२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

प्रचण्डको प्रश्न- '३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो प्यारापिट ?'

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १४:३१
प्रचण्डको प्रश्न- '३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो प्यारापिट ?'

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीब्र आलोचना गरेका छन् । उनले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाए ।

उनले स्मरण गराउँदै भने, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।”

तर आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । “जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ” भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औंल्याए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरबाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।

“योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ,” उनले भने, “तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन ।”

उक्त रंगशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा प्रचण्डले सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।

ADV

सम्बन्धित खबर

Advertise