दोहा, कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको हलमा शुभकामना आदानप्रदानसहित रफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव) बाट गरिएको थियो । मुस्लिम समाज कतारका कार्यबाहक अध्यक्ष नाजिर मियाको सभाध्यक्षता तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो । नेपाली दूतावासका श्रम सहचारी प्रेमप्रसाद पोखरेल, गैरआवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, वैचारिक संगठन, विभिन्न प्रदेश, सामुदायिक र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो ।
इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र महिना रमजानको महत्वका बारेमा धर्मगुरुहरूले प्रकाश पारेका थिए । गुरुहरूले रमजानमा कठोर उपवास बस्ने बाहेक रमजान प्रतीक्षाको महिना पनि रहेको बताए । गुरुहरूले गरिब भोकै बस्दा कस्तो महसुस हुन्छ भन्ने पनि यो रोजाले बुझाउने गरेको स्मरण गरे । गुरुहरूले रमजानको चाँद आउने बित्तिकै जन्नत (स्वर्ग) का आठ वटै ढोका खुला हुने र जहन्नम (नर्क) को ढोका बन्द हुने बताए । गुरुहरूले रमजानमा भोकै बस्नु, प्यासी बस्नु मात्र रोजा नहुने बताउँदै हरेक गलत कार्यबाट टाढा रहनु पनि रोजा रहेको बताए । रमजान सामाजिक, सांस्कृतिक, चालचलनसँग जोडिएको गुरुहरूको भनाइ थियो ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले कतारको नेपाली समुदायभित्रको मुस्लिम समुदायमा एकताको खाँचो रहेको औल्याउँदै एकजुट हुन आग्रह गरे । उनले मुस्लिम समुदायबीच सामाजिक सञ्जालमा देखिने टकराबले सकारात्मक सन्देश नजाने भन्दै आफ्नो मुस्लिम साथी सरस्वती पूजा समिति र आफूले रफ्तार कार्यक्रमको आयोजना गरेको उदाहरण दिँदै समाजमा मिलेर बस्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा उपस्थितलाई समाजका संरक्षक साकीर अलिले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । संरक्षक करीम बक्स मियॉले सहजीकरण गरेको कार्यक्रमको समापान गर्दै सभाध्यक्ष मियाँले इफ्तार कार्यक्रममा जोडिने संघसंस्था प्रमुख तथा प्रतिनिधि, मौलाना तथा गुरुहरुलाई आभार व्यक्त गरेका थिए ।