रौतहट : रौतहट गरुडा नगरपालिकाको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुख कन्थमणी जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय समुदायको बीचमा रंग अबिर साटासाटा तथा एकअर्कासँग भेटघाटसहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
होली मिलन समारोहमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख जैसवालले होली पर्वलाई रंग, उमंग र सद्भावको पर्व भएको उल्लेख गर्दै यस पर्वले सामाजिक मेलमिलाप, आपसी समझदारी र सद्भावना अभिवृद्धि गर्ने बताए ।
उनले सबै नगरवासीलाई शान्ति, प्रेम र अनुशासन कायम राख्दै सुरक्षित र मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरे ।
होली पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै यस पर्वलाई समाजलाई एकत्रित गर्ने, विगतका द्वेष हटाउने र सबैलाई प्रेम र सद्भावको डोरीले बाँध्ने पर्व को रूपमा मनाउन आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका युवा नेता ज्ञानेन्द्र यादवले होली पर्व आपसी प्रेम, भाइचारा, सद्भाव र सहिष्णुता फैलाउने महत्वपूर्ण अवसर भएको बताए ।