेपाली जहाँ पुगेपनि नेपालको मौलिकताले चिनाउने गरेको बताए । उनले मौलिकतामा नेपाली गीतसंगीत अग्र पङ्क्तिमा आउने बताए ।
कार्यक्रममा बारेमा प्रकाश पार्दै तमु समाजकी अध्यक्ष टौमाया गुरुङले तमु समाजले विगतमा एक्लै आयोजना गर्ने गरेको प्रतियोगिता पहिलो पटक एनसिसिसंग सहकार्य गरेको बताउँदै प्रतिस्पर्धाबाट नेपाली सॉगीतिक आकाशमा नयाँ तारा थपिने विश्वास व्यक्त गरिन् । अतिथि जजका रूपमा रहेका एनआरएनए आइसीसीका उपमहासचिव प्रविन गुरुङले कतार कलाकारको उर्वर भूमि रहेको र यो भूमिबाट जन्मिएका कलाकार विश्वमा चम्कने विश्वास व्यक्त गरे ।
पहिलो सत्रलाई एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेका थिए । सांस्कृतिक चरणलाई एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव रिजन गुरुङले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले नेपालबाट लाखौं खर्च गरेर कलाकार कतार ल्याउनु भन्दा कतारमा श्रम गर्दै बचेको समयमा कलाकारिता गर्ने कलाकारलाई प्लेटफार्म प्रदान गर्नु एनसिसीको मुख्य उद्देश्य रहेको बताए । प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।
कार्यक्रममा दुवै विधाका प्रतिष्पर्धीहरुलाई आफ्ना प्रस्तुति राख्नका लागी ३ मिनेटको समय दिइएको थियो । ३ मिनेटभित्र केही प्रतिस्पर्धीले आलाप लिँदालिँदै केहीले मुखडा गाउँदा गाउँदै केही प्रतिस्पर्धीले अन्तरा र केहीले टुक्का गॉउदा गाउँदै समय सकियो । पर्यवेक्षकका रूपमा रहेका करीमबक्स मियाँले प्रतिस्पर्धीलाई दिइएको समय सीमामा गड बढ भएको महसुस गरेको बताएपछि सुधारिएको थियो । यो समस्या गायनमा मात्र नभएर नृत्यमा समेत देखिएको थियो । साउन्ड सिस्टममा गडबडी देखिँदा गायन र नृत्य दुवै विधामा प्रस्तुति दिने क्रममा कलाकार अलमल परेका थिए भने केही कलाकारले उत्कृष्ट प्रस्तुति दिँदा केही कलाकारको साउन्ड ट्र्याकमै समस्या देखिएको थियो । जुन आगामी चरणमा सुधार गर्नुपर्ने देखिएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको ‘गैरआवासीय नेपाली तारा सिजन ४’को डिजिटल अडिसनको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नतिजाअनुसार गायन विधाबाट ४७ जना र नृत्य विधाबाट २१ जनाले शुक्रबार औपचारिकरुपमा उद्घाटन हुने कार्यक्रममा पहिलो अडिसन दिने भएका छन् ।
गायन र नृत्य गरी दुई विधाबाट अलग–अलग विजेता छानिने प्रतियोगिताको पहिलो अडिसनमा ४०/४० जना लैजाने लक्ष्य भए पनि नृत्य विधामा कम प्रतिस्पर्धीले सहभागिता जनाएका कारण गायन विधाका थप ७ जनालाई अगाडि लगिएको हो । प्रतिस्पर्धीहरुलाई आफ्नो कतारी आइडी, फोटोसहित सहभागिता शुल्क लिएर शुक्रबार बिहान ११ बजे सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा उपस्थित हुनका लागि आयोजकले आग्रह गरेका छन् । प्रतिस्पर्धाको गायन विधाका लागि वीरेन्द्र श्रेष्ठ, गुञ्जन तामाङ र मंगल बिक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधामा भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर निर्णायकको रूपमा रहेका छन् ।
कार्यक्रममा अतिथि निर्णायकका रूपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङ रहने भएका छन् । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराको साथ कतारमा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो । फिनालेका लागि निर्णायकहरू सम्बन्धित विधाका नेपालबाट ल्याइने र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कतार ल्याइने भएको छ ।
दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने भएको छ । गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ । यसभन्दा अगाडि सन् २०१०÷११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त प्रतियोगिताको सञ्चार सहयोगीका रूपमा रहेको छ ।
गायन विधामार्फत पहिलो अडिसनमा पुगेका कलाकारहरुमा अनमोल श्रेष्ठ, उत्तम राई, नन्द बहादुर विक, अक्षय लिम्बू, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, विनीता राई, बुद्धसिंह लामा, चित्र थापा, एकराज लिम्बू, गौतम सामी लिम्बू, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ, लक्ष्मी दास, लक्ष्मी कार्की, लोकेन्द्र दूतराज, मान सिंह परियार, मिलन राई, असलमान राई, रमेश विक, खगेन्द्र तामाङ, राजकुमार मगर, राम विश्वकर्मा (रामबाबु), राम सानु, रश्मि विक, समीर साङदेम्वा लिम्बू, सरला तामाङ, सुजन गुरुङ, सुजन केसी, सुनिल लिम्बु, सुरेश राजवंशी, सुनिल थापा, रुष्तम तामाङ, राजन पाण्डे, सम्झना राई, विजय राजपाटी, सानो बाबु तामाङ, सञ्जय विक, प्रविन रामदाम, रोशन बाबु, बद्री देवकोटा, मालती लामा र दीपक घले रहेका छन् ।
यस्तै नृत्य विधामार्फत पहिलो अडिसनमा पुगेका कलाकारहरुमा सौजन चहार, जुनु माया कुमाल, झरना राई, सविना राई, सरस्वती परियार, दिया सिंह, जीवन राई, सुनिता शेर्पा, आस कुमारी चौधरी, रेखा मगर, ललिता लामा, अमित राई, शिला गुरुङ, रितु चौधरी, निरु श्रेष्ठ, रितु वाइबा लामा, शान्ति वली, जिया हमाल, अनुजा चौधरी, शर्मिला घर्ती र सरोज तामाङ रहेका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको 'गैरआवासीय नेपाली तारा सिजन ४'का लागि अतिथि निर्णायकहरूको टुंगो लाग्न थालेको छ। शुक्रबार हुने पहिलो अडिसनमा अतिथि निर्णायकका रुपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई जिम्मेवारी दिइएको छ ।
संघको संस्कृति र सम्पदा विभागका संयोजकमा मनोनीत भयसँगै गुरुङ निर्णायकका रूपमा चयन भएका हुन् । गुरुङलाई कलाप्रेमी सामाजिक व्यक्तिका रूपमा चिनिन्छ । उनले यसअघि नै विभिन्न प्रतिस्पर्धाहरुमा निर्णायकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कतारमा सफल सांगीतिक कार्यक्रम आयोजकका रूपमा परिचित उनले नेपाल आइडलको ग्रान्ड फिनाले, भोइस अफ नेपालको ग्रान्ड फिनाले सम्पन्न गरिसकेका छन् । उनले बुगीउगी, एनआरएनए ग्लोबल सिंगिङ आइडल, एनआरएनए दि सिंगर कार्यक्रमको आयोजक तथा कार्यक्रम संयोजकका रूपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गर्दै उनले एनआरएनएको झण्डा फहराउँदै विभिन्न पदक जित्ने कार्यमा सफल संयोजक भएर काम गरेका छन् । गुरुङले नेपालको महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीसहित विभिन्न राहत सामग्री वितरणलगायतका दर्जनौं सामाजिक कार्य गर्दै आइरहेका छन् ।
'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं' भन्ने मूल नाराको साथ कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं : कवि सयपत्री थुलुङको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौंमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा साहित्यकार कवि सयपत्री थुलुङको कविता कृति लोकार्पण गरिएको हो ।
संखुवासभाकी कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशील छिन् । २०७० सालमा ‘शान्तिको फूल’ गजलसंग्रह प्रकाशन गरेकी थुलुङले एक दशकपछि दोस्रो कृतिका रूपमा कवितासंग्रह पाठकसामु ल्याएकी हुन् ।
कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बू रहेका थिए । कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ–आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा संग्रह हो ।’
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो संग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश, प्रेम र राज्यसत्तामाथि शान्ति सौहार्दताको वातावरण बनाइराख्नुपर्ने कृतिमा जिकिर गरिएको उनले औंल्याइन् ।
वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए ।
कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले संग्रह भित्रका एक–एक वटा कविता वाचन गरेका थिए भने कवि स्वयंले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies