२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

१४औँ किन्डर ओलम्पिकको पहिलो चरण सम्पन्न, २० विद्यालयका ९०० बालबालिका सहभागी

Nada
२०८३ मंसिर १२ गते १७:४७
Shares
१४औँ किन्डर ओलम्पिकको पहिलो चरण सम्पन्न, २० विद्यालयका ९०० बालबालिका सहभागी

काठमाडौं : काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४औँ किन्डर ओलम्पिकको पहिलो चरणका खेलकुद गतिविधि सम्पन्न भएका छन् । दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ विधाका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकताका प्रतिनिधिहरूले संयुक्त रूपमा बेलुन उडाएर गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै डंगोलले सानै उमेरदेखि बालबालिकाले यस्ता खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनु सकारात्मक भएको बताइन् । उनले कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएका विद्यालय, अभिभावक तथा आयोजक संस्थाप्रति आभार व्यक्त गरिन् ।

एकताका अध्यक्ष सुवर्ण केशरी महर्जनले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद महत्त्वपूर्ण माध्यम भएको बताए । बालबालिकाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै संस्थाले हरेक वर्ष किन्डर ओलम्पिक आयोजना गरी उनीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको उनको भनाइ थियो । उनले कार्यक्रममा बालबालिकालाई सहभागी गराउने सम्पूर्ण विद्यालय तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रम संयोजक बिना शर्माले कुनै अवरोधबिना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, एकताका सदस्य, विद्यालय परिवार, अभिभावक, समन्वयकर्ता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा बालबालिकाले विभिन्न खेलकुद पोसाक, विद्यालयका ब्यानर, खेलसम्बन्धी प्लेकार्ड तथा विविध संस्कृति झल्काउने भेषभूषासहित आकर्षक परेड प्रस्तुत गरेका थिए । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ‘जहाँ सुनका बाला झुल्छन्’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी तेक्वान्दो, हुलाहुप, पिटी, जिम्न्यास्टिक, मार्सल आर्ट र जुम्बालगायतका सामूहिक खेल तथा शारीरिक अभ्यास प्रदर्शन गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत दुई ट्र्याक र १६ लेनमा व्यक्तिगत खेलहरू सञ्चालन गरिएका थिए। सहभागी बालबालिकालाई गोल्ड मेडल प्रदान गरिएको थियो । संस्थापक सदस्य लिना श्रेष्ठ र सदस्य अर्चना भण्डारीले ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण छ’ भन्ने मूल सन्देशले बालबालिकामा खेल भावना, आत्मविश्वास र सहभागिताको महत्त्व अभिवृद्धि गर्ने बताए ।

कार्यक्रमको समापनमा सहभागी बालबालिकालाई मेडल तथा सहभागी विद्यालयहरूलाई शिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा उपलब्ध गराउन अल्का अस्पतालको टोलीले हेल्थ डेस्क सञ्चालन गरेको थियो ।

बालबालिकाको प्रतिभा प्रस्फुटन, खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आयोजना हुँदै आएको किन्डर ओलम्पिकले १४औँ संस्करणसम्म आइपुग्दा बालबालिकाका लागि महत्त्वपूर्ण खेलकुद मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर