–डिल्ली बसेल
राजनीतिक विद्रोह वा गृह युद्धपछि अक्सर देशहरुले छोटो समयमै विकासमा छलाङ मार्ने गर्दछन् । तर नेपाल त्यस्ता थोरै देशहरुमा परेको छ जहाँ पटक पटकका राजनीतिक परिवर्तन र दश दश वर्षको हतियारबन्द आन्दोलनपछि झन् तन्नम बन्न पुग्यो ।
सन् १९९० को दशकमा गृहयुद्धले क्षतविक्षत बनेको अफ्रिकी मुलुक रुवाण्डा अहिले विश्वका लागि नमूना देश बनेको छ । हुथी र तुत्सी समुदाय सम्वद्ध विद्रोहीहरुको बर्बर र त्रासदीपूर्ण गृहयुद्ध व्यहोरेको थियो रुवाण्डाले । गृहयुद्धमा कति मानिसले ज्यान गुमाए भन्ने आधिकारिक तथ्यांक अझै अज्ञात रहे पनि करीब दश लाख मानिस सय दिनको अवधिमा मारिएका थिए भन्ने आँकलन संयुक्त राष्ट्रसंघको थियो । रुवाण्डाको राजधानी किगली हुँदै बग्ने न्याम्बारोङ नदीमा कैयौं दिन पानी भन्दा बढी रगत बगेको थियो भने नदीमा फालिएका लाशले नदी अवरुद्ध भएर शहरमा पसेको थियो । त्यो हदको बर्बर गृहयुद्ध व्यहोरेको किगली शहर अहिले विश्वकै सुन्दर शहरमा परेको छ । रुवाण्डाको भौतिक विकास मात्रै होइन मानव संसाधन विकास पनि विश्वका अन्य देशहरुलाई उदाहरणीय बनेको छ । राष्ट्रसंघले समेत विकासमा रुवाण्डा मोडेल भन्न थालेको छ । अर्थात बर्बर जंगली गृहयुद्ध व्यहोरेको साढे दुई दशकमा रुवाण्डा आज सभ्य र सुन्दर मुलुकमा परिणत बनेको छ । रुवाण्डाको अर्थतन्त्रको वृद्धिदर सात प्रतिशत हाराहारी छ ।
लगभग रुवाण्डाकै जस्तो गृहयुद्ध व्यहोरेर आएको अफ्रिकाको अर्को मुलुक इथोपियाको विकास पनि रहर लाग्दो छ । सन् १९९० कै दशकमा हरेक दिन हत्या हिंसाका खबर सुनिने देश इथोपिया थियो । त्यही इथोपिया पनि अहिले विकासको गतिमा धेरै माथि पुगिसकेको छ । कतिसम्म भने इथोपियाको राजधानी शहर अदिसअबावाका रात्री क्लवहरुमा नाच्ने अहिले नेपाली युवतीहरु छन् । सन् १९८५ देखि करीब एक दशक गृहयुद्ध व्यहोरेको युगाण्डा त एक डेढ दशकदेखि नै तेस्रो विश्वका लागि विकासको मोडेलको रुपमा प्रस्तुत हुने गरेको छ । तेस्रो विश्वका देशहरुमा विकासे गफ गर्नेहरुले युगाण्डाको उदाहरण दिनु सामान्य जस्तै हो । हाम्रा विकासे अध्येताहरुलाई घुमाउने र नेपाल जस्ता देशहरुलाई वैदेशिक रोजगारी दिने देश बनिसकेको छ युगाण्डा अहिले ।
उल्लेखित अफ्रिकी मुलुकहरुमा गृहयुद्ध चल्दै गर्दा वा भर्खर भर्खर ती मुलुकहरु गृहयुद्ध र हिंसात्मक द्वन्दबाट बाहिर निस्किंदै गर्दा नेपालमा माओवादीको जनयुद्ध शुरु भएको थियो । करीब एक दशक चलेको माओवादीको हिंसात्मक आन्दोलनले नेपाललाई ऐतिहासिक रुपमा थिलोथिलो मात्र बनाएन आर्थिक, सामाजिक रुपमा समेत नराम्रोसंग खल्बल्याएको थियो । अंग्रेजसगको सुगौली सन्धिमा ठूलो अपमान व्यहोर्दा व्यहोर्दै पनि आन्तरिक रुपमा देश आन्तरिक रुपमा यसरी खल्बलिएको थिएन । यद्यपी एउटा सशस्त्र रक्तपातपूर्ण आन्दोलनको समाप्तीसंगै र खाशगरी परम्परागत सामान्ती व्यवस्थाको प्रतीक भनिएको राजसंस्थाको बहिर्गमनपछि मुलुकले सवै क्षेत्रमा गति लिने अपेक्षा आमरुपमा गरिएको थियो । अफ्रिकी देशहरु भन्दा मानव सूचकांकमा कैयौं गुणा राम्रो रहेको नेपाल भने गृहयुद्धपछि पनि अपेक्षित गतिमा अगाडि बढ्न सकेन ।
विशेषतः मुलुकबाट राजसंस्था फालेपछि राजनीतिक दलका नेताहरुले यो देश नै आफूहरुको जस्तो ठाने । आफूहरुले जसो गरे पनि हुन्छ भन्ने दम्भ उनीहरुमा पलायो । जसका कारण पंचायती व्यवस्थादेखि खडा गरिएका राज्यका अंगहरु एकपछि अर्को गर्दै राजनीतिकरण हुँदै गए र निकम्मा सावित भए । राज्यका अंग र प्रशासन मात्रै होइन, विश्वविद्यालदेखि गाउँ गाउँका प्राथमिक विद्यालय समेत राजनीतिकरणको शिकार बने । राष्ट्रिय सम्पतिको दोहनदेखि ठेक्कापट्टा, नियुक्ति, सरुवा बढुवा सबैतिर नेता र पैसा हावी भयो । अझै त्यो भन्दा ठूलो बिडम्वना त नेतालाई कुनै पनि कसुरमा छुनै नहुने संस्कार स्थापित भएको छ नेपालमा । देशको कार्यकारी प्रमुखदेखि न्यायपालिका र प्रमुख प्रतिपक्षी दल समेत मिलेर देश लुट्ने सायद विश्वमै नेपाल एक मात्र मुलुक होला । अझै पछिल्लो चरणमा त मिलेरै चुनाव लड्ने, मिलेरै सरकार बनाउने र मिलेरै देश लुट्ने अभ्यासतर्फ राजनीतिक दलहरु लागेका छन् । यसै महिना भएको राष्ट्रिय सभाको निर्वाचनमा लगभग सत्ता र प्रतिपक्ष मिलेर भागवण्डा गर्ने तय भइसकेको दृष्यबाट यी दलहरु आगामी चुनावसम्ममा सिट बाँडफाँड गरेरै नजालान भन्न सकिँदैन ।
नेपालमा संविधानसभाबाट संविधान जारी भएकै वर्ष निर्वाचनबाट सत्तामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस बीचमा भारतलाई निकै माथि उठाए । पछिल्ला नौ वर्षमा भारतमा २५ करोड मानिस त गरीबीको रेखाबाट बाहिर आएको तथ्यांक छ । सन् १९९० को दशकसम्म काठमाडौं आउने सपना देख्दै बंगलादेशीहरु अहिले विश्व बजारका खेलाडी बनिसकेका छन् आर्थिक रुपमा । हामी भन्दा कैयौं गुणा सानो छिमेकी भुटान दक्षिण एशियाकै सुखी मुलुक बनिसक्यो । अरु छाडिदिउँ दुई वर्षअघि मात्रै अमेरिकीहरुलाई लखेटेर सत्तामा आएको तालिवानले अफगानिस्तानमा मेगा आयोजनाहरु यसरी शुरु गरेको छ कि एकाध वर्षमै उसले पनि हामीलाई उछिन्न सक्छ । तर नेपाल भने बेइमान र स्वार्थी राजनीतिक नेतृत्वको शिकार कतिञ्जेल भइरहने हो यसै भन्न सकिने अवस्था छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies