मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : गत वर्ष २५ फागुनमा सम्पन्न राष्ट्रपतिको निर्वाचनदेखि सुरु भएको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरी सत्ता समीकरण परिवर्तन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन् । सबै मन्त्रालयको जिम्मेवारी आफै लिएर प्रधानमन्त्री प्रचण्डले सोमबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन् ।
नयाँ मन्त्रीमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डीपी अर्याललाई बिना विभागीय मन्त्री नियुक्त गरिएको हो । मन्त्रीहरु नियुक्त भएपछि एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका पार्टी प्रमुखहरुले हस्ताक्षर गरेर नयाँ राजनीतिक समीकरण घोषणा गरेका छन् ।
उक्त ८ बुँदे सहमति अनुसार, राष्ट्रियसभाको अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिनेछन् । अरु सहमतिमा सरकार सञ्चालन सहित संक्रमणकालीन न्याय टुंग्याउने विषय उल्लेख छ । तर मुख्य एजेण्डा सरकारलाई पूर्णता दिने र सञ्चालन विधिलाई सहमतिमा राखिएको छ ।
यसअघि पनि यस्तै सहमति कांग्रेस नेतृत्वको गठबन्धनमा पनि भएको थियो । गत वर्ष २५ फागुनमा पनि प्रचण्डले एमालेसँग गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्दा यस्तै सहमति गरेका थिए । तर कांग्रेससँगको समीकरण एक वर्ष पनि टिकेन ।
अझ कांग्रेसका मन्त्रीहरुले त्यति अवधि पनि काम गर्न पाएनन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले गत वर्ष १७ चैत र ५ वैशाखमा शपथ लिएका थिए । फेरि प्रचण्डले समीकरण बदलेकाले मन्त्रिपरिषद् १४औं पटक पुनर्गठन गर्नुपरेको हो ।
अर्थात् प्रधानमन्त्री बनेको १४ महिनामा प्रचण्डले १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । यो आफैमा राजनीतिक अस्थिरता रहेको प्रष्ट उदाहरण हो ।
तर अझैपनि राजनीतिक अस्थिरता अन्त्य हुनेमा ढुक्क हुने अवस्था छैन । किनकि वर्तमान संसद्को कार्यकाल भर्खर एक वर्ष सकिदैछ । अझै चार वर्ष बाँकी छ ।
अनि नेताहरुको सत्ताकै निम्ति गठबन्धन बदलिरहने प्रवृत्ति डरलाग्दो देखिएको छ । किनकि अहिलेको सरकारको नेतृत्व गरेको माओवादीसँग संसदमा ३२ सिट मात्रै छ । संसद्को सवैभन्दा ठूलो दल कांग्रेस भने सत्ता बाहिर पुगेको छ ।
नयाँ सत्ता समीकरणभित्र देखिन सक्ने शक्ति संघर्ष र कांग्रेसले सत्ता बदल्ने चाहना राख्दा फेरि पनि राजनीतिक अस्थिरता बढ्ने खतरा देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies