ओबराज शाही/मध्यान्ह
हुम्ला : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ हुम्लाले बजार प्रवर्द्धन तथा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम सिमकोटदेखि जिल्ला बाहिर जिल्लामा उत्पादन भएको हरेक चिज बस्तुको बजार प्रवर्द्धन गर्न इकाइले गोष्ठी सञ्चालन गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ हुम्लाले जिल्लामा स्याउ जोन र भेडा बाख्रा जोनतर्फ काम गर्दै आएको हुँदा त्यसको बजारिकरणमा टेवा कसरी पु¥याउने भन्ने लक्ष्य अनुसार एक दिने बजार प्रवर्द्धन गोष्ठी सञ्चालन गरिएको परियोजना इकाइ प्रमुख राम दरेश रायाले बताए ।
प्रमुख रायाले जिल्लामा उत्पादन गरेका बस्तु जिल्ला सदरमुकाममा मात्र नभएर जिल्ला बाहिर निर्यातमा जोड दिने उद्देश्यले जिल्लाका प्रमुख एवम् प्रतिनिधि र किसानको सुझाव लिनको लागि एक दिने गोष्ठी सञ्चालन गरिएको बताए ।
परियोजना इकाइले स्याउजोनतर्फ ७५ प्रतिशत ढुवानी अनुदानमा स्याउ जिल्ला बाहिर निर्यात गरेको भएपनि त्यो कार्यक्रम त्यति लाभदायक नभएको किसान गोरसिंह बोहराले बताए । किसान बोहराका अनुसार जिल्लामा सडक मार्गसँग नजोडिँदासम्म हवाइ यातायातको भरमा किसानले सोचे जस्तो प्रतिफल नहुने जनाए ।
उनले जिल्ला बाहिर स्याउ निर्यात गरेपनि अहिले घाटामा भएको बताए । भेडा बाख्रा जोनतर्फ उत्पादन भएको मासुजन्य बस्तु जिल्लामै बजारिकरण हुने हुँदा त्यसमा भन्दा स्याउको लागि भण्डारण (क्वारेन्टाइन)को स्थापना नगर्दासम्म परियोजनाबाट हुने लागत खेर जाने उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले बताए । जिल्लामा हरेक निकायाले स्याउ, ओखर दिँदा जात नहेरी दिने गरिएको र कुन जात हुम्लामा राम्रो हुन्छ भन्नेतर्फ कोही कसैको ध्यान नदिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए ।
त्यस्तै लेबलिङ र प्याकेजिङमा ध्यान नदिएर लगानी गरे त्यसको प्रतिफल राम्रो नहुने हँुदा त्यसमा जोड दिन सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । दुई, तीन पालिकामा मात्र केन्द्रित नभएर माटो परीक्षण गरेर सबै पालिकामा कार्यक्रम लागू गरेर आयआर्जनमा टेवा पुर्याउनुपर्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।
जिल्लामा भएका हरेक कार्यलयबाट एकै किसिमको अनुदान हुँदा विकास नभएको हुन सक्ने त्यसलाई नियालेर हेर्नू र दिनुपर्ने प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोख्रेलले बताए । जिल्लामा हरेक कार्यालयबाट अनुदानले किसानलाई अल्छी बनाएको हुँदा अनुदान दिँदा जो किसान हो, त्यसैलाई दिनु र अनुगमनमा पनि जोड दिनुपर्ने समन्वय प्रमुख शिवराज शर्माले बताए । अबका दिनमा सहभागीको सुझावलाई कार्यान्वयन गर्ने परियोजना इकाई प्रमुख रायाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies