काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सरकारी संयन्त्रबाट कतारमा सुरक्षागार्ड पठाउने तयारी भइरहेको बताएका छन् । हाल काठमाडौंमा रहेका कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज त्यसको लागि सरकारको उच्च नेतृत्वसँग छलफल गरिरहेको बेला श्रममन्त्री चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी तयारीबारे खुलासा गरेका हुन् ।
वैदेशिक रोजगार बोर्डले पूर्व प्रस्थान अभिमुखीकरणको नयाँ पाठ्यक्रम अनुरुप तालिम सञ्चालनका लागि आयोजना गरेको पुनर्ताजगी तालिमको समापनमा आइतबार बोल्दै श्रममन्त्री चौधरीले सुरक्षागार्डको काममा जाने नेपाली कामदारलाई सरकारी संयन्त्रमार्फत नै पठाउन लागिएको बताए ।
वैदेशिक रोजगार व्यवसायीसँग दुई देखि ६ करोड रुपैयाँ बैंक ग्यारेन्टी र धरौटी लिएर लाइसेन्स बाँडेको सरकारले प्रमुख गन्तव्यमा भने आफैं कामदार पठाउन लागेको हो । निजी क्षेत्रका ब्यबसायीहरुलाई फ्रि भिषा, फ्रि टिकट र शून्य लागतमा कामदार पठाउन नियम बनाएको सरकारले यसअघि कामदारले नै टिकटलगायतका खर्च ब्यहोर्नु पर्ने गरी दक्षिण कोरिया र इजरायलमा पनि सरकारी संयन्त्रबाट कामदार पठाउने निर्णय गरेको थियो । त्यसमा दक्षिण कोरिया कामदार पठाउने कार्यले गति लिए पनि आकर्षक रोजगार गन्तव्य इजरायलमा रोजगारीमा पठाउने कार्य भने लथालिंग अवस्थामा रहेको छ ।
नेपाली कामदारको अर्को आकर्षक गन्तव्य मुलुक जापानमा पनि सरकारी संयन्त्रमार्फत पठाउने विषयमा सहमति विगत एक वर्षदेखि कार्यविधि बनाउन भन्दै अलमल्याएर राखिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले निजी क्षेत्रको भूमिका खुम्च्याउने गरी सरकारले कामदार पठाउने ‘एजेन्ट’को भूमिका खेल्न नहुने माग गर्दै आएका छन् ।
सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक कतारले आकर्षक तलव र सुविधासहित छोटो अवधिका लागि ठुलो संख्यामा नेपाली लैजाने सोच बनाएको छ । तर त्यसका लागि कतारसँग भएको हालको श्रम सम्झौता परिवर्तन गर्नुपर्ने हुन्छ । कतारसँग यसअघि भएको श्रम सम्झौतामा सरकारी संयन्त्रबाट कामदार पठाउने प्रावधान छैन ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बोर्डले झण्डै साढे एक वर्षको समयावधि लगाएर पाठ्यक्रम परिमार्जन, देशगत म्यानुअल लगायत तयार पारेको भन्दै कडाईका साथ नयाँ पाठ्यक्रमलाई लागू गरी अनुगमनलाई प्रभावकारी बनाइने बताए । पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक पाठ्य सामग्रीहरु उपलव्ध गराउने उनले बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरे, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कमल तामाङ, नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम, महिला वैदेशिक रोजगार व्यवसायी संघकी अध्यक्ष सिता देवकोटा लगायतले बोर्डले तयार पारेको नयाँ पाठ्यक्रबारे आफ्ना धारणा राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies