
बेलायतको व्यस्त सहर लण्डन । जहाँ मानिसको जीवन घडीको सुइसँगै दौडिन्छ । त्यही दौडाइमा भेटिन्छन् छोङ नोर्बु शेर्पा । अहिले लण्डनमा ‘इरो सुसी’ नामक रेष्टुरेन्ट खोलेर २ सय जनालाई रोजगारी दिँदै आइरहेका शेपासँग कुनै दिन दुई दिनसम्म हिँडेर तेल बोकेको अनुभव पनि छ । दोलखाको टाटेपानीमा जन्मेका शेर्पाको बालापन दुर्गम गाउँमा वितेको भएपनि इच्छाशक्ति र अथक प्रयासले उनी एउटा सफल व्यवसायी बनेका छन् । प्रस्तुत छ, सन् २०१५ बाट लण्डनमा रेष्टुरेन्ट खोलेर व्यवसाय थालेका उनै शेर्पासँगै मध्यान्हका लागि अस्मिता बमले गरेको कुराकानीको सम्पादित अंशः
दोलखा र लण्डनलाई तुलना गर्ने हो भने पक्कै धेरै भिन्नता छ, तपाईंको अनुभवमा कस्तो छ ?
बेलायत धेरै विकास भएको देश हो र नेपाल विकासोन्मुख देश भएकाले फरक त परिहाल्छ । तर, मेरो नजरमा हेर्दा चाहिँ उता अलि बढी विधि र प्रणालीमा काम हुन्छ । नेपालको तुलनामा प्रविधि पनि एडभान्स छ । नेपाल अवश्य पनि पछाडि नै छ । आई थिंक सिस्टम इज मस्ट डिफ्रेन्ट ।
व्यवसायी बन्नु पूर्व ब्रिटिस आर्मीका लागि पनि यहाँले तयारी गर्नुभएको तर, सफल हुन सक्नुभएको रहेनछ । खासमा के कारणले त्यस्तो भयो ?
त्यतिबेला ब्रिटिस आर्मीको लागि प्रयास गर्नेहरू धेरै थिए । मैले पनि आफूले सक्नेगरी प्रयास गरेको थिएँ तर, अन्तिममा नाम निकाल्न सकिन । धेरै प्रतिस्पर्धा भएको कारणले नतिजा निकाल्न गाह्रो थियो ।
अष्ट्रेलियाको लागि पनि त तयारी गर्नुभएको थियो, त्यहाँ चाहिँ के भयो ?
अष्ट्रेलियामा २००९ तिर तपाईको मैले आवेदन गरेको थिएँ । त्यसलगत्तै, सायद अष्ट्रेलियन सरकारले दुईवटा बैंकबाट मात्रै ऋण अनुमोदन गर्ने प्रणाली ल्यायो । मैले नेपाल बैंकमा आवेदन गरेको थिएँ । तर, त्यो बैंक लिस्टमा रहेनछ । मलाई कन्सल्टेन्सीले नेपाल बैंकको प्रक्रिया झिकेर नबिल बैंकबाट अगाडि बढाउन भनेको थियो । त्यसो गर्दा भिसा लाग्छ भन्ने मलाई सुझाव पनि दिएको थियो । तर, मैले त्यता ध्यान दिइन ।
अनि बेलायत चाहिँ कसरी पुग्नुभयो ?
अष्ट्रेलिया तर्फको पहल पनि नभइरहेको समयमा लाण्डनको लागि टियर फोर खुल्यो । मैले पनि त्यसमा आवेदन गरिहालेँ, काम पनि भयो । स्टुडेन्ट भिसामा २००९ को जुलाईमा म त्यहाँ गएको हुँ ।
तर, सुरु सुरुमा चाहिँ काम पाउन अलि गाह्रै थियो । नयाँ ठाउँमा सबै कुरा नयाँ पनि हुने अवस्था भैहाल्यो । दुई चार महिना त्यहाँ घुलमिल हुन समय पनि लाग्यो । ६ महिनाजति त मैले काम पनि पाइन र पढेर मात्रै बसेँ ।
काम नगरी बस्न पक्कै पनि असहज अवस्था बन्यो होला ?
धेरै गाह्रो । अलिअलि पैसा लिएर गएको थिएँ जाँदा । त्यसबाट नै दुःखसुख व्यवस्था गरेँ । भाग्यवस साथीहरू भएको कारणले सजिलो पनि भयो । साथीहरुले भाडा तिर्दिने र खाना पनि उनीहरूकैमा खाने गरेँ । यहाँ पनि मैले त्यति काम गरेको थिइन । उता जाँदा नयाँ कुरा सिक्न नयाँ ठाउँमा काम गर्न धेरै गाह्रो भयो ।
पहिला के काम पाउनुभयो ?
पहिलो काम त्यहाँको सपिङ मल भित्र पाएँ । त्यहाँ जापानिज परिकार सुसी बनाउने काम पाएँ । त्यही नै थियो मेरो औपचारिक कामको सुरुवात ।
कामको सिलसिलामा तपाईं सेफबाट मालिकसम्म बन्नुभयो, यो कसरी सम्भव भयो ?
त्यतिबेला मैले त्यहि नै काम पाएँ । तर, गर्दै जाँदा सुसीको कामप्रति रूची थप बढ्दै गयो । यो अलिकति कलात्मक खानेकुरा पनि हो । अनि स्वस्थकर पनि । काम गरेको होटेलमा धेरै धनी–धनी मान्छे, फुटबल खेलाडीहरू आउने गर्दथे । मलाई यो काम धेरै विशेष रहेछ भन्ने लाग्यो । काम गरेको ३÷४ वर्ष पछि यसमा केही गर्न सकिन्छ कि भनेर अध्ययन तथा खोज गर्न लागेको थिएँ । सन् २०१५ सालबाट आफैँले सुरु गरेको हुँ ।
लण्डन जस्तो महँगो ठाउँमा कसरी लगानी जुटाउनु भयो ?
सुरु गर्दा रेस्टुरेन्ट नै खोलेको हैन । एउटा कमर्सियल स्पेस भएको ठाउँबाट सुरु गरेको हुँ । त्यो स्पेस पनि निश्चित समयको लागि मात्रै प्रयोग गर्न पाइन्थ्यो । चार बजे पछि बन्द गर्थे उनीहरूले, मैले त्यसपछि भाडामा लिएर आफ्नै तरिकाले एक वर्षजति व्यवसाय गरेँ ।
रेष्टुरेन्टको नाम इरो सुसी राख्नुभएछ, कसरी चयन गर्नुभयो यो नाम ?
एउटा लजिक प्लस बिजनेसमा ट्रेडमार्कको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसरी खोज्दै गर्दा इरो भनेको जापानी भाषामा रंगीन भन्ने हुँदो रहेछ । खाना पनि पनि रंगीन नै हुन्छ । मैले त्यहि सोचेर यो नाम राखेको हुँ ।
सायद इरो सुसीले नै तपाईंको जीवन पनि रंगीन बनाइदियो ?
त्यस्तै भनौँ ।
पछिल्लो समयमा आएको कोभिड महामारीमा विश्वभरीका व्यवसायी प्रभावित भएका थिए । तपाईंको व्यवसायमा कस्तो असर पर्यो ?
कोभिडको समयमा चाहिँ हाम्रो लािग एकदम राम्रो भयो । किनभने हाम्रो अलरेडी टेक अवे र होम डेलिभरी टाइपको बिजनेस थियो । महामारीमा सबैजना मान्छे बाहिर नआउने अवस्थामा पनि घरमै बसेर बसेर खाना त खानु पर्यो । त्यतिबेला गर्दा ठूला–ठूला सबै व्यवसायहरू बन्द भए अनि होम डेलिभरी मोडेलका व्यवसाय चल्न थाले । त्यहिँबाटै हामी माथि उठ्यौं, व्यवसाय पनि थप फस्टायो ।
अहिले कति जनालाई रोजगारी दिनुभएको छ ?
अहिले आंशिक र पूर्णकालीन गरेर मेरो व्यवसायमा २ सय जना जतिले काम गरेका छन् । जसमा ७५ प्रतिशत नेपाली छन् ।
व्यवसायमा तपाईंले गरेको सफलता आँट, योजना वा भाग्य के कारणले भएको निष्कर्ष निकाल्नुभएको छ ?
यो सबैको समिश्रण नै हो मेरो विचारमा । आँट त हुनुपर्यो । योजना पनि हुनुपर्यो । अब भाग्य छ भनेर त्यतिकै बसेर त हुँदैन । योजना बनाएर आँट गरेर अगाडि बढ्दा भाग्य पनि चाहिन्छ ।
तपाईंले अन्य व्यवसायमा पनि लगानी गर्नुभएको छ, सबैलाई सँगसँगै लैजाने विचारमा हुनुहुन्छ ?
हो, अहिले आएर मैले जाने कि कति धेरै कुराहरू अरुसँग मिलेर गर्न सकिन्छ । पोर्टफोलियो डाइभर्सिफाई भन्छ हैन ? अब त्यस्तै केही गर्ने प्लानमा छौं ।
तपाईं बेलायतमै सन्तुष्ट हुनुहुन्छ ?
अहिले चाहिँ सन्तुष्ट छु । मेरो परिवार सबै पनि यहीँ छन् । त्यहि भएर अब जता बस्यो त्यतै रमाइलो हुन्छ तर, नेपालमा भने अर्कै खालको सन्तुष्ट प्राप्त हुन्छ ।
के नेपाल फर्केर केही गर्ने विचार पनि गर्नुभएको छ ?
अब हेरौँ, हामी अब धेरै वर्ष नेपाल बसेका छैनौं । यहाँको सिस्टम अलिअलि फरक हुँदो रहेछ तर, बुझ्दै छु । मैले नेपाल आएको बेलामा केही गर्न सकिन्छ कि भनेर हेर्ने गरेको छु । केही पोटेन्सियल विकल्प छ भने लगानी गर्ने योजनामा छु ।
पछिल्लो समयमा फ्रेन्चाइज मोडेल आवश्यकता जस्तै भइसक्यो । ट्रेन्ड पनि बनेको छ, नेपाली युवाहरूले यसबाट के सिक्ने ?
फ्रेन्चाइज बिजनेसलाई हामीले के बुझ्नु पर्छ एउटा सिस्टम हो । बिहान गएर काम गरेर बेलुका घर फर्किने बिजनेस हैन । सिस्टममा तपाईं इन हुनलाई सजिलो हुन्छ । त्यसैले फ्रेन्चाइज मोडल बढी सफल भएको पाइन्छ । र यो ट्रेन्ड पनि हो । हामीलाई पहिला–पहिला फ्रेन्चाइजको सिस्टमको बारेमा जानकारी थिएन ।
नेपालमा विदेशको तुलनामा अझै फ्रेन्चाइज चलेको छैन । अब चाहिँ हुनुपर्छ जस्तो लाग्छ । अब बिजनेस एक्सपान्ड गर्ने र ठूलो स्केलमा गर्ने एउटा मात्रै सजिलो उपाय फ्रेन्चाइज मोडेल हुनसक्छ ।
फ्रेन्चाइज सिस्टम बनाउन समय चाहिन्छ र मेहनत पनि गर्नुपर्छ । जब सिस्टम भएपछि कपी पेस्ट मात्रै गर्ने हो ।
नेपालमै केही गर्न चाहने युवाहरूलाई के भन्न चाहनुहुन्छ ? कस्तो आँटले कसरी सफल हुन सकिन्छ ?
आफूलाईं मन पर्ने फिल्ड छानेर एकदम लगनशील भएर कामले मागेको भन्दा बढी विशेष समय दिएर मेहनत गर्यो भने अथवा पैसा कमाउने नभएर काम सिक्ने तरिकाले गरियो भने सफलता प्राप्त गर्न सजिलो छ ।
अर्को, आफ्नो कम्युनिटी नेटवकिङ पनि महत्वपूर्ण विषय हो । तपाईंसँग व्यावसायिक योजना छ र केही गर्ने इच्छा छ भने अहिले सबैभन्दा सजिलो समय व्यवसाय गर्ने हो । पहिले भन्दा अहिले प्रविधि पनि गतिशील छ, जे चाहे पनि अनलाइनमा पाउन सकिन्छ । अब एआईको समय पनि आयो, एआईबाटै धेरै जानकारी र सहयोग लिएर पनि काम गर्न सकिन्छ ।