२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

हाँसी खुसी गन्तव्यमा पुगून् यात्रुहरू

shivam cement
२०८२ असोज ७ गते ०६:१०
हाँसी खुसी गन्तव्यमा पुगून् यात्रुहरू

यस वर्षको बडा दसैं सुरु भइसकेको छ । दसैं मनाउन दिनहुँ लाखौं मानिस उपत्यका छाडिरहेका छन् । तर मनसुन सकिएपछि पनि भइरहेको वर्षाले यात्रा असुरक्षित र अनिश्चित बनेको छ । यही साता मात्र मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले झन्डै ४८ घण्टा यातायात अवरुद्ध हुन पुग्यो । हजारौं सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परे । सडक विभागले आफ्नो सम्पूर्ण शक्ति लगाउँदा पनि छिटोछरितो पहिरो पन्छाउन सकेन । यात्रुहरूले सास्ती बेहोरेर यात्रा गर्नुपर्‍यो । 

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न निर्देशन दिइसकेका छन् । काठमाडौंबाट बाहिरिने सवारीसाधनको चाप बढिरहेका बेला नागढुंगा सुरुङ मार्ग प्रयोगमा ल्याउने तयारीसमेत भइरहेको छ । त्यसले केही राहत मिले पनि निर्माणाधीन सडकको स्थितिले ढुक्क हुने स्थिति भने छैन । संघीय राजधानी जोड्ने सडक मात्र होइन, देशका अन्य मुख्य सडक खण्डमा पनि बेमौसमी वर्षाले क्षति पुर्‍याएको छ । ठाउँठाउँमा सडक अवरुद्ध भई यातायात प्रभावित भएको छ । सरकारले त्यस्ता सडकका अवरोध हटाई यथाशक्य छिटो मर्मत गरी सडक सञ्चालनको व्यवस्था मिलाउनुपर्छ । दसैंमा खुसी साट्न घर गइरहेका र फर्किने यात्रुले सुरक्षित यात्रा गर्न पाउनुपर्छ । 

त्यसो त, सडक मर्मतसम्भारको कार्य निरन्तर चलिरहन्छ । तर चाडबाडका बेला त्यसमा किन पनि विशेष ध्यान दिनुपर्छ भने यतिबेला दैनिक लाखौं यात्रु घर फर्किरहेका छन् । सवारी साधन र यात्रुको चापले अस्तव्यस्त सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढाउँछ । त्यसप्रति बेलैमा सावधानी अपनाउनु जरुरी छ । चाडबाडका बेला बर्सेनि ठुला दुर्घटना हुने गरेका छन् । त्यो जोखिमबाट जोगिन पनि पूर्वतयारीको खाँचो छ । मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो हटाई दुईतर्फी सडक सञ्चालन गर्न ७२ घण्टा लाग्नुले हाम्रो सामथ्र्य देखाइसकेको छ । अतः सरकारले उच्च जोखिममा रहेका सडकमा हुन सक्ने अवरोध तत्काल हटाउन आपतकालीन टोली खटाउनुपर्छ । मौसमी प्रतिकूलताबीच सडक यातायातलाई भरपर्दो र सुरक्षित बनाउन आवश्यक योजना र तयारी बनाउनुपर्ने देखिन्छ । आमनागरिकले आशाका नजरले हेरेको वर्तमान अन्तरिम सरकारले त्यसतर्फ ध्यान देओस् । चाडबाड र पारिवारिक भेटघाटको खुसी र उमंगमा यात्रा गरिरहेका यात्रुहरू हाँसीखुसी गन्तव्यमा पुगून्, सकुशल फर्किऊन् ।

ADV

सम्बन्धित खबर

Advertise