दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । जुम्लामा खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल खेलाउनु पर्ने बाध्यता रहिआएको छ । जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता पहिलो पटक हुने भएको हो ।
त्यस्तै यसपटक जुम्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर मिलेको जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताए । उनका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाबाट एक–एक वटा फुटबल टिम आउने छन् ।एक टिममा दुई जना अफिसियलसहित १५ जना सहभागी हुने छन् । कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघले जनाएको छ ।
अध्यक्ष भरत बुढ्थापाका अनुसार यही फागुन २० देखि २६ गतेसम्म रेफ्रि तालिम पनि जुम्लामा हुँदैछ । जुम्लाका हरेक पालिकाबाट दुई जना सहभागी गराउन भनिएको छ । पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएपछि जुम्लाका खेलाडीहरु उत्साहित भएका छन् । पहिले झुम्राको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी छन् । यसअघि यहाँका खेलाडी फुटबल खेल्नका लागि बाहिर जिल्ला जान्थे ।
त्यस्तै प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनोट भएका खेलाडीहरु सिधै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र हमालले बताए । उनले पहिलो पटक जुम्लाले राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदा जनशक्ति तयार पार्ने अवसर पाएको बताए । जुम्लाका लागि यो सुनौलो अवसर रहेको बताउँदै उनले यस अवसरको सबै मिलेर सहीरुपमा सदुपयोग गर्नुपर्ने बताए । प्रतियोगिताले जुम्लामा फुटबल खेलमा विवादै विवाद भइरहेको भन्ने गलत सन्देशको पर्दाफास गरेर फुटबलमैत्री जुम्लाको पहिचान बनाउने उनले बताए ।
कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आह्वानसमेत गरिएको छ । जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसँग छलफल गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies