–रत्न प्रसाद अनामणी श्रेष्ठ
नेपालका मुकुट नाचहरूमध्ये भैरव नाच पनि एक हो । काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न स्थानहरूमा भैरव नाचको प्रदर्शन गर्ने गरिन्छ । यस नाचको स्थानअनुसार फरक–फरक भेषभूषा, स्थानअनुसार फरक–फरक मुकुट हुनुका साथै, नाचमा प्रयोग गरिने ताल र बाजाहरू पनि फरक–फरक देखिन्छ ।
विशेषगरी नेवारी समुदायले आफ्नो संस्कृतिको रूपमा नाचदै आएको भैरव नाच निकै लोकप्रिय हुनुका साथै शक्ति सञ्चयकर्ता र सुरक्षाका देवताको रूपमा मान्ने गरिन्छ ।
भैरव नाच काठमाडौं उपत्यका बाहेक अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेख, पोखरा, नुवाकोट, गुल्मी, कपिलवस्तु, रुपन्देहीलगायत विभिन्न स्थानहरूमा नाचने गरिन्छ । यीमध्ये विशेषगरी अर्घाखाँचीमा नाचिने भैरव नाचबारे यहाँ चर्चा गरिन्छ ।
अर्घाखाँचीमा नाचिने भैरव नाच नेवार समुदायको परम्परागत नाच भएतापनि नेवार बाहेक परियार समुदाय पनि संग्लन भएको देखिन्छ । परियार समुदायले झ्याली झुर्मा, कर्नल (थङकुरी), सनाई बजाइन्छ । यस नाचमा मृधुम (ठूलो खालको मादल)का साथै बाँसुरी पनि बजाइन्छ । भैरव नाच तान्त्रिक शक्ति मा आधारित नाच भएको हुँदा भैरव हुने व्यक्तिमा भैरव चढ्दछ । तिनीहरू काम्ने हुन्छ । नाच सुरु हुनुभन्दा अगाडि विशेष तान्त्रिक आराधना गरी पूजा गरिन्छ ।
यस नाच प्रदर्शन गर्ने क्रममा ठाउँ–ठाउँमा पुजा गरी भेटी चढाउने तथा बलि दिने चलन पनि रहेको छ । दर्शकको भाकलअनुसार पनि पुजा गर्ने गरिन्छ । नाचने क्रममा नाच्ने व्यक्ति लडेर घाउ चोटपटक लागेमा नराम्रो हुने भन्ने जनविश्वास रहेको छ । भैरव नाच सात वटा तालमा नाचिन्छ । नाच श्री कृष्ण जन्माष्टमीको दिन सुरु भइ कार्तिक औंसीसम्म नाचिने परम्परा रहेको छ ।
अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर तीन जना नाचिन्छ । कालो मुकुट शिवजीको स्वरुप, रातो मुकुट देवीको स्वरुप हो भने सेतो मुकुट गणेशको स्वरुप रहेको जनविश्वास छ ।
अर्घाखाँचीमा भैरव नाचका साथै, अन्य नाचहरू डण्डा नाच, टाकनटुकन, घोडा नाच, लाहुरे लाहुरेनी नाच, चरा नाच आदि देखाउने गरिन्छ ।
भैरव नाच सात तालमा नाचिन्छ । छैठो तालमा धामीहरूलाई स्वतः देवता चढेर काम्ने र कामेको तालमा नै नाचने गरिन्छ । भैरव नाच सकिएपछि विभिन्न हास्यव्यंग्य प्रहसन हुनुको साथै भुच्याङ्ग, लठ्ठी नाच, लाटालाटी (दिसपाकु), भालु नाच आदि पनि देखाइन्छ ।
भनिन्छ कि देउसी भैलो खेल्नु अगाडि नै यस नाचको समापन गर्नुपर्छ । तान्त्रिक विधिबाट सुरु हुने यो नाच सूर्य अस्तबाट सुरु भइ सुर्य उदय हुनुभन्दा अगाडिसम्म नाचिन्छ । नेवारी समुदायमा भैरवलाई कुल देवताको रूपमा पुज्ने पनि गरिन्छ । भैरव नाचलाई पुजा गरेको खण्डमा रोगव्याधीबाट मुक्त हुने र आफूलाई ग्रह दशा लागेको छ भने राम्रो हुँदै जाने जनविश्वास गरिन्छ । कसै कसैले भैरवलाई भाकल पनि गर्ने गर्छन् । भाकल पूरा भएपछि भाले, मिठोको रोटी पनि चढाउने गरिन्छ ।
यो नाच कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि ऐतिहासिक, पौराणिक र तान्त्रिक विधिअनुसार नाचने भएकोले नेवार समुदाय काठमाडौं उपत्यकाबाट बसाइँसराइ गर्ने क्रममा यो नाच पनि स्थानान्तरण भएको जनविश्वास छ । यस नाचलाई बचाइ राख्न स्थानीयहरू लागि परेका छन् । यसलाई प्रदर्शनकै क्रममा काठमाडौं हनुमानढोका तथा भारतमा समेत प्रदर्शन गरिसकेको कुरा स्थानीयहरू बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies