२५ वर्ष यता नेपाली राजनीतिको केन्द्रमा छन्– पुष्पकमल दाहाल प्रचण्ड । २०५२ मा जनयुद्ध घोषणा गरे पछि उनी नेपाली राजनीतिक विमर्शको केन्द्रमा रहे । २०५५/०५६ देखि त उनी जबर्जस्त एजेण्डा र विमर्शमा पर्ने पात्र रहे । गाउँगाउँमा जनसरकार बनाउने र सुरक्षाकर्मीहरुसँग सशस्त्र भिडन्तमा उत्रिए पछि अन्तर्राष्ट्रिय चासोका पात्र बने, प्रचण्ड । राजदरबार हत्याकाण्ड पछि त प्रचण्डको राज लगभग मुलुकमा समानान्तर चल्ने अवस्था सिर्जना भयो । अर्कातिर प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई देखाएर संसदीय प्रणाली राजा ज्ञानेन्द्र खोसे । आफै मन्त्रिपरिषद्को अध्यक्ष बने । यसले दोस्रो जनआन्दोलनको जग बस्यो । राजतन्त्रको अन्त्यसँगै मुलुक शान्ति प्रक्रियाको यात्रातिर अगाडि बढ्यो ।
यसपछि भने मुलुक लामो समय संक्रमणमा फस्यो । यो संक्रमणको केन्द्रमा पनि तिनै प्रचण्ड थिए । प्रचण्ड नवोदित राजनीतिक शक्तिहरुसँगको मोर्चामा लागे । लामो रस्साकस्सी पछि बल्ल २०७२ मा नेपालको संविधान जारी भयो । संविधान जारी गर्दा पनि प्रचण्डको यूर्टन महत्वपूर्ण थियो । यसपछि वाम एकताको सुत्रप्रात भयो । देशका ठूला वामशक्ति एमाले र माओवादी केन्द्रले २०७४ को निर्वाचनमा गठबन्धन गरे । मुलुकमा पाँच वर्षे स्थीर सरकारको जग बस्यो । तर, त्यो जगले पाँच वर्षे स्थिरता कायम भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ मा संसद् विघटन गरिदिए । असंवैधानिक संसद् विघटन पछि नेकपा विभाजित भएको छ । मुलुकमा संवैधानिक र राजनीतिक संकट देएिको छ ।
यस्तो अवस्थामा प्रचण्डले फेरि सशक्त जनसंघर्षमा उत्रने चेतावनी दिइरहेका छन् । यसअघि पनि प्रचण्ड मुलुकको कोर्सलाई प्रभावित बनाउन सक्ने पात्र हुन् । अहिले प्रचण्डको चेतावनी ओलीले चालेको कदममा केन्द्रीत छ । ओलीले पनि असंवैधानिक कदम मार्फत् आफू नझुक्ने, बरु टुट्ने चेतावनी दिइरहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपाको आकस्मिक विभाजन र विभाजित पार्टीका दुई शक्तिशाली नेताहरु ओली र प्रचण्डले एकापसमा देखिरहेको चेतावनीले मुलुक फेरि पनि अशान्त हुने भय देखिन्छ । संसद् विघटनको विरुद्धमा परेको मुद्दा सर्वोच्च अदालतमा छ । अदालतको विचाराधीन मुद्दा प्रभावित पार्नेगरी दुवैतर्फबाट कोशिस भइरहेको छ । एकले अर्कालाई निषेध गर्ने रणनीति लिएकाहरुले मुलुक कतै फेरि हिंसातर्फ लैजाने त्रास बढेको छ । यस्तो बेलामा नेताहरुको अभिव्यक्तिमा संयमता खाँचो छ । जसले हिंसा होइन, फेरि पनि सम्वाद मार्फत् मुलुकले बिगारेको बाटो सही ठाउँमा ल्याउन मद्दत पुगोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies