काठमाडौंः भारतको राजधानी दिल्लीबाट १० नेपाली महिलाहरुको उद्धार गरिएको छ । भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई बिहीबार उद्धार गरिएको हो ।
उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली
पुलिसको संयुक्त प्रयासमा उद्धार गरिएको हो ।
यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरोलाई बुझाइएको हो ।
उद्धार गरिएका महिलाहरु १५, १६, १७, १८, २० र २५ वर्ष उमेरका रहेका छन् । उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङलगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लगाइएको बताएकी छिन् ।
मिसन फ्ल्याटका बारेमा बताँउदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजी गरेको बताए ।
उनले त्यसका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारवाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरु फ्ल्याटबाट फेला परेको बताए ।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजिपछि महिलाहरुको उद्धार गर्न सकिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies