काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगार वचतपत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । मंगलबारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौ विश्व सम्मेलनको उद्घाटनपछि आयोजित आर्थिक उन्नतिका लागि स्रोतहरुको परिचालन विषयक कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालमा गैर आवासीय नेपालीका लागि लगानीका धेरै आकर्षक क्षेत्रहरु रहेको भन्दै वैदेशिक रोजगार बचतपत्र पनि आकर्षक लाभको क्षेत्र भएकाले उक्त बचतपत्र खरीद गरेर लगानी गर्न आग्रह गरे ।
उनले भने, ‘वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा गएका कामदारहरुलाई लक्षित गरी सरकारले ल्याइएको हो । कामदारहरु सरकारको उक्त कार्यक्रम प्रति आकर्षित नभएपनि वैदेशिक रोजगार बचत पत्रमा गरिएको लगानीले वार्षिक रुपमा आकर्षक प्रतिफल दिन्छ, त्यसैले गैर आवासीय नेपलाीहरुले वैदेशिक रोजगार वचतपत्रमा लगानी गर्न उपयुक्त हन्छ ।’
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्धेश्यले विगत ९ वर्षदेखि वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न वार्षिक १० प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको छ । तर बचतपत्र योजनअनुसार विक्री हुननसकेको राष्ट्र बैंकले जनाएको छ । कतिपयले रोजगारीमा रहेका युवाहरुमा बचतपत्रमा लगानीको लाभबारे जानकारी नभएका कारण उनीहरुको आकर्षण नबढेको बताउँछन् । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रमा लगानी नभएका कारण रेमिट्यान्स लगानीमा रुपान्तरण हुनुको सट्टा उपभोगमा खर्च भई सदुपयोग हुन नसकेको टिप्पणी गर्ने गरेको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपलाी कांग्रेसका नेता डा. राम शरण महत, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकाल, लगानीका लागि व्यवसायिक प्रवर्द्धन (सीएनआइ)का अध्यक्ष सतिस कुमार मोर लगायतले गैर आवासीय नेपालीहरुले जलश्रोत, भौतिक पूर्वाधार, व्यवसायिक कृषि, पर्यटन क्षेत्रमा व्यक्तिगत लगानीका साथ साथै सामूहिक लागनी सुरक्षित र लाभदायी रहेको धारणा राखेका थिए ।
उनीहरुले सन् २०३० सम्म मध्यम आय भएको मुलुकको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेकोले लगानी मैत्री वातावरण बनाउनुको विकल्प नरहेकोमा जोड समेत दिएका थिए । त्यसअघि धारणा राख्ने गैर आवासीय नेपालीहरुले दुई वर्ष अघिबाट अभ्यास प्रारम्भ भएको संघीयताले करको दर बढाएका कारण नेपालमा लगानी आकर्षित हुन नसकेको गुनासो राखेका थिए । त्यसअघि उद्घाटन सत्रमा संघका अध्यक्ष भवन भट्टले सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी आफुहरुको प्रथम लक्ष्य रहेको धारणा राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies