काठमाडौं : एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११–अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । बुधबार २–अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् ।
भुवनले बुधबार १–अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०–अन्डर २ सय ६ सहित दोस्रो स्थानमा रहेका छन् । अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
समग्रमा ३–अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । बुधबार दिनकै उत्कृष्ट ४–अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । विजयले बुधबार १–ओभर ७३ मा खेल सकाए ।
बुधबार १–अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २–अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन् । एमेच्योर राहुल विश्वकर्मा समग्रमा १–ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन् । उनले बुधबार ३–अण्डर ६९ को कार्ड तयार पारे ।
यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २–ओभर २ सय १८ सहित सातौं स्थान बाँडे । टासीले १–अण्डर ७१ र सञ्जयले इभन–पार ७२ मा बुधबारको खेल पूरा गरे । समग्रमा ३–ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन । दुवैले बुधबार ४–ओभर ७६ मा खेल पूरा गरे ।
लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
भुवनले राम्रो शुरुवात गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । दोस्रो होलमा एक सट खेर फाले । तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन् । १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २–ओभर ३८ मा सकाए ।
दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा पूरा गरे । चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । यसपछि १०औं र ११औं होलमा पनि एक–एक सट बचाए ।
विजयले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक–एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे । ब्याक नाइन भने १–ओभर ३७ मा पूरा गरे । विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए । तर ४–पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार नगद हात पार्नेछन् । कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies