२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागिता हुनुपर्नेमा जोड

Nada
२०८३ मंसिर १२ गते १८:४४
Shares
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गरेकी छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको साझा उत्सव भएकाले खेल अवलोकनका लागि आउने सबै वर्गका नागरिकको सहज सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन् । उनले प्रतियोगिता स्थलमा आवश्यक व्यवस्थापन र पहुँचमैत्री वातावरण निर्माण गर्नसमेत जोड दिइन् ।

कर्णाली प्रदेशकी छोरीका रूपमा आफ्नै प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री बादीले प्रतियोगिताका कारण कर्णालीमा उत्सव र पर्वको जस्तै माहोल सिर्जना भएको बताइन् । उनले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने आयोजक, खेलाडी, सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोभिता गौतम तथा कर्णाली प्रदेशका मुख्यमन्त्रीको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनपछि मन्त्री बादीले प्रतियोगिता सञ्चालन भइरहेको खेलमैदानको अवलोकन गर्नुका साथै बक्सिङ खेल प्रत्यक्ष रूपमा हेरेकी थिइन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा राष्ट्रियस्तरमा प्रदेशको पहिचान प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर