सौरभ यादव/मध्यान्ह
सप्तरी : जिल्ला खेलकुद विकास समिति सप्तरीमा केही पदाधिकारीले लगाएको ताला साढे तीन महिना पुग्दा समेत खुल्न सकेको छैन् । जसका कारण खेलकुदका गतिविधि र दैनिकी कामकाज ठप्प हुनुका साथै पूर्वाधार निर्माणका लागि आएको २० लाख भन्दा बढीको बजेट पनि फ्रिज भएको छ ।
लामो समयदेखि तालाबन्दी कायमै रहँदा कर्मचारी तथा प्रशिक्षकहरु बस चढी १ सय २० किलोमिटर टाढा विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा पुगी तलब बुझ्न बाध्य छन् ।
सप्तरीमा काम गर्ने र तलब लिन महिना पुगेपछि विराटनगर जानु पर्दा अप्ठेरो परेको प्रशिक्षकहरुले गुनासो गरेका छन् । केही पदाधिकारीले कार्यालयका मुल गेटमै तालावन्दी गरेपछि खेलाडीहरु त्यहाँको कभर्डहल प्रयोग गर्नबाट पनि बञ्चित भएको करातेका सहायक प्रशिक्ष सन्जय जोशीले बताए ।
समितिमा तालाबन्दी भएपछि अन्य जिल्लामा हुने विभिन्न लेखकुद प्रतियोगितामा सहभागी हुन खेलाडीहरु स्थानीय बजार र विभिन्न संघ संस्थामा चन्दा उठाउन बाध्य भएका छन् ।
तालावन्दी भएको साढे ३ महिना पुग्दा समेत ताला खोल्ने विषयमा कसैले पहल नगरेको पनि जनाइएको छ । जसका कारण खेलाडी र खेलप्रेमीहरु पनि आक्रोशित बनेका छन् ।
खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा बहुमत पदाधिकारी मिलेर समितिको मुल गेटमै तालाबन्दी गरेका हुन् । समितिको बैठकमा बहुमत पदाधिकारीद्वारा गरिने निर्णय कार्यान्वयन हुनुपर्ने, २०७१-०७२ देखि सार्वजनिक नगरिएको आय व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता प्रमुख र कोषाध्यक्षको संयुक्त नामबाट संचालन हुनुपर्ने लगायतका माग राखि गत ७ जेठमा तालाबन्दी गरिएको थियो ।
समितिका सवै पदाधिकारी सत्तापक्षिय नेकपा पार्टी सँग आवद्घ छन । तर एउटै पार्टीका भए पनि २ गुटमा बिभाजित भएपछि विवादसँगै तालाबन्दी पनि लम्बीदै गएको र खेलकुद क्षेत्रलाई ठूलो घाटा भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies