काठमाडौं : पूर्वीय संस्कृति, धर्म, परम्परा र मानव सेवामा निरन्तर संलग्न रहँदै आएको महेश सन्यास आश्रम देवघाट र मानव समाज कल्याण केन्द्र भक्तपुरलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान एवम् पुरस्कृत गरिएको छ । बद्रिरत्न स्मृति प्रतिष्ठान, सुनसरीद्धारा आयोजित उक्त कार्यक्रममा उल्लेखित संस्थाहरुको कार्यको योगदानका लागि प्रमाणपत्र र पचपन्न हजार पाँच सय पाँच रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शारदाप्रसाद मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रतिष्ठानका महासचिव प्रा.डा. तीर्थप्रसाद मिश्रले नेपालमा पूर्वीय संस्कृति, धर्म र मानव सेवामा समर्पित संस्थालाई र सो कार्यको अध्ययन अनुसन्धानलाई सहयोग पुर्याउने कार्यमा प्रतिष्ठानले सहयोग गर्दै आएको बताए । सो अवसरमा जीवन विज्ञान केन्द्रका संस्थापक एवम् पूर्वीय संस्कृतिका सम्वद्र्धक एल. पी. भानु शर्मा र रमेश नेपालले शारदा प्रसाद मिश्रद्वारा लिखित ‘अफसोच नरहोस् बाँकी’ नामक कथा संग्रह बिमोचन गरेका थिए ।
प्रकाश हुमागाँई/मध्यान्ह
सिड्नी : नेपालीहरुको वाक्लो वस्ती रहेको अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा नेपाली कांग्रेस समर्थितहरुले ‘एनएसडव्ल्यु जनसम्पर्क समिति गठन गरेका छन् । लामो छलफल र आन्तरिक गृहकार्यपछि नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रबादीहरुको सिड्नीमा सम्पन्न बृहत् भेलाले इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिती अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिती गठन गरेको हो ।
रकडेलको इन्द्रेणी फंग्सन सेन्टरमा सम्पन्न उक्त घोषणा सभामा सिड्नी लगायत अस्ट्रेलियाको अन्य राज्यहरुबाट समेत जनसम्पर्क समितीका पदाधिकारी एबम प्रतिनिधिहरुको वाक्लो उपस्थिति रहेको थियो । भेलाले समितीको उपाध्यक्षमा रामजी बस्नेत ,महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाई ,सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत ,कोषाध्यक्षमा सोभितजंग कुवरलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा अर्जुन गौतम ,सागर काफ्ले श्रीपती तिवारी , कृष्ण पोखरेल,पुष्कर भट्ट, सन्देश राज भण्डारी ,परमानन्द शाह र सुभम सिङ्ग रहेका छन् । समितीको सल्लाहकारहरुमा पुराना पत्रकार प्रकाश हुमागाई, डा. देबेन्द्र सापकोटा ,व्यवसायी दिव्य लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ ।
नेपाली कांग्रेसका पुराना नेता तथा जनसम्पर्क समितीका कार्यवाहक अध्यक्ष छिरिंङ लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका सहभागिहरुले नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको अनुयायी हुन पाउनु गर्बको बिषय भएको बताए ।
कार्यक्रममा एनआरएन आइसीसीका केन्द्रिय उपाध्यक्ष मन केसीले निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिदै नेपाली कांग्रेशलाई बिदेशमा पनि एकताको सुत्रमा बाध्न यसले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गरे ।
मुलुक भन्दा सात समुन्द्र पारी कर्मभूमिमा बिचारले जोडिएका प्रजातन्त्रबादी हरुबिच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानु पर्ने अहिलेको परिस्थीतीमा यो समितीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बक्ताहरुले बताए ।
एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल, आइसीसी सदस्य अरुण ठाकुर, एनएडीएफका अध्यक्ष विवेक थापा ,एनएडीएफका पूर्व अध्यक्षहरु डिल्लीराम ढकाल ,बालचन्द्र भट्टराइ,महेन्द्र लम्साल ,एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेल ,नयाका अध्यक्ष प्रकास अर्याल ,चितवन समाजका पूर्व अध्यक्ष बुद्धि डल्लाकोटि ,एन आर एन अस्ट्रेलियाका पूर्व उपाध्यक्ष नन्दु गुरुङ लगायतले समितीको कार्यकालको सफलताको कामना गरेका थिए ।
त्यसैगरि भेलामा कार्यक्रममा भाग लिन मेलबर्नबाट आएका जनसम्पर्क समिति भिक्टोरियाका कार्यबाहक अध्यक्ष बिनित शर्मा , काग्रेसी अगुवा सोमप्रसाद गुरुङ ,साउथ अस्ट्रेलियाका अर्जुन लम्साल ,क्यानबेराका अशोक बस्नेत लगायतका बक्ताहरुले बिचारले बाधेको सस्थालाई ब्यक्तीगत स्वार्थमा हिनाउने प्रयास गर्दा अस्ट्रेलियामा कांग्रेश एकतामा बाधीन नसकेको खुलासा गरे । पुर्व आइसीसी सदस्य दिनेशराज जोशीले सन्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष इथान शाक्यले एनएसडब्लु राज्यमा छरिएर रहेका कांग्रेसी हरुलाई एउटै छाता मुनि ल्याएर संगठनलाई बलियो बनाउने उद्देश्यले सस्थाको जन्म भएको बताए ।
बेनी : तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो । गत असारदेखि कार्यक्षेत्र छोडेका मजदूर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् । तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो ।
भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ” अध्यक्ष कटुवालले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।”
नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी, आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । १५ श्यया क्षमताको अस्पताल २०७२ मा पचास श्ययामा स्तरोन्नति भएको थियो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
सङ्घीयता कार्यान्वयनपछि शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई गत वर्ष आयोजना हस्तान्तरण भएको थियो । २४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले ५ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का लिएको थियो ।
२०७६ मङ्सिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । एक वटा ब्लक भवनको दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ ।
भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, दोस्रोतलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ । पटकपटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधि रवीन जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको बताए । “साइट किलियर नहुँदा एक वर्ष ढिला भयो, पछि हाम्रै आन्तरिक कारणले ढिलाइ भएको हो”, जोशीले भने, “आन्तरिक समस्या समाधान भइसक्यो । अब एक हप्ताभित्रै मजदूर र निर्माण सामग्री लिएर भवन निर्माणको काम अघि बढाउन आउँदैछु ।”
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपट थापाले बेनी अस्पतालको भवन निर्माणलाई गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताए । एक वर्षभन्दा बढी समय म्याद थप गर्न नमिल्ने नीतिगत व्यवस्था छ ।
तत्कालै सन्तोषजनकरुपमा काम अघि नबढाए ठेक्काको म्याद थप नगर्ने चेतावनी दिएको उनले बताए । “ठेकेदारलाई बोलाएर मौखिकरुपमा काम नगरे ठेक्का तोड्ने चेतावनी दिएका छौँ”, थापाले भने, “अब उसले काम अघि बढाउनुको विकल्प छैन ।” रासस
काठमाडौं : पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् ।
सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभएपनि नागबेली झैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए ।
सिंहदरबारको मुल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । “ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको”, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् ।
बुधबार विहान ११ बजेको समयमा यहाँको सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा राससकर्मी घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो ।
स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैन् । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ ।
“जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्”, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरलेले भनिन् । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ ।
अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताइन् । “घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन,” उनले थपिन् ।
यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ स्थानमा ३३५ ट्राफिक स्वयंसेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन–तीन घण्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झण्डै ७०० घाइते भएका छन् । कतिपय घटना पैदलयात्रु कै कारण हुने भएपनि धेरै घटना भने चालकको लापरवाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गत वर्ष चार हजार सवारी दुर्घटना मध्य तीन हजार ७०० दुर्घटना चालकको लापरवाही देखिन्छ ।
नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठुलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काईब्रिजको प्रयोग र लेन अनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् ।
अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाइएको छ । “यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्नेहुँदा ट्राफिक नियममा गम्भिर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्”, महाशाखा प्रमुख ढकालले भने ।
स्वयंसेवक भएबापत् पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताए ।
उनीहरुले कसरी काम गरेका छन्, समयमा आए की आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मुल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउनसहयोग पुग्ने विश्वास गरिएको छ ।
उपत्यकाको बढी सवारी चाप हुने ३५ स्थानमा स्वयंसेवक खटिएका छन् । यसपटक काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सारेका छन् । रासस
काठमाडौ : राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले बाल अधिकारको विषयमा सबै गम्भीर बन्नुपर्ने बताएकी छन् । बाल सहभागितामा कार्यरत संस्थाहरुको सझा समुह कन्सोटियम नेपालको बीसौं सधारण सभामा बोल्दै उपाध्यक्ष दाहालले उक्त कुरा बताएकी हुन् ।
सो अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र पौडेल, वरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधान, डा किरण रुपाखेती लगायतले बाल अधिकारको ३० बर्षे अभियानका बारेमा आ- आफ्ना धारणा राखेका थिए ।
यसैगरी सो साधारण सभाले युबा बाल अधिकारकर्मी किरण थापालाई अध्यक्षमा चयन गरेको छ । यसैगरी संस्थाको उपाध्यक्षमा मोहन दङ्गाल, महासचिवमा सन्तोष महर्जन, सचिबमा प्रदीप कुमार लामिछाने र कोषाध्याक्षमा देबी रेग्मी चयन भएका छ्न् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा बृजमोहन कुशबाह, उषा बिक, अनिता पाण्डे, गङ्गा गुरुङ, प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन् । सोही सधारणसभाले प्रदेश न १ मा स्वास्तिका पोखरेल, २ मा कोपिला कुमारी तिमल्सिना, ३ मा प्रकाश बासी, गण्डकी प्रदेशमा दिपक शर्मा, ५ मा बद्री प्रसाद सुबेदी , कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम प्रदेशमा जयबहादुर बिश्वकर्मालाई चयन गरेको छ। साधारण सभामा देशभरबाट बालबालिकासँग सम्बन्धित झण्डै ५ दर्जन संघ सस्थाहरुको सहभागीता रहेको थियो ।
काठमाडौं : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् ।
छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताए । उनका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । उनले भने, “हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन् ।”
कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ । देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ । कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ । उनले भने, “उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन् ।”
संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ ।
काठमाडौं : आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ । २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ ।
नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो । नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४८ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ । नेपालमा १६ बर्ष मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको ४१ प्रतिशत रहेको छ ।
रामेछाप : सरकारले नमूना विद्यालय बनाउनका लागि छनोटमा पारेको रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविलाई नमूना विद्यालय बनाउन भूतपूर्व विद्यार्थीले सक्रियता देखाएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले समेत अध्ययन गरेको विद्यालयमा पूर्व विद्यार्थीहरुले नमूना विद्यालय बनाउन भन्दै भूतपूर्व विद्यार्थी समाज गठन गर्न लागेका हुन् ।
विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारलगायतका सामाजिक काम गर्ने उद्देश्यसहित पूर्व विद्यार्थी समाज गठन गरिन लागेको हो । भोलि बुधबार भक्तपुरको सानोठिमी क्याम्पसमा पूर्व विद्यार्थीहको भेला भइ समाज गठन हुनेछ ।
२०१४ सालमा स्थापना भएको कुशेश्वर माविबाट हालसम्म करिब १८ सय विद्यार्थी अध्ययन गरिसकेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सांसद, बैंकर्स, डाक्टर, इन्जिनियर, पत्रकार, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञसम्म बनेका छन् ।
‘पूर्व विद्यार्थीको सीप र क्षमता विद्यालयको विकासका लागि समाज गठन गर्न लागेका हौं’, विद्यालयका प्रअ बलदेव धामीले भने ‘पूर्व विद्यार्थीको सुझाव लिएर विद्यालयको शैक्षिक र भौतिक विकासको लागि गुरु योजना निर्माण गछौं ।’
तत्कालिन शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा विं स. २०१४ साल असार ३ गते विद्यालयको स्थापना भएको थियो । उज्यालो नेपालका अभियन्ता समेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, पूर्व सभासद शिवबहादुर खड्का कुशेश्वर माविका पूर्व विद्यार्थी हुन् ।
दक्षिण कोरिया : दक्षिण कोरियाको छनानमा आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को हालै सम्पन्न कार्यकारी समितिको बैठकले सन् २०१८ को ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड’ एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालालाई पनि समितिले सम्मानित गर्ने निर्णय गरेको छ ।
फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) दक्षिण कोरियाको छनान शहरमा छ । यस संस्थामा हालसम्म संसारका ९२ मुलुकहरू सदस्य भइसकेका छन् । यस संस्थाले विभिन्न देशहरूमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्ने गर्दछ । एभरेष्ट नेपाल कल्चरल ग्रुप आफ्नो स्थापनाकालदेखि नै यस संस्थासँग आबद्ध छ भने सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । यस ग्रुपले विभिन्न देशहरूमा गरी करिब ७५ पटक आफ्नो नृत्यकला प्रस्तुत गरेर संसारलाई आफ्नो लोक नृत्य र संस्कृतिप्रति मोहित तुल्याउन सफल भएको छ ।
सन् २०१८ मा नेपालमा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा भएको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालले गरेको आतिथ्य सम्मान, कार्यक्रमको व्यवस्थापन, नेपालीहरूले देखाएको हार्दिकता, सहभागीहरूले भरेको फिडब्याक फर्म तथा फिडाफका डेलिगेट्सहरूले गरेको प्रत्यक्ष अध्ययन अवलोकनका आधारमा उत्कृष्ट भएको ठहर गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाललाई ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड २०१८’ ले सम्मान गर्ने निर्णय गरेको स्रोतको दावी छ ।
सन् १९९८ मा स्थापना भएको एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक साँस्कृतिक कार्यक्रमका माध्यमबाट विश्व सामु नेपाललाई चिनाइउन सक्रिय छ । यस संस्थाले हालसम्ममा नेपालभित्र र बाहिर गरी विभिन्न स्थान र देशहरूमा नेपाली लोक नृत्य प्रस्तुत गरी नेपाली लोक नृत्य र नेपालको मौलिक संस्कृतिलाई संसारभर चिनाउन अथक प्रयास गरिरहेको छ । संस्थालाई सरकारी स्तरबाट कुनै सहयोग नहुँदानहुँदै पनि आफ्नै बलबुताले प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गरी नेपाली समाजलाई विश्वका विभिन्न देशको लोक नृत्यको आनन्द दिन सक्षम रहँदै आएको छ ।
नेपालीहरूलाई आफ्नै घरआँगनमा बसेर विश्वको लोक नृत्य र लोक संस्कृतिको स्वाद चखाउन सक्रिय एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइराला हाल दक्षिण कोरियाली शहर छनानमा आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को कार्यकारी समितिको बैठकमा सहभागी हुन र सम्मान ग्रहण गर्न छनान पुगेका छन् । उनी फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) का एशिया क्षेत्रीय उपाध्यक्षसमेत् हुन् ।
सन् २०२० मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको दशौं संस्करण नेपालमा आयोजना गर्दैछ । सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा मनाउने गरेको निर्णयलाई यस प्रकारका कार्यक्रमहरूले नेपाललाई भ्रमणको गन्त्व्य मुलुकका रूपमा चिनाउन थप सघाउ पुग्ने ग्रुपमा अध्यक्ष कोइरालाको धारणा छ ।
दक्षिण कोरिया : अञ्जु केसीको नेतृत्वमा कोरियाका नेपालीहरुको मियो संस्था नेपाली सम्पर्क समिती (एनसीसी) कोरियाले कोरियन सरकारबाट वैधानिकता पाएको छ । एनसिसी कोरियाले स्थापनाको २५ वर्ष पछि वैधानिकता पाएको हो । दक्षिण कोरिया सरकारको मातहतको निकायमा दर्ता भई संस्थाले वैधानिकता प्राप्त गरेको हो।
सन् १९९३ मा यहाँका नेपालीहरुको सक्रियतामा स्थापना गरिएको एनसीसीको १६ औँ कार्यकालको लागी पहिलो महिला नेत्तृत्त्वको रुपमा चुनिएपश्चात सुरुदेखी नै केसीले संस्थालाई जसरी हुन्छ कानुनी मान्यता दिनको लागी खटिरहेकी थिइन् । धेरै पटक दर्ताकालागि प्रयास गरिएपनि कानुनी जटिलताले पाउन नसकेको वैधानिकता केसीको कुसल नेतृत्वकै कारण एनसीसीले वैधानिकता पाएको हो ।
बुबा पुर्ण बहादुर खत्री र आमा मिठु खत्रीको कोखबाट २०३१ सालमा जन्मिएकी अञ्जु लुम्बीनी ओभरसिज मार्फत १८ वर्ष अघि सन् २००१ मा दक्षिण कोरिया आएकी थिइन् । कोरिया बसाईको सुरूवातमा भाषाको समस्याले कठिन बनाएका उनी माइनस २५ डिग्रीको चिसोमा पनि विभिन्न कम्पनी धाएर अरुलाई काम खोज्दिने गर्थिन् । कोरियाको दुख बिर्सेर नेपालीको दुखमा साथ दिदै आएकी सामाजिक अभियान्ता केसीले विभिन्न समस्या परेका स्वदेशी तथा विदेशी सम्पुर्णलाई विभिन्न संघ संस्थामा सहयोगका लागि लगिदिने, काम नपाएकालाइ काम खोजिदिने ,पहिलो पटक कोरिया आउनेलाई आफ्नै खर्च गरेर सहयोग गर्ने, घरमा सम्पर्क गराउने जस्ता काम गरिरहिन् ।
समाज सेवामा तल्लिन उनी रुपन्देही सम्पर्क समितीमा आवद्ध भएसँगै झनै सामाजिक काममा सक्रिय भइन् । उनलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष बन्ने प्रस्ताव राखेर रुपन्देही सम्पर्क समितिले उम्मेदवार बनायो । उनी वरिष्ठ उपाध्यक्षमा विजयी पनि भइन् ।
यसै क्रममा कोरियामा रहेर दुई देश बिचको धार्मिक ,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल बौद्व परिवार दक्षिण कोरिया, रूपन्देही सम्पर्क समिति, रामेछाप सम्पर्क समिति लगायत किमे, बसान क्षेत्रले नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाकी अध्यक्ष केसीलाई सम्मान समेत गरिसकेको छ । एनसीसीले आगामी दिनहरुमा पनि नेपाली समुदायलाई अझ बढी योगदान दिनेमा उनी ढुक्क छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies