तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : वैदेशिक रोजगारी तथा व्यवसायका लागि आकर्षक गन्तव्य देश हो कतार । विश्वका एक सय पाँच देशका करिब २५ लाखभन्दा बढी आप्रवासी नागरिकहरूले कतारलाई आफ्नो सपना पूरा गर्ने देशका रूपमा संघर्ष गरिरहेका छन् । यीमध्ये करिब साढे तीन लाख नेपालीले कतारलाई कर्मथलो बनाइरहेका छन् । कतारमा विद्यार्थीदेखि व्यवसायी र कामदारहरू रहेका छन् । उच्च शिक्षा हासिल गर्न नेपालबाट सिधै कतार आएका बाहेक प्राथमिक तथा माध्यमिक तहको पढाइ गर्न कतारमा नेपाली विद्यालय छैन । विद्यालय मात्र होइन नेपाल र नेपाली चिनाउन पुलको काम गर्न सक्ने कल्चरल हाउस पनि छैन ।
कतारमा नेपाली दूतावासको स्थापना सँगसँगै नेपाली विद्यालय र कल्चरल हाउसको कुरा उठे पनि यसले सार्थकता भने पाएको छैन । प्रवासमा रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि केही वर्षदेखि दुवै मुद्दालाई जोडतोडले उठाए पनि नतिजा निस्किन नसकिरहेका बेला यहाँस्थित नेपाली दूतावास, नेपाल व्यवसायी संघ र एनआरएनए एनसीसी कतार तदारुकताका साथ लागिरहेका छन् ।
नेपालीहरूका लागि अति आवश्यक रहेको नेपाली विद्यालय तथा कल्चरल हाउस सञ्चालनमा सहयोगको अपेक्षासहित यही साता कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको नेतृत्वमा नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई, उपाध्यक्षद्धय नरेन्द्र भाट र राज रेग्मीसहित एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीको टोलीले कतार च्यारिटीका अन्तर्राष्ट्रिय योजना कार्यक्रम प्रमुख नवाफ अब्दुल्लाह अल हम्मादीसँग भेट गरेका छन् । च्यारिटी प्रमुखसँगको भेटमा नेपालीका लागि अति आवश्यक विषयमा छलफल भएको थियो । छलफलमा योजना प्रमुख अल हम्मादीले कल्चरल हाउस सञ्चालनका लागि आफ्नोतर्फबाट हरेक किसिमको सहयोग गर्न आफू तयार रहेको बताए ।
कतारको विकास र समृद्धिका लागि नेपालीको योगदानको प्रशंसा गर्दै उनले नेपाली विद्यालय सञ्चालनका लागि पनि आवश्यक सहयोग गर्न कतार च्यारिटी सदैव तत्पर रहेको बताए । राजदूत ढकालले आफू राजदूत नियुक्ति भएर आएदेखि नै नेपाली श्रमिकदेखि नेपाल राष्ट्रको हितको खातिर कार्यसम्पादन गरिरहेको बताउँदै कतारका अमिर शेखको नेपाल भ्रमण, कतारमा नेपाली विद्यालय, कल्चरल हाउस र नेपाली उत्पादनलाई नेपाल व्यवसायी संघ कतारसँग मिलेर यहाँको स्थानीय बजारमा पुर्याउनु आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए ।
नेपाली विद्यार्थीहरुले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अध्ययन गर्दा शैक्षिक गुणस्तर पनि बढ्ने र नेपालका धेरै विषयलाई अन्तर्राष्ट्रियकरण गरेर अन्य देशका विद्यार्थीलाइ पनि नेपालको कला तथा भौगोलिकताका बारेमा अध्ययन गराउन सकिने हुँदा विद्यालय र कल्चरल हाउसको अनिवार्य आवश्यकता रहेको व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईको भनाइ छ । उनले शिक्षासँगै कला र कल्चरल हाउसले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र यसले कतारबाट नेपालमा पर्यटक भित्र्याउन पनि पुलको काम गर्ने बताए ।
कतारमा विभिन्न समस्यामा रहेका नेपाली श्रमिकको सहयोगार्थ डिजिटल च्यारिटी बक्सको व्यवस्था गरिदिन आग्रह गरेको र अल हम्मादी सकारात्मक रहेको छलफलमा सहभागी एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । भट्टले पछिल्लो समय नेपाली समुदायले गरेको जनचेतनाका कार्यक्रमबाट च्यारिटी प्रभावित भएको आफूहरूले पाएको बताए । कल्चरल हाउस “मिनी नेपाल”का रूपमा रहने बताउँदै एनिसिसी कतारका प्रथम उपाध्यक्ष पन्थीले छिट्टै नै सामुन्द्रिक तट सफाइ, ट्राफिक सचेतना तथा सामाजिक सुरक्षा तथा स्थानीय कानूनसम्बन्धी सचेतना कार्यक्रम गर्ने योजना छलफलमा पेस गरेको बताउँदै श्रमिकको हितका लागि कार्य गर्न आफू तत्पर रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies