२०८१ पुष १६ गते मङ्गलवार / Dec 31 , 2024 , Tuesday
२०८१ पुष १६ गते मङ्गलवार
Ads

वर्गीय संघर्ष र पक्षधरताको प्रश्न

ADV
२०८१ पुष १४ गते ०६:१०
वर्गीय संघर्ष र पक्षधरताको प्रश्न

–लेखराज रेग्मी

मजदुर र किसानलगायत श्रमिक वर्गको हितविरुद्ध खडा हुने सबै विचार, चिन्तन, संस्कार, संस्कृति, सामाजिक राजनीतिक मूल्य, मान्यता तथा त्यसलाई जोगाउन बलियो बनाउन र टिकाइरहने सबै प्रपञ्चहरूसँग श्रमिक वर्गको संघर्ष हुन्छ । 

जसरी आज श्रमिक वर्गका प्रतिनिधिहरू पहिचानको आधारमा संसद् र सरकारमा पुग्न रोकिएको छ, यो एक प्रकारको श्रमिकविरोधी अधिनायकत्व हो । श्रमिक वर्गले यसबाट पार पाउन गरिने संघर्ष वर्ग संघर्षको उच्चतम रूप अर्थात् राजनीतिक संघर्ष हो र यसले यस्तो पक्षधरतालाई परास्त गर्दै अनुकूल व्यवस्था बनाउनुपर्ने हुन्छ ।

यस्तो व्यवस्था स्वाभाविक रूपमा मालिक वर्गको विरोधमा मात्र एक प्रकारको अधिनायकत्व नै हुन्छ । यही २ अधिनायकत्वको टक्करको बीचमा बाँकी जनतालाई आफ्नो पक्षमा पार्न तानातान भइरहन्छ । यही बीचको शक्तिसँग पनि सामाजिक अन्तर्विरोध चलिरहेको हुन्छ र उनीहरू आफ्नो हित र स्वार्थको अनुकूलतामा ढुलमुल गरिरहने हुन्छन् । 

सारमा, मालिक वर्गसँग उनीहरूको मेलमिलापले उनीहरूलाई संरक्षण र साझेदारीको अवसर प्रदान गर्न सक्दैन । यो तथ्यलाई प्रस्ट्याउँदै आफ्नो पक्षमा पार्न उनीहरूका स्वार्थहरूको पनि जगेर्ना गर्नेगरी संघर्षमा साझेदारी कायम गर्नु श्रमिक वर्गहरूका लागि एकदम ध्यान दिनुपर्ने र आफ्नो इमानदारीको पनि व्यवहारमा पुष्टि गर्ने दायित्व हुन्छ ।

यसरी मेलमिलापबाट हल गरिने र गर्न सकिने सबै बेमेललाई हामी मैत्रीपूर्ण अन्तर्विरोध र यसरी पैदा हुने एकतालाई संयुक्त कार्य वा सहकार्य भन्ने गर्छौं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा हामीले या त बाहिरको सिको गर्दै मनगढन्ते साझेदार वा दुस्मन बनाउँछौं, जसको वास्तविक अस्तित्व ठोस रूपमा भेटाउँदैनौं र अन्योलको सिकार हुन्छौं वा अन्तिम ध्येय उद्देश्यलाई तत्कालको विषय बुझ्छौं र सबैसँग भिड्न थाल्छौं । अर्को भाषामा मैत्रीपूर्ण अन्तर्विरोध र छिनोफानोको लडाइँमा गन्जागोल पैदा गर्छौं ।

यसबाट बच्न आधारभूत शत्रु, आधारभूत मित्र र हुलमुलहरूको सही हिसाब गर्न सक्नुपर्छ । कुन वर्गसँग समन्वय गर्ने र कुनसँग सम्बन्ध नबनाउने भन्ने विषयमा स्पष्ट किटान गर्नुपर्छ । 

यहाँ एउटा गल्ती हुने खतरा हुन्छ, यदि तटस्थ राख्नु र सहकार्य गर्नुको फरक बुझ्न नसकिएको खण्डमा । हाम्रो राजनीतिक आन्दोलनमा यस्ता धेरै उदाहरणहरू छन् तर हामी अहिले चर्चा गर्दै छैनौं । हामीले संघर्ष गर्दै गर्दा उद्देश्य किटान नगरी अगाडि बढ्नु अर्थहीन हुन्छ । यसले हामीलाई कहीँ पनि पु¥याउँदैन । उद्देश्य किटानीबिना हाम्रो लडाइँ हावामा मुक्का चलाउनु जस्तै हुन्छ ।

हामीले २०६२/०६३ सालको आन्दोलनपछि यस विषयमा मूर्त बहस छलफल या विवेचना गर्न असमर्थता देखाइरहेका छौं भन्नुपर्ने हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनभित्र यस विषयमा स्पष्टता र समान समझदारी आवश्यक छ । यद्यपि, जसरी अहिलेको कम्युनिस्ट आन्दोलन विभाजित छ, यसले वर्गीय असमताको विषयलाई थप गहिरो बनाएको छ ।

सँगै, संघर्षका कार्यक्रम पनि अन्योलपूर्ण बनाएको छ, जसले आगामी दिनमा वर्गीय आन्दोलन गिजोलिने खतरा पनि रहन्छ । 

(रेग्मी, नेकपा माओवादी केन्द्रका नेता हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise