स्याङ्जा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन् ।
नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनको शुक्रबार स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताएका हुन् । “यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै”, उनले भने, “उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ ।”
यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरुको रुवाबासी शुरु भएको उनको भनाइ थियो । “नेकपा एमाले यस्तै सरकार बनाइरहने हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन”, उनले भने, “देशलाई त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता, अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौं ।”
कम्युनिष्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिहरुले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोशिस भए पनि केही सीप नचल्ने उनले बताए । उनले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पु¥याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
जिल्लाको यस नवौं अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एक-एक जना, उपसचिव दुई जना र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुनेगरी कूल छ सय नौ जना प्रतिनिधि रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies