लिस्बन : साहित्यकार पंचम अधिकारीको कथा संग्रह ‘प्रवासीको देश हुन्न’ बेल्जियममा विमोचन गरिएको छ ।
गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा साहित्यकार अधिकारीको कर्मभूमी बेल्जियममा कथा संग्रहको गृह विमोचन गरिएको हो । कथा संग्रहको विमोचन गर्दै बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले लेखकले साहित्यिक नजर र भेदबाट प्रवासीको देश हुन्न भन्दै गर्दा साहित्यिक आख्यानको अर्को पाटोबाट प्रवासीको दुई देश हुन्छ, र बहुआयामिक दायित्व हुन्छ भन्ने सन्देश दिन खोजेको बताए ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, लेखक तथा स्तम्भकार दिल निशानी मगरले कथा संग्रह पठनीय र संग्रहरणीय रहेको बताए ।
‘प्रवासीको देश हुन्न’ कथा संग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाको सँगालो रहेको छ । यस संग्रहका कथाहरूमा मातृभूमिको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कथा समेटिएको छ ।
अमेरिकामा हुर्केको नेपाली बालकले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक–अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटिएका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृतिको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल काठमाडौं रहेको छ । विगत दुई दशकदेखि बेल्जियम बस्दै आएका आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि अधिकारीको ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ ।