सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसभित्र स्थानीय चुनावबारे भिन्न मत देखिएको छ । डा.शेखर कोइराला समूहको सोमबार छुट्टै बैठक बसेको थियो । भर्चुअल माध्यमबाट बसेको बैठकमा स्थानीय तहको चुनावबारे पार्टीमा कुनै छलफल नभएको नेताहरुले बताएका छन् । पार्टीभित्र प्रष्ट धारणा नबनाइ सत्ता साझेदार गठबन्धनबीच निर्णय भएकोमा नेताहरुले आपत्ति जनाएका छन् । पार्टीप्रति प्रश्न उठ्नेगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव वैशाखमा नगर्ने निष्कर्षमा पुगेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । गएको मंसिर अन्तिम साता सम्पन्न १४औं महाधिवेशनमा प्रधानमन्त्री देउवाले डा.शेखरलाई पराजित गरेपछि एक्लौटी निर्णय हुन थालेको पनि नेताहरुको निष्कर्ष छ । भर्चुअल बैठकले गठबन्धनका कारण पार्टीलाई नोक्सान पुगिरहेको समेत निचोड निकालेको छ ।
सत्ता साझेदार दलहरुबीच सहमति जुट्न नसक्दा प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव घोषणा गर्न सकेका छैनन् । स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहको कार्यकाल आगामी ६ जेठमा सकिदैछ । संविधानले स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुने कल्पना नगरेको भन्दै विपक्षी दल नेकपा एमाले सहित सरोकारवालाले सरकारमाथि दबाव बढाएका छन् । आइतबार एमालेले बक्तव्य जारी गरेर स्थानीय चुनाव नगराउने मनसायमा सरकार रहेको आरोप लगाएको थियो । भोलिपल्टै काँग्रेसकै एउटा समूहले प्रधानमन्त्री देउवाको आलोचना गरेको छ । तर प्रधानमन्त्री देउवाले भने यसअघि जस्तै मौनता साँधेका छन् ।
प्रधानमन्त्री देउवाले स्थानीय चुनावबारे मात्रै नभएर राष्ट्रिय राजनीतिका अन्य विषयमा पनि प्रष्ट निर्णय लिन सकेका छैनन् । त्यस मध्ये सर्वोच्च अदालतको संकट अर्को प्रमुख विषय हो । गएको कात्तिकदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग सहित न्यायिक क्षेत्र आन्दोलित छ । अधिवक्ताहरुको छाता संस्था नेपाल बार एशोसिएशसन चरणबद्ध आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग इजलासमा साझेदारी गरेका छैनन् । जसको कारण संवैधानिक इजलास, संवैधानिक परिषद जस्ता महत्वपूर्ण निकाय सञ्चालनमा आउन सकेको छैन । तर प्रधानमन्त्री देउवाले यसबारे पार्टीको धारणा सार्वजनिक गरेका छैनन् । व्यक्तिगत अभिव्यक्तिका भरमा प्रधानमन्त्री देउवा पञ्छिने गरेका छन् । अमेरिकी सहायता परियोजना एमसीसीबारे पनि काँग्रेस अनिर्णित छ । अर्थात् प्रधानमन्त्री देउवा राष्ट्रिय राजनीति र पार्टी सञ्चालनमा सधैं अल्मलमा देखिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies