काठमाडौं : जातीय विभेदविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन भएको छ । न्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा विभिन्न जिल्लामा प्रदर्शन गरिएको हो ।
'जातीय विभेद : छुवाछूत : मानवताविरुद्धको अपराध, दोषी माथि किन कारबाही हुँदैन ? जवाफ देऊ तीन तहको सरकार' लगायतका नारा लगाउँदै १७ जिल्लामा प्रदर्शनलगायत कार्यक्रम गरिएको समाजले जनाएको छ ।
शान्ति समाजका गोरखा, पाल्पा, संखुवासभा, तेह्रथुम, काठमाडौं, रुपन्देही, चितवन, दाङ, सल्यान, बाँके र कैलाली शाखाले 'जातीय विभेद उन्मुलन गरौँ', 'समतामुलक समाज निर्माण गरौँ', 'छुवाछूत : मानवताविरुद्ध अपराध हो', 'छुवाछूतमा संलग्नलाई कानूनी कारबाही गर' लेखिएका प्लेकार्डहरुसहित प्रदर्शन गरेका थिए भने वीरेन्द्रनगरमा संयुक्तरुपमा आयोजित र्यालीमा सुर्खेत शाखाको सहभागिता रहेको थियो । यसैगरी शान्ति समाजका दैलेख, गुल्मी, अछाम, कपिलवस्तु र अर्घाखाँची शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।
काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राखे । कार्यक्रममा संघीय सांसद सन्तोष चालिसे, बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालगायत जनप्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा शान्ति समाजका पुर्व सभापति होमकान्त चौलागाइ, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनीसहित दर्जनौं अधिकारकर्मीहरुको सहभागीता थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies