दक्षिण कोरिया : दक्षिण कोरियाको छनानमा आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को हालै सम्पन्न कार्यकारी समितिको बैठकले सन् २०१८ को ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड’ एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालालाई पनि समितिले सम्मानित गर्ने निर्णय गरेको छ ।
फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) दक्षिण कोरियाको छनान शहरमा छ । यस संस्थामा हालसम्म संसारका ९२ मुलुकहरू सदस्य भइसकेका छन् । यस संस्थाले विभिन्न देशहरूमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्ने गर्दछ । एभरेष्ट नेपाल कल्चरल ग्रुप आफ्नो स्थापनाकालदेखि नै यस संस्थासँग आबद्ध छ भने सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । यस ग्रुपले विभिन्न देशहरूमा गरी करिब ७५ पटक आफ्नो नृत्यकला प्रस्तुत गरेर संसारलाई आफ्नो लोक नृत्य र संस्कृतिप्रति मोहित तुल्याउन सफल भएको छ ।
सन् २०१८ मा नेपालमा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा भएको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालले गरेको आतिथ्य सम्मान, कार्यक्रमको व्यवस्थापन, नेपालीहरूले देखाएको हार्दिकता, सहभागीहरूले भरेको फिडब्याक फर्म तथा फिडाफका डेलिगेट्सहरूले गरेको प्रत्यक्ष अध्ययन अवलोकनका आधारमा उत्कृष्ट भएको ठहर गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाललाई ‘फिडाफ बेष्ट फेस्टिबल एक्टिविटी अवार्ड २०१८’ ले सम्मान गर्ने निर्णय गरेको स्रोतको दावी छ ।
सन् १९९८ मा स्थापना भएको एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक साँस्कृतिक कार्यक्रमका माध्यमबाट विश्व सामु नेपाललाई चिनाइउन सक्रिय छ । यस संस्थाले हालसम्ममा नेपालभित्र र बाहिर गरी विभिन्न स्थान र देशहरूमा नेपाली लोक नृत्य प्रस्तुत गरी नेपाली लोक नृत्य र नेपालको मौलिक संस्कृतिलाई संसारभर चिनाउन अथक प्रयास गरिरहेको छ । संस्थालाई सरकारी स्तरबाट कुनै सहयोग नहुँदानहुँदै पनि आफ्नै बलबुताले प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेलाको आयोजना गरी नेपाली समाजलाई विश्वका विभिन्न देशको लोक नृत्यको आनन्द दिन सक्षम रहँदै आएको छ ।
नेपालीहरूलाई आफ्नै घरआँगनमा बसेर विश्वको लोक नृत्य र लोक संस्कृतिको स्वाद चखाउन सक्रिय एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइराला हाल दक्षिण कोरियाली शहर छनानमा आयोजित फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को कार्यकारी समितिको बैठकमा सहभागी हुन र सम्मान ग्रहण गर्न छनान पुगेका छन् । उनी फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) का एशिया क्षेत्रीय उपाध्यक्षसमेत् हुन् ।
सन् २०२० मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको दशौं संस्करण नेपालमा आयोजना गर्दैछ । सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा मनाउने गरेको निर्णयलाई यस प्रकारका कार्यक्रमहरूले नेपाललाई भ्रमणको गन्त्व्य मुलुकका रूपमा चिनाउन थप सघाउ पुग्ने ग्रुपमा अध्यक्ष कोइरालाको धारणा छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies