महोत्तरीको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जना भन्दा बढीलाई बौलाहा कुकूरले एकै दिन टोकेर घाइते बनाए । एकै दिन यति ठूलो संख्यामा बौलाहा कुकूरबाट मानिस घाइते भएपछि उपचारमा समेत समस्या देखियो । जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि जनकपुर अस्पताल पठाइएको छ ।
जिल्ला अस्पतालमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म कुकुरले टोकेका बिरामी धमाधम आउन थाले । तर, अस्पतालमा कुकूरले टोकेपछि लगाउने सुई एआरभी र इमयुनोग्लोबलिन थिएन । त्यसपछि जिल्ला अस्पताल आउने सबै बिरामीलाई जनकपुर अस्पतालमा रिफर गरियो । बौलाहा कुकूरले टोकेर घाइते हुनेमा मनरासिस्वा नगरपालिकाका मात्रै २० जना छन् । बौलाहा कुकूरको आतंक नै भएपछि जिल्ला प्रहरी कार्यालयले २० जना प्रहरी परिचालन गरेको छ । प्रशासनले कुकूरलाई गोली प्रहार गरेर मार्न प्रहरीलाई निर्देशन दिएको छ । यसको अर्थ महोत्तरी एकाएक बौहाला कुकूरको आतंकबाट पीडित बन्न पुग्यो ।
उता, नेपालगञ्ज उपमहानगरपालिका छाडा गाईका कारण सिर्जित समस्याबाट मुक्त हुन सकेको छैन । छानबिन समितिले प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ । नेपालगञ्ज मात्रै नभएर पश्चिम तराईको प्रमुख समस्या छाडा गाई बनेको छ । छिमेकी भारतबाट ठूलो संख्यामा आएका र किसानहरुले बुढो भएका गाईगोरु धपाएकाले यस्तो समस्या सिर्जना भएको हो ।
यस्तै पहाडी क्षेत्रको प्रमुख समस्या बाँदर बनेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि किसानहरुले खेतीबाली नै लगाउन छाडेका छन् । पहाडी क्षेत्रको जमिन लगभग उत्पादनहीन बन्दै गएको छ । बाँझो जमिनको संख्या बढिरहेको छ । नेपालको अर्थतन्त्रमा यसबाट ठूलो क्षति पुगेको छ ।
राजधानी उपत्यकामा समेत छाडा गाईदेखि भुस्याहा कुकूरले हैरान खेलाएको छ । रेबिज विरुद्धको सुई लगाउने टेकूमा दिनहू लम्बेतान लाइन घटेको छैन । झन् बढेर गएको छ । जंगली हात्ती र बाघजस्ता संरक्षित जनावरको आक्रमणमा ज्यान गुमाउनेको समाचार सुनिन छोडेको छैन । यी सबै घटनाक्रमहरुले प्रष्ट पार्ने विषय भने नेपाली जनताको प्रमुख समस्या जनावर बन्दै गएको छ । जनावरकै कारण मानिस पीडित मात्रै होइन, उठिबास हुनुपर्ने देखि ज्यान गुमाउनुपर्ने अवस्था समेत बनिसकेको छ । यसबारे एकाध सांसदहरुले संसद मार्फत् सरकारको ध्यानाकर्षण गराएको देखिन्छ । तर, दीर्घकालीन समाधानबारे केही पहल चालिएको छैन । सरकारले भुल्न हुन्न– मानिस सिद्धिएर जनावर जोगाउने भन्दा दुवै सुरक्षित हुने बाटो अवलम्बन गर्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies