
काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
सरकार गठन भएको नौ महिना बितिसक्दा पनि मुलुकको अवस्था सुधार हुन नसकेको उल्लेख गर्दै उनले न्यायपालिका, व्यवस्थापिका र प्रहरी प्रशासन कमजोर बनाइएको दाबी गरेका हुन् । काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारीमा त्रासको वातावरण रहेको र सयौँ कर्मचारीले राजीनामा दिएको बताए ।
कानुनी राज्यको अवधारणा विपरीत व्यक्तिगत शासनको अभ्यास भइरहेको उनको आरोप छ । खतिवडाले पछिल्लो समय नागरिकले आफ्ना विचार र असहमति खुलेर व्यक्त गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताए । सरकारविरुद्ध नारा लगाउने व्यक्तिलाई समेत दबाबमा पारेर बयान दिन लगाउने अवस्था आएको उनको भनाइ छ ।
उनले भने, ‘न्यायपालिका र व्यवस्थापिका मात्रै होइन, प्रहरी प्रशासन ध्वस्त भएको छ । कानुनी राज्यका ठाउँमा व्यक्तिगत राज्य र संविधानले नचिनेका मान्छेले राज्य गर्ने क्रम विकास भएको छ । हामी बोल्न डराएका छौँ । गुरु लुइँटेल भइन्छ कि भनेर डराएका छौँ । अहिले कुनै व्यक्तिले मुर्दावाद र जिन्दावाद भन्यो भने कालोपट्टि लगाएर यसका विरुद्धमा बयान दे भन्ने अवस्था आएको छ ।’
सहमहामन्त्री खतिवडाले संविधान निर्माण गर्दा शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए ।