
काठमाडौं : आफ्नो देशमा कामदार पठाउन पॉच वर्षमा कम्तिमा ३ मुलुकमा ३ हजार कामदार पठाएको हुनु पर्ने मापदण्ड बनाउने मलेसियाले आफुले भने एक वर्षको अवधिमा ३ लाख २० हजारको हाराहारीमा विदेशी कामदार घटाएको छ । गत अक्टोबर १५ सम्ममा मलेसियामा कुल २१ लाख ३२ हजार ५ सय ७८ वैधानिक रूपमा दर्ता भएका विदेशी कामदारहरू रहेका छन् । गत वर्ष अक्टोबरमा उक्त संख्या २४ लाख ५२ हजार १० रहेको थियो । प्रतिशतका हिसाबले यो संख्या १३ प्रतिशतले कमी हो ।
मलेसियाका उप–मानव संशाधनमन्त्री अब्दुल रहमान मोहम्मदले यो गिरावटले सबै क्षेत्रहरूमा विदेशी कामदारमाथिको निर्भरता घटाउन सरकारको निरन्तर प्रयास सफल भएको देखिएको बताए ।
म्यानुफ्याक्चरिङ क्षेत्रमा ६ लाख २२ हजार ३ सय ८८, कन्स्ट्रक्सन क्षेत्रमा ५ लाख ८९ हजार ६ सय ८४, सेवा क्षेत्रमा ३ लाख ९० हजार ६ सय ७, प्लान्टेसन क्षेत्रमा २ लाख ६३ हजार १ सय ३१, कृषि क्षेत्रमा १ लाख ५८ हजार ६ सय २८, घरेलु कामदार १ लाख ७ हजार ३ सय ७५ र खानी तथा उत्खनन क्षेत्र ७ सय ६५ जना विदेशी कामदार रहेका छन् ।
मन्त्री अब्दुल रहमानले विदेशी कामदारहरूको भर्ना हाल निर्माण, सेवा, वृक्षारोपण, कृषि, खानी र उत्खनन गरी ६ वटा मुख्य औपचारिक क्षेत्रमा सीमित रहेको र अनौपचारिक क्षेत्रमा विदेशी घरेलु सहयोगीहरूलाई मात्र अनुमति दिइएको बताए ।
उनले स्थानीय कामदारहरूको भर्नालाई प्रोत्साहन गर्न विशेष गरी अर्धदक्ष र दक्ष क्षेत्रहरूमा धेरै पहल सुरु गरिएको बताए ।
उनले २०२३ मार्च १८ मा नयाँ विदेशी कामदार कोटा र आवेदनहरूका लागि स्वीकृतिहरू रोक्ने सरकारको निर्णयलाई कायम राख्दै २०२६ देखि सुरु हुने बहुस्तरीय लेवी संयन्त्र लागू गर्ने बताए ।
उनले स्थानीय कार्यबल वृद्धि र पुनः सीप बढाउन एचआरडी क्रोप, ट्यालेन्ट ग्रुप र सामाजिक सुरक्षा संगठन (प्रसकेसो) जस्ता एजेन्सीहरूमार्फत स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको सहकार्यमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमहरूको कार्यान्वयनलाई पनि बलियो बनाउँदै लगेको बताए ।