काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेताले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको बताए ।
उनले सोमबार केन्द्रीय समिति बैठक शुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरे ।
सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक शुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेकोसमेत बिकले बताए ।
रेशम चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको उनले बताए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रतिनिधिसभामा उठाएको एजेण्डा भारी हुन थालेको छ । नेकपा माओवादी केन्द्रले एमालेसँगको सहकार्य अगाडि बढाएपछि प्रमुख प्रतिपक्षमा पुगेको कांग्रेसले पहिलो दिनदेखि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउन थाल्यो ।
गत फागुन २४ गतेदेखि प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको भनी प्रश्न उठाइरहेको छ । तर सत्तारुढ दलहरु गृहमन्त्री फेर्न र कांग्रेसले माग गरे अनुसार संसदीय छानबिन समिति गठनका लागि तयार भएका छैनन् । सरकार नगल्ने अवस्थामा कांग्रेसलाई आफ्नै एजेण्डा भारी हुन पुगेको हो ।
यही चैत ७ गतेको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस सांसद इश्वरीदेवी न्यौपानेले आफूहरुको माग अनुसार संसदीय छानबिन समिति गठन नभए सदन चल्न नदिने बताएकी थिइन् । तर ११ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस नरम रुपमा प्रस्तुत भयो ।प्रतिनि
धि सभाको बैठक अगाडि कांग्रेसको पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक बसेको थियो । उक्त बैठकमा संसदमा आफूहरुले उठाएको एजेण्डाको समीक्षा भएको थियो । नेताहरुका अनुसार संसद अवरोध गरेरै जानुपर्ने र नरम भएर जानुपर्ने दुवै खाले मत प्रकट भएका थिए । सभापति शेरबहादुर देउवाले तत्काल संसद अवरोध गर्ने विषयमा नरम हुने प्रस्ताव गरे । सोही अनुसार आइतबारको बैठकमा कांग्रेस प्रस्तुत भएको हो । आइतबारको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस सांसद संजय कुमार गौतमले केही समय सरकारलाई पर्खिने, तर मागमा निरन्तर अडिने बताए ।
‘सरकार गम्भीर बनोस् । संसदीय छानबिन बनाओस् र यो कुरालाई चाँडो भन्दा चाँडो एउटा निष्कर्षमा पुगोस् भन्न चाहन्छौं’ सांसद गौतमले भनेका छन्, ‘होइन भने हामी यो मुद्दा उठाइरहन्छौं । बारम्बार यो कुरा गरिरहन्छौं । आम जनताको बीचमा यो मुद्दा लिएर जान्छौं ।’
तत्कालको नरमपनालाई कमजोरी नठान्न पनि उनको चेतावनी छ । ‘हामी ठान्दौनौं कि यो विषयलाई लिएर रोष्ट्रममा पुगौं । हामी चाहँदैनौं कि संसद अवरोध अवरोध गरौं । तर, हामी बाध्य भयौं भने त्यो ठाउँमा पनि पुग्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ’ सांसद गौतमले भनेका छन् ।
कांग्रेस नेताहरुका अनुसार गृहमन्त्री लामिछाने रोष्ट्रममा जाँदा अवरोध हुनेछ । संघीय संसद सचिवायका अनुसार यही चैतको तेस्रो साता शुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ गृहमन्त्रीले दिने कार्यसूची तय हुन सक्छ । प्रतिनिधि सभाको पाक्षिक कार्यसूचीमा यही चैत २० गते मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।
गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्यसूची यही चैत २७ गतेका लागि तय भएको छ । यसअघि चैत २ गते यो कार्यसूची तय भएको थियो । त्यसदिन कांग्रेसको अवरोधका कारण गृहमन्त्रीले विधेयक प्रस्तुत गर्ने कार्यसूची हटेको थियो ।
चैत २७ गते वा त्यो भन्दा अगाडि गृहमन्त्री लामिछाने रोष्ट्रममा पुग्नु अगाडि नै आफूहरुको मागमा सरकार निष्कर्षमा पुग्नुपर्ने अन्यथा संसद चल्न नदिने कांग्रेस नेताहरु बताउँछन् ।
झण्डै एक महिनादेखि संसदमा गृहमन्त्री लामिछानेमाथि उठाएको प्रश्न र चेतावनीमा कांग्रेस यो वा त्यो बाहनामा आफैँ नरम हुनुपर्ने अवस्थामा पुगेको छ । गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउन छोड्न निहुँ चाहिने नछोड्न नसक्ने अप्ठयारोमा कांग्रेस नेताहरु पुगेका हुन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटावार्ता भएको छ ।
भेटमा प्रदेश सरकार हेरफेरबारे छलफल भएको छ । छलफलमा एकीकृत समाजवादीले सात मध्ये कुनै एक प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने अडान राखेको छ । आलोपालोमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने अवस्था आउने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । नागरिक उन्मुक्ति पार्टीलाई पहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले बागमती प्रदेश सरकारको नेतृत्वमा आफूहरुको चाहना रहेको बताएका छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । तर बालुवाटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भागबण्डा प्रष्ट नभए सरकारमा नबस्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सत्ताघटक एमालेका अध्यक्ष ओलीलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रदेश सरकार हेरफेर अगाडि भागवण्डामा आफूहरुले के पाउनेबारे प्रष्ट हुनुपर्ने शर्त राखेका हुन् । अन्यथा, विश्वासको मत नदिने माधव नेपालको चेतावनी छ ।
शीर्ष नेताहरुको भेटपछि आइतबार नै बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको चेतावनीका बीच सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् । ११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५५ मत सत्ता गठबन्धनसँग छ ।
राप्रपासँग सभामुखबाहेक १३ सांसद छन् । राप्रपाले एमाले–माओवादी गठबन्धन सरकारलाई साथ नदिने भनेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग ३ सांसद छन् । नेमकिपाले कुनै निर्णय लिएको छैन । ३७ सिट रहेको कांग्रेस मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत पुग्न नदिएर वैकल्पिक सरकार गठनको कसरतमा छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन नसके दुई वा दुई भन्दा बढी दलकै सरकारका लागि पुनः आह्वान हुन सक्छ । यस्तोमा बहुमत पु¥याउन नसके संविधानको धारा १६८(३) अनुसार सब भन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता स्वतः मुख्यमन्त्री नियुक्त हुन्छन् । कांग्रेस यही अवस्थाको पखाईमा छ ।
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न पत्रसहित निर्देशन दिएको हो ।
बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।
बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले भोलि चैत १९ गते विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ । यस प्रदेशको प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।
केन्द्रको समीकरण बदलिएसँगै कर्णाली सरकारका सहभागी नेपाली कांग्रेसले गत फागुन २२ गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद चाहिन्छ । गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीको एक गरी २४ जना सांसद छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछनेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसको तर्फबाट धारणा राखेका सांसद सञ्जय गौतमले गृहमन्त्री लामिछनेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन् ।
सांसद गौतमले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेका सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले दिएको जवाफले संशय पैदा गरेको बताए । प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले संशय पैदा भएको उनको भनाइ थियो ।
सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनले आरोप लगाए ।
प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।
चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउ गर्दै आएका छन् ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री थापाले फेरि संवाद यात्रा शुरु गरेका छन् । शुक्रबार कपिलवस्तुबाट सम्वाद यात्रा थाल्दै महामन्त्री थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो, एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ’ उनले भने, ‘सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’
महामन्त्री थापाको जस्तै दावी अर्का नेता प्रदीप पौडेलको पनि छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस फेरि सरकारमा पुग्ने बताए । ‘पर्खेर बसौं, कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्याउँछ’ पौडेलले भने, ‘अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । उहाँहरु आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ ।’
गत फागुन २१ गतेसम्म कांग्रेस सरकारमा थियो । तर नेकपा माओवादी केन्द्रले एमालेसँग सहकार्य अगाडि बढाएपछि कांग्रेस प्रमुख प्रतिपक्षीय भूमिकामा पुगेको हो । तर कांग्रेसका नेताहरु प्रमुख प्रतिपक्ष भूमिकामा नबसेर फेरि सरकारमै फर्किने कसरतमा लागेका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइराला आफूहरु सत्तामा जान प्रयास गर्नु स्वभाविक रहेको बताउँछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी भएको नाताले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने दाबी पनि गरे ।
केही महिनाभित्रै वर्तमान सत्ता गठबन्धन टुट्ने र फेरि अर्को गठबन्धन बन्ने उनको विश्वास छ । डा. कोइराला भन्छन्, ‘फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ । हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । यो स्वाभाविक हो ।’
शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीका अगुवा कार्यकर्ता यतिबेला पढाइमा व्यस्त देखिन्छन् । पार्टीले प्रत्येक पालिकामा दुई दिने सैद्धान्तिक प्रशिक्षण सञ्चालन गरेपछि जिल्लाका १५ सय बढी अगुवा कार्यकर्ता पढ्नमा व्यस्त भएका हुन् ।
प्रशिक्षणमा ६० कटेका अनुभवी कार्यकर्तादेखि १८ वर्ष पुगेका नौ जवान युवाकार्यकर्ता समेत एकैठाउँ बसेर तालिम लिइ रहेका छन् । एमाले जिल्ला स्कूल विभागद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रम शीतगंगा, मालारानी, पाणिनी र भूमिकास्थानमा सम्पन्न भइसकेको छ भने छत्रदेव गाउँपालिका र सन्धिखर्क नगरपालिकामा प्रशिक्षण गर्ने तयारी छ ।
जिल्ला कमिटी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख पीताम्बर भुसालले महाधिवेशनबाट पारित सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केवी भुसालले वर्ग समाजको वर्गीय चरित्र र वर्ग पक्षधरता, जिल्ला सचिव तोजबहादुर रायमाझीले वर्तमान राजनीतिक प्रणाली, पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेलले समाज, राज्य र कम्युनिष्ट पार्टी, कार्यालय सचिव लिलबहादुर वि.क.ले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा र उद्यमशीलताका बारेमा प्रशिक्षण दिएका थिए ।
यस्तै पाणिनी गाउँपालिका कमिटीका अध्यक्ष तथा पार्टी स्कुल विभाग उपप्रमुख कमल घिमिरेले राजनीतिक शब्द परिचय, एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले संगठन, पार्टी सदस्यता, कम्युनिष्ट शैली पद्धती र अनुशासन, नगर सचिव कुशल भुसालले प्रविधिको प्रयोग र स्कुल विभाग सदस्य विष्णु पोख्रेलले राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका सहभागीले निकै चासोका साथ तालिममा सहभागीता जनाएका थिए । प्रशिक्षणले कार्यकर्तामा जिज्ञासा जगाएको, पढ्नुपर्छ, जान्नुपर्छ भन्ने भाव पैदा गरेको र समग्रतामा सैद्धान्तिक निखारताको निम्ति प्रेरित गरेको सहभागीहरुको भनाइ छ । प्रशिक्षण कार्यक्रम वडा र टोल कमिटीसम्म सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
प्रशिक्षणमा एमाले पालिका कमिटीका सदस्य, पालिकाभित्रका सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधि, वडा पदाधिकारी तथा जनसंगठनका पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो । प्रशिक्षणपछि कार्यकर्ताले वैचारिक बहस गर्न थालेको जनप्रतिनिधिमा थप जिम्मेवारी बोध भएको एक सहभागीले बताए ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले साथ दिए कांग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई बहुमत पु¥याउन मद्दत पुग्ने संसदीय अंकगणित छ । माओवादीले सत्ता सहकार्य छाडेर एमालेसँग समीकरण गरेपछि रुष्ट कांग्रेस हाल आफ्नो नेतृत्वमा रहेको सरकार निरन्तर राख्ने पर्यासमा छ । यसका लागि साना दलहरुको साथका लागि कांग्रेसले मेहनत गरिरहेको छ ।
कांग्रेसले आफ्नो नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन पर्यास गर्दा नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ श्रीमान–श्रीमती हुन् । तर, यी दुई बीचको राजनीतिक विवादका कारण सुदू्रपश्चिम प्रदेश सरकार अन्योलमा परेको हो । सरकार जोगाउने कसरतमा रहेका मुख्यमन्त्री कमलबहादुर शाह रेशम–रञ्जिताको घर झगडाको परिणाम आफ्नो हित हुने गरी आउने आशमा छन् ।
शुक्रबार मात्रै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छन् ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायम राख्ने वा बाहिरिने भन्नेमा आन्तरिक विवादमा फसेका बेला अध्यक्ष श्रेष्ठले दलका नेतालाई पत्र लेख्दै उक्त निर्देशन दिएकी हुन् ।
‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु’ उनले लेखेको पत्रमा उल्लेख छ, ‘अन्यथा पाटस्ैको विधान आकर्षित गरिनेछ ।’
यसअघि बैठकको निर्णय सार्वजनिक भएलगत्तै प्रदेशसभामा पार्टीका संसदीय दलका नेता चौधरीले उक्त निर्णय मान्य नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । ‘रेशम चौधरी अनुपस्थित बैठकको निर्णय मान्य हुन सक्दैन । उक्त बैठकमा कोरम पुगेको जस्तो पनि लाग्दैन, सांसद लक्ष्मण किशोर चौधरीले नोट अफ डिसेन्टका रुपमा सार्वजनिक गरेका छन् ।’ दलका नेता चौधरी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन् ।
अध्यक्ष श्रेष्ठको निर्देशनलाई काउन्टर गर्दै बिहीबार संसदीय दलले पार्टीबाट बिनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारुलाई कार्य जिम्मेवारी दिइएको थियो ।
रेशम चौधरीको सक्रियतामा कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सरकारलाई समर्थन गर्दै पार्टीका सात जना सांसदमध्ये फागुन अन्तिम साता एक जना राज्यमन्त्रीसहित पाँच जनालाई मन्त्री नियुक्त भएका थिए ।
उक्त पार्टीबाट आर्थिक मामिलामन्त्री चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी, खुसीराम डगौरा थारु उद्योग पर्यटन वन तथा वातावरण, लक्ष्मण किशोर चौधरी सामाजिक विकासमन्त्री छन् भने इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री छन् ।
सपना बोहरा/मध्यान्ह
दाङ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काविरुद्ध भ्रष्टाचारको झुटो मुद्दाको आरोप लगाएको बताएका छन् । दाङको लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले भने,‘देशको सच्चा सपुतलाइ झुटो मुद्दा लगाउनु गलत हो ।’
खड्का इमान्दार र विकासप्रेमी नेता भएको उनले बताए । ‘कार्यकर्तामाझ लोकप्रिय रहेका स्वर्गीय नेता खड्का निडर, सक्षम नेतृत्वकर्ता थिए’देउवाले भने,‘उनको निधनले पार्टीमा धेरै नै क्षति पुगेको छ ।’ खड्काको रिक्तता पार्टीभित्र रहेको उनले बताए ।
खड्काको सालिक अनावरण गर्न दाङ आइपुगेको देउवाले दिवंगत नेता खड्काले पार्टी र देशमा पु¥याएको योगदानको बारेमा खुलेरै चर्चा गरे ।
‘उहाँलाई षड्यन्त्रपूर्ण तरिकाले भ्रष्टाचारको झुटो मुद्दा लगाएर जेल हाल्यो,’ पार्टी सभापति देउवाले भने ,त्यसले केही फरक परेन,उहाँको झनै हाइट बढ्दै गयो ।’
खड्का राष्ट्रको सपुत हो भन्ने कुरा आम नेपालीले बुझेको उनले बताए । ‘त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नुहँुदैन’ देउवाले प्रष्ट पार्दै भने ‘त्यसकारण मुद्दाको कुरा हामीले उठाउने कुरा छैन् ।’
खड्का ठूलो अडानको भएको व्यक्ति भएको बताए । पार्टी र जनताको लागि समर्पित व्यक्ति भएको उनले बताए ।
स्व.खड्काविरुद्ध ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए । पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे ।
२ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । २०७० मा जेलमुक्त भएका थिए ।
वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies