सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु हुँदै आएको छ । अभियानको दोस्रो चरण अनुसार स्थानीय तहहरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ पर्यटकीय गन्तव्यमध्ये शितगंगा नगरपालिकाका मुख्य तीन गन्तव्य डमरुदह, सुर्यगुफा, हवाइलेखसँगै भुतिया रह र बालुवाखोलामा पुगेर सोमबार र मंगलबार स्थलगत रिपोटिङ गरिएको अभियानका प्रवक्ता हृदय भुसालले बताए ।
देशकै सबैभन्दा ठूलो शितगंगा नगरपालिका भौगोलिक विकटता भएपनि धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा महत्वपूर्ण पर्यटकीय गन्तब्य भएको धेरै सम्भावना बोकेको पालिका भएको नगरपालिका नगरप्रमुख छविलाल पौडेले बताए । नगरप्रमुख पौडेलले भने,‘पर्याप्त बजेट नहुँदा जनताको माग र आवश्यकताको आधारमा विकास गर्न सकेका छैनौँ, तर पनि निरन्तर लागेका छौँ, पर्यटन विकास र समृद्धिको महत्वपूर्ण क्षेत्र हो, शितगंगा नगरपालिका यसका लागि योजनावद्ध रुपमा अगाडि बढेका छौँ, पत्रकार महासंघ जस्तै सबै सरोकारवाला प्रचारसँगै भौतिक पूर्वाधारको विकासमा लाग्नुपर्छ, सबैको साथ सहयोगको अपेक्षा गर्दछौँ’।
शितगंगा नगरपालिका आफैँमा ऐतिहासिक महत्व बोकेको सुन्दर,सफा,प्रकृतिको रमणिय नगरपालिका भएको नगरउप्रमुख गीता भाटले बताइन् ।
उपप्रमुख भाटले भनिन्,‘जनताको सेवामा दिनरात नभनी लागेका छौँ, तरपनि जति बजेट हुँदा पनि भौगोलिक विकटताले गर्दा जनताका असिमित आवश्यकता सिमित स्रोत साधनले गर्दा आवश्यकता अनुसारको विकास गर्न निकै कठिन भएको छ, अझैँ धेरै बजेटको आवश्यकता छ, त्यसका लागि संघ र प्रदेश सरकारमा समेत धेरै योजना माग गरेका छौँ, जिल्लाको दक्षिण क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्छ, अब गाउँमा आर्थिक विकास र रोजगारी समेत सृजना गर्नको लागि होमिस्टे सञ्चालन गर्न लागेका छौँ, अब पालिकाले स्थानीय उत्पादनलाई पनि ब्राण्डिङ गर्ने गरी योजना अगाडि बढाएका छौँ, पत्रकारको यो अभियानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गर्नेछ ।’
शितगंगाको विकास र समृद्धिका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने भन्दै पत्रकार महासंघले सञ्चालन गरेको अभियानमा नगरपालिकोको तर्फबाट सबै हिसाबले साथ समर्थन रहने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । क्याम्पसको स्तरउन्नतीसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने उद्देश्यले ज्योति भविश्वर बहुमूखी क्याम्पसले आगामी वैशाख १ गतेदेखि महायज्ञ सञ्चालन गर्न लागेकोले सबैले सहयोग गर्नुपर्ने क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए ।
उक्त अभियानको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए अभियान अन्तर्गत विभिन्न प्रचारात्मक कार्यक्रम गरिएको महासंघका अध्यक्ष अशोक खनालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies