सपना बोहरा/मध्यान्ह
दाङ : लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लुम्बिनी प्रदेशका ४८ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख शेरचनले गत शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री महराले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त गरेका थिए । उनीहरुले पनि आइतबार नै शपथ ग्रहण गरे ।
महरा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो चरणमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन (सिजल)ले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । अहिले मन्त्री नियुक्त भएका कसैलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन । नयाँ सत्ता समीकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा महरा रहेका छन् ।
महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताए । शपथ ग्रहणपछि मन्त्रीमण्डलबारे बोल्दै महराले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने बताएका हुन् । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याबिनेटलाई छिटो पूर्णता दिने उनले जानकारी गराए ।
महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् । महरा लुम्बिनी प्रदेशका पाँचौं मुख्यमन्त्री हुन् । महरा विसं २०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies