– बलराम तिमिल्सिना
उसले भन्यो– जातलाई नउचाल
ऊ पक्कै जातलाई थिचिराख्ने हुनुपर्छ
यसो भन्ने मान्छे पनि
पक्कै कुनै जातकै हुनुपर्छ
यसो भन्ने मान्छेले
कैयन जातलाई दबाएको हुनुपर्छ
र ती जातिहरूलाई उचाल्दा
उसको जातलाई अप्ठेरो हुनसक्छ
त्यसैले आफ्नो सजिलोको लागि
उसले जातलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले फेरि भन्यो–
धर्मलाई नउचाल
यसो भन्ने मान्छे पनि
कुनै एउटा धर्म मान्ने हुनुपर्छ
सम्भवतः उसले मान्ने धर्म
यो देशको राज्य–धर्म
या सो सरहको हुनुपर्छ
उसको धर्मले युगौँदेखि
अरु धर्मलाई ङ्याकेको हुनुपर्छ
त्यसरी अरुलाई ङ्याक्न पाउँदा
यसो भन्ने मान्छेलाई मजा आएको हुनुपर्छ
अरु धर्मलाई उचाल्दा
उसले ङ्याकिरहेका धर्म माथि पर्ने
या उसको धर्म बराबर हुने खतरा देखेको हुनुपर्छ
त्यसैले उसले धर्मलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले अन्तिममा भन्यो–
अरु कुरा छोड वर्गका कुरा गर
यसो भन्ने त्यो मान्छे पनि
एउटा वर्गको अनिवार्य हुनैपर्छ
उसको आदेश निर्देशको छाँटकाँट हेर्दा
ठाँटबाँठ सबै हेर्दा
पुख्र्याैली हिसाबले नभए पनि
ऊ कुनै पुँजीपतिको छाउरो हुनुपर्छ
या त तस्कर, या त घूसखोर
या त दलाल, व्यापारी
या त नोकरशाह हुनुपर्छ
उसले अरु वर्गका कुरा नगर
केवल पुँजीपतिका गर भन्न खोजेको हुनुपर्छ
केवल पुँजीपतिको सेवा गर भनेको हुनुपर्छ
सबै सबै कोणबाट हेर्दा
उ मजदुर र किसान चुस्ने जुकै हुनुपर्छ
तर बेकारमा लफडामा परिएला भनेर
वर्गका कुरा मात्र गर भनेको हुनुपर्छ
सायद जात र धर्मका कुरा
मानिसहरूले झट्टै बुझ्ने
र वर्गका कुरामा अलमलिने भएकोले
उसले वर्गका कुरा गरेको हुनुपर्छ ।
म सोचिरहेको छु
पुँजीपति वर्गको सत्ता ढालौँ
र सर्वहारा अधिनायकत्व कायम गरौँ
केही गरी हामीले यसो भन्यौ भने
यसरी वर्गका झर्रा कुरा ग¥यौं भने
भर्खरसम्म वर्गका कुरा मात्र गर भनिरहेको मान्छे
हामीले वर्गकै कुरा गर्दा
अझ बढी रिसाउने छ र हुन सक्छ
पक्कै बन्दुक लिएर आउने छ ।
काठमाडौंः प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’मा उनलाई सम्मान गरिएको हो ।
सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणमणि हार्तम्छालीले प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको बताए । उनले भने, ‘काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको बताए । उनले भने, ‘कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञलाई अन्यथा नलिन र रचनात्मकरुपमा मात्रै लिन अनुरोध छ ।’
कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको बताए । उनले भने, ‘सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतीलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’
कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको भनि दुखेसो व्यक्त गरे । उनले भने, ‘कार्टुनिस्ट पेसा लोपन्मुख हुन थालिसक्यो यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।’
बाह्रखरी डट कम अनलाइनका कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टहरुले आफ्नो परिचय नपाएको बताए । उनले भने, ‘प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टिकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेर मात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ ।’
–शुक्रराज कुँवर
रेशम चौबीस वर्षीय युवा, आधुनिक रहनसहनमा अभ्यस्त । उ पनि २०÷२२ दिनदेखि घरमै बन्धक थियो । दुई/चार दिन त अटेरी गरेर बाहिर नगएको पनि होइन तर, पुलिसको भाटा बचाएर भाग्न सफल भएको मान्छे पनि हो, त्यसैले उ घरमा बस्न बाध्य थियो । खासमा त उ मान्छे अटेरी नै हो ।
घरमा बस्दा–बस्दा उ आफूले बिताएका रमाइला क्षणहरू सम्झन पुग्छ । एक÷एक गरेर ‘गलफ्रेण्ड’ सँग बिताएका रमाइला क्षणहरू एकपछि अर्को गर्दै उसको आँखा अगाडि झलझली नाच्न थाल्छन् । उ आफै पनि सलक्क मिलेको जीउडाल परेको कम्ता ‘हेन्डसम’ थिएन । त्यसैले केटीहरू उप्रति हुरुक्क हुन्थे । डेटिङ जाने नाइट क्लब धाउने, नाच्ने, गाउने डिस्को पार्टी आदि नियमित क्रियाकलाप नै थिए उसका लागि । तर, पनि यो एउटा स्वास्थ्य मनोरञ्जन मात्र थियो, त्यस्तो कुनै उच्छृङ्खल व्यभिचार केही थिएन ।
अनिश्चितकालीन लकडाउन र निषेधाज्ञाले उसको दैनिकी नराम्रो गरी बिगारेको थियो । आफ्ना सबै केटी साथीहरूसँग भिडियो च्याटमा गफिनु बाहेक अन्य कुनै उपाय थिएन । दिनहुँजसो एउटै दैनिकी एकदमै अत्यास लाग्दो थियो उसका लागि । कोही राम्रा केटी मान्छेको रूप नदेखेको पनि धेरै भइसकेको थियो । एकदिन साँझपख उ टहल्दै घरको छतमा पुग्यो, चिसो हावा सरर चलिरहेको थियो, हल्का रोमान्चित पनि भयो । यसो टहल्दै गर्दा उसको नजर पल्लो घरकी रेश्मा माथि पर्न गयो ।
रेश्मा उसको बाल्यकालदेखिकै साथी, सँगै खाँदै खेल्दै हुर्केको भन्दा पनि हुने । एकआपसमा तँ–तँ र म–म चल्थ्यो उनीहरूको बिचमा । आज केटीको खडेरी परेको बेला रेश्मामाथि उसको नजर अडियो । “आहा कति राम्री रेश्मा” उसको अनुहारमा चमक छायो र निकैबेर रेश्मालाई हेरिरह्यो मात्र तर, बोलाएन । राती सुत्ने बेलामा पनि रेश्मालाई सम्झ्यो, कल पनि ग¥यो छिमेकी हो, सामान्य गफगाफ भयो । कति अरु केटी साथीहरुसँग मात्र गफिनु यो उसको लागि नयांँ सिलसिलाको शुरुवात थियो ।
दिनभरी घरैमा बसिरहनु पर्ने बाध्यता । उसँग समय व्यतीत गर्ने माध्यम बन्दै थिइ रेश्मा । बेला–बेला रेश्मासँग गफ गर्नु, जिस्किनु उसको दैनिकी बन्दै गइरहेको थियो र यसमा उसलाई मजा पनि आइरहेको थियो । जानेर वा नजानेर उसलाई रेश्मा मन पर्न थालेको थियो र रेश्माको आँखा छलेर पटक–पटक रेश्मालाई हेर्नु उ अभ्यस्त भइसकेको थियो । रेश्मालाई हेरिरहुँ, देखिरहँ जस्तो लाग्थ्यो उसलाई । कता–कता माया बसे जस्तो । के यो माया हो ? आफैले आफैलाई प्रश्न गथ्यो । “हैट... छिमेकी पो हो त” पुनः सम्हालिन्थ्यो उ ।
उता रेश्मा पनि हेर्दा सोझी तर, मनकी बाठी थिई । रेशमले कति चोटि, उसको आँखा छलेर उसलाई हेरेको उसले ‘नोटिस’ नगरेकी पनि होइन । यसरी हेर्दा उसले कति पटक रेशमलाई ‘ओई के हेरेको’ भनेर भनेकी पनि हो । तर पनि उसलाई रेशमले त्यसरी हेरेको भित्र भित्रै मन परिरहेको थियो । यसरी रेशमले उसलाई बारम्बार हेरिरहँदा अरु बेलाभन्दा अलि बढी राम्री बन्न मन लाग्थ्यो र ऐना अगाडि बसेर अलिबढी सझधझ पनि गर्थी । यस्तो बेला रेशमले ‘ओई कति राम्री भाकी’भन्दा भित्रभित्र फुरुङ्ग पर्थी ।
बेला–बेला ऐना अगाडि उभिएर एकछिन र अगाडि पछाडि ओल्टिकल्टि पर्दै आफ्नो शरीर नियाल्न थाल्थी । यस्तो त उसले कहिले गरेकी थिइन । ‘साँच्चै शरीर त कसिलो सुडौल पो रहेछ’ मनमनै भनी र अलिअलि आफैसँग शर्माए जस्तो पनि गरी ।
“उफ ! यो लकडाउनले ... वल्लो घर पल्लो घर ‘लभ’ पर्ला जस्तो पो भो त । यो के भएको, देख्न हेर्न पाउनु केही छैन, त्यहीँ एउटी रेश्मा, नजिकको देउता हेला भन्छन्, आज उहीँ प्यारी लाग्दै छ, साँच्चै रेश्मासँगै बिहे भयो भने ? छि ! पल्लो घर नै ससुराली, हा हा हा... ।” यस्तै कुरा मनमा खेलाउंदै रेशम हल्का हाँसिरहेको थियो ।
“होइन किन एक्लै हाँस्छ यो ?” आमा बोलेको सुनेर झसङ्ग भयो उ ।
“होइन, होइन केही होइन, त्यतिकै”, आमालाई जवाफ फर्कायो उसले । रेश्माको पनि यस्तै हाल थियो उता । रेशमलाई सम्झिनु मुस्कुराउनु, उसकै नाममा श्रृङ्गार पटार गर्नु एउटा दैनिक ‘रुटिन’ जस्तै भएको थियो उसको लगि । “के यो प्यार हो ?” आफैले आफैलाई प्रश्न गर्थी ।
“छि छि छि,,, रेशमसँग बिहे भयो भने त,,, त्यहीँ तल्लो घर ससुराली”, सम्झेर पनि उसलाई लाज लाग्थ्यो र भन्थी “हैट यस्तो हुँदैन ।”
तैपनि वल्लो घर पल्लो घर माया बसेको कुरामा रेशम रेश्मा दुबै अनुभूत थिए । एकअर्कालाई मन पराउन थालेका थिए तर, व्यक्त गर्न सकेका थिएनन् । दुबैको आ–आफ्नो दिनचर्या चलिरहेको थियो । एक दिन रेश्मा घरको छतमा राखिएका गमलाका फूलहरू गोडमेल गर्दै थिई । उ आफ्नो काममा आफ्नै धुनमा मस्त थिई । रेशम पनि टहल्दै आफ्नो घरको छतमा पुग्यो र उसको नजर रेश्मामा प¥यो । कसिलो लुगा लगाएर आफ्नो काममा मस्त रेश्मा बिछट्टै राम्री देखिएकी थिई । काममा व्यस्त हुँदाको असावधानीले होला उसको सल सर्केर पुष्ट छाती स्पष्ट देखिरहेको थियो । रेशमले एकटक लाएर आँखा झिमिक्क नगरी रेश्मालाई हेरिरह्यो । यसो गर्नु उसको आदत जस्तै भइसकेको थियो । उसले यसरी हेरिरहेको रेश्माले थाहा पाई र लजाएर सम्हालिदै भनी “ओई के हेरेको ?”
“हैन हैन तँ राम्री देखिएकी छस् अनि त्यहीँ भएर तँलाई हेरेर ‘आँखाको विष’ मारेको नि” ठट्यौलो पारामा जिस्किदै रेशमले भन्यो ।
प्रेमको मामलामा पुरूषको तुलनामा नारीहरु अलि बढी गम्भीर हुन्छन् । रेशमसँग प्रेमको आँकुरा झाङ्गिन खोज्दै थियो । उसको अकस्मातको यस्तो हरकतले रेश्मा लज्जित भई र धारे हात लाउँदै आक्रोश व्यक्त गरी “थुक्क.. तँलाई बजिया ।”
रेशम हाँस्दै खितखिताउँदै तल बैठक कोठा तिर गयो ।
तर, त्यहाँ अर्को अचम्म देख्नु प¥यो । ‘कोभिड–१९’ले निम्त्याएको लकडाउनको प्रभाव सबै तप्काका व्यक्तिहरूलाई उस्तै गरी परेको रहेछ । उसको पूजनीय पिताजी समेत झ्यालबाट चियाएर तल्ला घरे आन्टीलाई हेर्दै आँखाको विष मारिरहेका थिए ।
–अच्युतमान सिंह प्रधान ‘उत्सुक’
हिन्दु नेपालीहरूको महान चाड हो, दशैं ।
खुसी, हर्ष र उमङ्गको पर्व हो, दशैं ।
शरद ऋतुको आगमन लिएर आउँछ, दशैं ।
सबै नेपालीहरूको घर दैलोमा आउँछ, दशैं ।
भएका छन् खुशी सबै, महान चाड दशैंको आगमनले ।
छाएका छन् मधुर मुस्कान, सबै नेपालीको मुहारमा ।
भएका छन् चहलपहल दशैंको, गाउँ होस् या शहरमा ।
सबै व्यस्त छन्, घरआँगन सफाइ गर्न र सजाउनमा ।
भीड भाड छन्, पसल, सपिङ्ग मल आदि जहाँ तहीँ ।
सजिएका छन् शहर बजार सबै, दुलही सरी ।
भरिएका छन् बजार सबै, नयाँ–नयाँ लुगा लत्ता कपडा आदिले ।
देखिन्छन रङ्गी चङ्गी चङ्गाहरू निलो आकाशमा ।
उड्छन् चङ्गा माथि–माथि आकाशमा ।
लामो छुट्टी हुन्छ दशैंको स्कुल, कलेज सबै तिर ।
त्यस्तै बन्द रहन्छन् अफिस र कार्यालय सबै तिर ।
फर्कन्छन् आफ्नो गाउँ ठाउँ परिवारसँग मनाउन, दशैं ।
विदेशिएकाहरू पनि फर्कन्छन् खुसी बोकेर ।
दुर्गा भवानीको मन्दिर जहाँ तहीँ भिडभाड हुन्छ, दशैं भरि ।
बाँधेका हुन्छन् खसी बोका, हाँस, कुखुरा घर आँगन जताततै ।
पाक्छन् मिठो र मसिनो परिकार गक्षअनुसार भान्छामा ।
मासुका अनेक परिकार पाक्छन् घर घरमा ।
रमाइलो गरी पिङ खेल्छन् पक्षीको तालमा ।
नयाँ लुगाफाटो र कपडाले सजिन्छन् सबै ।
दशैंभरि हुन्छ पुजा, भवानी दुर्गाको ।
घर–घरमा रोपिन्छ जमरा घटस्थापनाको
दिइन्छ बलि, दुर्गा भवानीलाई अष्टमी र नवमीमा ।
मान्यजनको हातबाट थाप्छौ टिका, विजया दशमीमा ।
भगवान रामले विजय प्राप्त गरेको हो यो दिन ।
दिन्छन् आशीर्वाद रातो टिका लगाई शिरमा ।
यस्तै गरी मनाउँछौ ‘दस’ दस दिनमा ।
मनाऔँ सबैले रिस द्वेष हटाई ।
मेल मिलाप र मातृत्वको भावना जगाई ।
महान् बनाऔँ दशैँलाई खुसी साटौँ टिका र जमरा लगाई ।।
काठमाडौं : बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तर्गत विजया दशमीको पूर्वसन्ध्यामा जुम प्रविधिमार्फत विशेष कवि गोष्ठी सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ रहेका थिए ।
गोष्ठीमा कविता वाचन गर्ने कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल कार्की, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी (अमेरिका), सीता अधिकारी, सरिता तुलाधर(बिराटनगर), सीता विष्ट कार्की, श्रीराम क्षेत्री, उमिककला पन्त पाण्डे, गंगा पौडेल(अमेरिका) लगायत थिए ।
वाचित कविताहरुमाथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गरेकी थिइन् । वाचित कविताहरुको मूल मर्म र उद्देश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सान्दर्भिक पनि थियो ।
समाजका उपाध्यक्ष श्रीराम क्षेत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कार्यक्रम सफलताको कामना गर्दै बूढानीलकण्ठ साहित्य समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तव्य प्रकट गरेकी थिइन भने डा. अपर्णा पोखरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गरेकी थिइन् ।
–रसुवाली कवि
जंगबहादुरको बेलायत यात्रा, ताना शर्माको बेलायततिर बरालिँदा, लैङसिङ वाङ्देलको रोमको एउटा फूल र प्यारिसको एउटा काँडा पढ्दै जीवा लामिछानेको देश देशावरसम्म आइपुग्दा नेपाली नियात्राले लामो समय पार गरिसकेको छ । यात्रा साहित्य, यात्रा निबन्ध, नियात्रा, यात्रा स्मरण जे भनेपनि नियात्रा विश्व साहित्यमा एउटा छुट्टै विधाको रूपमा स्थापित भइसकेको छ । जीवा लामिछाने नेपाली साहित्यमा अनिवार्य पढिनुपर्ने नियात्राकार हुन् । जसले जीवा लामिछानेलाई पढेका छन्, उनीहरूको लागि लामिछानेका नियात्राले अमिट छाप छोड्छ ।
जीवाको नियात्रामा आजको विश्व परिवेश मात्र हैन, हिजोको विश्व परिवेश पनि छ । विजय मल्लको चर्चित कविता ‘छोरीलाई मानचित्र पढाउँदा’ कवितामा व्यक्त भाव जस्तै जीवा लामिछानेले सम्बन्धि देशको बिगत र आगतलाई कलात्मकरूपमा वर्णन गरेका छन् ।
चितवनका ओशिला बिहानहरूमा भूँइ कुहिरोको लहर हेर्दै हुर्केका जीवा चितवनभन्दा हजारौं किलोमिटर परको आइसल्याण्ड पनि पुगेर आफ्नो सानो गाउँ पदमपुरलाई सम्झिरहन्छन् । युरोपको कुनै देशमा पुगेर उनी पौडी खेलिरहेका हजारौं मानिसहरू देख्छन् । जीवा पदमपुरनेरको सानो खोलोलाई सम्झन्छन्, बाल्यकालको मीठो यादमा रमण गर्छन् । चर्नलाई जहाँ–जहाँ पुगेपनि आफ्नो सानो गुडलाई सम्झिरहनु चराहरूको विशेषता हो । मलाई चराहरूको स्वतन्त्रताको प्रतीक लाग्छ । मानिसमा स्वतन्त्रताको शेष बाँकी छ । मानिसहरूले गुँड बिर्सीसकेका छैनन् । जीवा लामिछाने पनि आफ्नो थातथलो र गुँडलाई भुल्न नसक्ने नेपाली हुन् । उनमा आफ्नो माटोप्रेमको भावना प्रवल छ ।
जीवा लामिछानेलाई म माटोप्रेमी र देशभक्त भन्न रुचाउँछु । राष्ट्रवादी सोच सधैं महान् हुँदैन भनेर मैले जीवा लामिछानेबाट नियात्राहरूबाट सप्रसङ्ग थाहा पाएको हुँ । जर्मनका हिटलर त्यसैका उदाहरण हुन् । युगाण्डाका दादा इदी अमिन अर्का उदाहरण हुन् । एउटा सन्की शासक समाजका लागि कति घातक हुन्छ देश देशावरमा संग्रहित यात्रा निबन्ध ‘युगान्डा : बिर्सन खोजेको इतिहास’ पढ्दा स्पष्ट हुन्छ ।
रुवाण्डाको दारुण कथा छ । ‘कङ्काल सम्याएर उभिएको विकास’ शीर्षकको निबन्धमा । रुवाण्डाको ती बिर्सन नसकिने सय दिन र दस लाख मान्छेको सहादतको कथा पढ्दा आङ्ग सिरिङ्ग हुन्छ । अविकसित समाजमा कसरी शासकहरूले जति जातीय घृणाको वीष वृक्ष रोप्छन्, त्यति नै त्यो मानवताको लागि घातक हुन्छ । देशा देशावरको पहिलो यात्रा निबन्धमा त्यसको वर्णन छ ।
अफ्रिकी देशहरू विकासका हिसाबले पछाडि परेका छन् । त्यहाँको प्राकृतिक स्रोत साधनमाथि हैकमवाला राष्ट्रको नजर पर्नु स्वाभाविक पनि हो । हामी सोपानतन्त्रको अनुभुति गरेकै छौं । डरलाग्दो कुरा, अफ्रिकी समाजमा राष्ट्रवाद र फरक जातीप्रतिको घृणाले युद्ध जन्माएको छ । धेरै मानिसहरूको ज्यान गएको छ । जीवाले एकदम सरल ढंगले त्यो समय करुण व्याख्या गरेका छन् । अफ्रिकी देशहरूको हाल पढ्दा हाम्रो समाजको याद आउँछ । यहाँको अविकासको झल्को आउँछ ।
वैज्ञानिक निकोला टेस्लालाई गर्व मान्ने क्रोएसियाले कप्तान लुका मोडरिचलाई आदर्श मान्छ । क्रोएसियाको नाम नसुनेका धेरै फुटबलप्रेमीहरूले लुका मोडरिचलाई चिन्न पाएका छन् । विश्वकपमा गोल हानिरहेका उनै लुकाको नाम सुनेर त्यहाँ जान उत्साहित जीवा छोरा अनुरागको व्यवस्थापनमा क्रोएसिया पुग्छन् । त्यहाँको इतिहास, संस्कृति र जीवनपद्धतिको मिठो व्याख्यासहित यात्रा निबन्ध लेख्छन् ‘क्रोएसिया ः सौन्दर्यको जादु ।’ उनलाई क्रोएसियाको निकुञ्ज घुम्दै गर्दा फेवातालको याद आएको छ ।
जीवा लामिछानेको नियात्रामा निजत्व र शैलीमा उत्कृष्टता पाइन्छ । ‘मुन्तिर आगो र मास्तिर हिउँ’ शीर्षकमा आइसल्याण्डको व्याख्या छन् । यही नियात्रा उनले गरेको व्याख्या बडो मिठो छ । उनी लेख्छन्, “कुरा जाडोको मात्रै थिएन । किनभने हिउँदमा मस्कोको चिसो माइनस ३५ डिग्रीसम्म भोगेको मलाई अनुभव छ । डिसेम्बरदेखि मार्चसम्म रुसका अधिकांश इलाकातिर यस्तो ठण्डी चलिरहन्छ । एक समय माइनस २०/३०डिग्री जाडोको पर्वाह नगरी हामी भुमिगत रेलबाट बाहिरिए लगत्तै पसल खोल्न हिउँ टेक्दै हतारहतार कुदिँरहेका थियौं ।”(देश देशावर पेज ६८ )
आइसल्यान्डको आगतबारे यस नियात्रामा रोचक व्याख्या छ । एउटा विकसित देश जहाँ विधिको शासनको अनुभुति छ । अपराधीक गतिविधि नै शून्यप्रायः रहेको देशको चित्रण पढ्दा अफ्रिकी देशहरूलाई लागेको गहिरा घाउहरू नसम्झूँ जस्तो लाग्छ । पर्यटनले एउटा देशलाई उचाई दिएको थियो । मान, प्रतिष्ठा दिएको थियोे । तीन लाख पचास हजार जनसंख्या रहेको यस देशमा दशौं लाख पर्यटक घुम्न आउँदा रहेछन् । यो नियात्रा पढदा नेपालमा पनि किन ठूलो मात्रामा पर्यटन आएनन् होला भनेर सोचमग्न होइन्छ ।
उच्च कोटीको मनोरञ्जन स्थल मानिन्छ लस भेगास । जीवा लामिछाने १४ वर्षपछि जापान निवासी व्यवसायी महेश श्रेष्ठ, बेलायतका हेमराज शर्मा, र जर्मनीका कुमार पन्तसँगै लस भेगास पुगेका छन् । कुमार पन्तसँग नियात्राकारलेधेरै भ्रमण गरेको देखिन्छ । लेस भेगास पुगेका जीवालाई भद्दा मनोरञ्जन मन पर्दैन । उनकै भाषा ‘जुवाको खाल, बारमा होस गुमुन्जेल पिउने बानी नृत्यको उताउलो भाव भावभङगिमा, कर्कश संगीत र अस्तव्यस्त जीवन’ (पेज ९१) मन परेको छैन । उनले ती सबैको कुरा मिसावट वा संयोजन लस भेगासमा भेटछन् ।
जीवा लामिछाने स्कुल पढ्दाताकाको यादमा पनि फर्केका छन् ठाउँ–ठाउँमा । रेडियो नेपालको विश्व समाचारमा सुनेका देशहरू पुग्दा प्रफुल्ल भएका छन् । रेडियो नेपाललाई याद गरेका छन् । म रेडियो धेरै सुनिने अन्तिम वर्षहरू हुर्के । एफएमहरूको विकास हुँदै गर्दा नवराज लम्सालको मधुवन सुन्ने एउटा ठूलो जमात थियोे रसुवामा । छन्द कविताले समाजलाई कति ठूलो प्रभाव पारेको जमाना थियो । पछि आरआर कलेजमा मधुवन : सुन्ने सुनाउने कार्यक्रमको सिलसिलामा नै चल्यो । नवराज लम्साल त्यही भेटिए । आजको गजलमा स्थापित पुस्तालाई एउटा उत्कृष्ट मञ्च थियोे मधुवन । मदन पुरस्कार विजेता मेरो मित्र विवेक ओझालाई मैले मधुवनमा नै भेटेको हूँ । त्यो समय उनको नाम विवेक विषालु थियोे । चोटिलो गजल वाचन गर्थे । केही पछिमात्र उनी आख्यान जगतमा आएका हुन् ।
साइप्रस पुग्दै गर्दा विभाजनको कथाले जीवालाई उद्वेलित बनाउँछ । उनी पन्छीहरूको स्वतन्त्रताको कुरा गर्छन् । श्रीङका पुग्दा त्यहाँको हात्ती अनाथालय देखेपछि उनमा प्राणी प्रेमको भावमा व्यक्त हुन्छ । उनी सौराहामा पनि हात्तीको बिष्टाबाट कागज बनाएर पर्यटन बिक्री गर्दै त्यो पैसामा अनाथ हात्तीहरू व्यवस्थापन गर्न सकिन्छ भनेर सोचिरहन्छन् ।
एक ठाउँमा जीवा लामिछाने देख्छन्, “स्वार्थी राजनीतिले सिर्जना गरिरहने हिंसा रोक्न सक्ने हैसियत मेरो छैन । तर एउटा मानवको रूपमा त्यो घाइते गजराजलाइ भन्न चाहन्छु – म सबै किसिमको हिंसालाई निरपेक्ष रूपले घृणा गर्छु ।” ( पेज ११५)
उच्च मध्यम नेपालीहरूको सपनाको गन्तव्य मानिन्छ क्यानडा । यसबारे लामिछानेले ‘क्यानडा : अनेकतामा एकता’ शिर्षकमा यात्रा निबन्ध लेखेका छन् । क्यानडा एक उच्चतम व्यापारी हेनरी मिलको जीवनको उत्कर्ष र ओरालो यात्राको प्रसङ्ग छ । बेलायती महारानीबाट सर उपाधी पाएका हेनरी व्यवसायको एउटा उचाइमा पुग्छन् त्यो तासको घर झैँ ढल्छ पुग्छ र अन्तिममा आफ्नो शहर केशा लोमा नै छोडने अवस्थामा पुग्छन् । जीवन एकनास हुँदैन भनेर बुझाउन नियात्राकारले यो प्रसङ्ग लेखेको हुन कि जस्तो लाग्छ । क्यानडाका क्यान्सर बिरोधी अभियन्ता टेरी फक्सको मुर्तिमा उभिएर जीवाले मानवताको पुजारीलाई उच्च सम्मान गरेका छन् । टोरन्टो शहरबाट २८ किमि दुरीमा पर्ने नियागरा फल्स पुग्दा जीवाको मन रमाएको छ ।
कम्युनिस्ट देशमा पढेर त्यहाँको राज्य व्यवस्थालाई समेत जाने बुझेका जीवा लामिछानेको आर्थिक उदारीकरणलाई हेर्ने दृस्टिकोण सकारात्मक छ । चीन पुगेपछि उनले यात्रा निबन्ध लेखेका छन्, “चीन : जादुयी विकासको झिलिमिली ।” साङघाई भ्रमणमा बेङ्जिङको अन्तर्राष्ट्रिय बिमानस्थलको व्यवस्थापन देख्दा पश्चिमा संचारमाध्यममा आएको खबरमा जस्तो खराब वातावरण त्यहाँ थिएन । त्यहाँ प्रदुषणभन्दा हराभरा जंगल देख्दा उनी खुशी हुन्छन् । उनले देङ सियाओ पिङको आर्थिक नीतिलाई सम्झेका छन् । माओलाई ठूला नेता भनेका छन् । माओको जनताको सित्तैमा सियो पनि लिन्नु हुन्न भन्ने भनाइलाई स्मरण गरेका छन् । ग्रेटवाल हुँदै ग्वान्जाओ पनि पुगेका छन् । चीनमा उनले साङघाई, बेङ्जिङ र ग्वान्जाओको विकासलाई अनुभुत गरेको देखिन्छ ।
अर्को भ्रमणमा उनी हङकङमा रहेका नेपालीहरूलाई भेट्छन् । उनीहरूका सुख दुःखलाई बुझ्ने प्रयास गर्छन् । स्याङ्जाका मिठो भाषा उनी हङकङमै सुन्न पाउछन् । स्याङ्जाका ती वेटरबाट तीस हजार नेपाली हङकङ रहेको जानकारी नियात्राकारलाई प्राप्त हुन्छ । केही नेपाली त्यहाँबाट बेलायत सर्ने तयारीमा रहेको कुरा पनि पत्तो लाग्छ । यो भ्रमणमा जीवा लामिछानेकी जीवन संगिनी बिन्दिता पनि सँगै रहनु भएको हुन्छ ।
एउटा नियात्रा छ ‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल ।’ यस नियात्रामा बर्लिनको पर्खाल छेउमा उभिएर त्यहाँको राजनीति, संस्कृति र जीवन पद्धतिको व्याख्या गरिएको छ । गोर्बाचोभको कथा कम्युनिस्ट र गैरकम्युनिस्ट दुबैको आँखाबाट रुचिका साथ पढिएको छ । जीवाले रोनाल्ड रेगन र गोर्बाचोभको भेटको प्रसङ्ग व्याख्या गरेका छन् । रोनाल्डले ब्रान्डेन वर्गको गेटमा उभिएर भनेका थिए – मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस बाल । त्यसपछि के भयो ? हामी आफ्ना आफ्ना चस्माले हेर्न सक्छौं ।
रुसका महान् साहित्यकार लियो टोल्स्टोयको सम्म्मान लेखिएको यात्रा निबन्ध हो, ‘साहित्यको तिर्थ : यास्नाया योल्याना ।’ विशालकाय विश्व साहित्य युद्ध र शान्तिका सर्जक लियो टोल्स्टोयको अन्ना करिना पनि विश्व साहित्यको उत्कृष्ट नमुना हो । मलाई इमान इलिचको मृत्यु उतिकै बेजोड लाग्छ । मेरो र जीवाको रोजाइ मिलेको देखिन्छ । लियो टोल्स्टोयको जन्मस्थल यास्नाया योल्याना रुसको पर्यटकीय स्थलमा पर्दोरहेछ । जहाँ जीवा पटक पटक घुमेका रहेछन् । नेपाली साहित्यकारहरू कृष्ण धरावासी, अमर न्यौपाने, ध्रुवचन्द्र गौतम, गोविन्दराज भट्टराई, धनराज गिरी, आश्विनी कोइरालाहरु घुमेर फर्केका रहेछन् । जीवा लामिछानेकै कारण उहाँहरू त्यहाँ पुग्नु भएको देखिन्छ । जीवनको अन्तिम चरण घरबास छोडेर हिडेका लियो टोल्स्टोय ठूलो मौजाका मालिक हुँदा हुँदै पनि उनको जीवन उतिकै मोजमस्तिमा बितेन । उनले सामान्य मान्छेको कथा लेखे । बेश्यालयहरु पनि धाए । सोफिया आन्द्रेएभ्नासँगको प्रेमको सुखद र बिरही पाटाहरू छन् ।
एउटा रोचक नियात्रा छ बिरेन्द्र बियरसँग संवाद । मौसमअनुसार बियर उत्पादन गर्ने टुर्बिनेन ब्रयु कम्पनीले उत्पादन गरेको बियरको कारण नियात्राकार त्यस कम्पनीका मालिक आद्रीयान बेबर जुरिचलाई भेट्न पुग्छन्र रहस्य बुझ्छन् । बियर उपहार पनि पाउछन् । टिम्बुरको स्वादसहित बियर हुन्छ, बिरेन्द्र बियर । त्यो बियरको नाम बजारमा विवादमा पर्छ । मौसमअनुसार बियर उत्पादन गर्ने कम्पनीले राजा बिरेन्द्र नाममा बियर उत्पादन गरेको र बजारमा केही महिनामा बियरको स्टक रित्तिएको हुन्छ । र पनि विवाद हुन्छ ।
त्यस भ्रमणमा नियात्राकारका जीवन संगिनी बिन्दिता र छोरा अनुराग पनि हुन्छन् । जमर्नमा हिमालय र नेपालको कला कौशललाई निजी जंगलमा सजाइहेको जर्मनका हेरीबेर्ट विर्थको सम्मान लेखिएको नियात्रा हो जर्मनीमा कुँदिएको नेपाल हिमालय मण्डप ।
यस नियात्रा नेपालप्रेमी हेरीबेर्ट र उनको कला चेतलाई सम्मानमा लेखिएको छ । हेरिबर्टले नेपालभन्दा हजारौं किलोमिटर पर नेपालको झझल्को दिने प्रयासलाई नियात्राकारले सम्मानभाव व्यक्त गरेका छन् । उनको सानो जंगलभित्र नेपालको काष्ठकला, मुर्तिकला, टुँडालहरु मात्र होइन, नेपालको हिमाल पहाडमा पाइने रुखबिरुवा, जडिबुटी, परम्परागत घरहरू, ढुङ्गेधारा, कुमाले कला समेत रहेको नियात्रा पढ्दा जानकारी हुन्छ । रोचक कुरा उनले नेपालको स्वास्थ बालबालिको शिक्षा आदि क्षेत्रमा सहयोग पनि सहयोग गरेका रहेछन् ।
समकालीन नियात्रा क्षेत्रमा रुचिका साथ पढिने जीवा लामिछानेका नियात्रामा आजको विश्व परिवेश, इतिहास, जीवनपद्धति, संस्कृति, शहरको विकास, निजत्व, मानवताको भाव, विश्व बधुत्व, कलाबोध आदि पाइन्छ । हाम्रा पाठयक्रममा जीवा लामिछानेका नियात्रा राख्न सके त्यो लाभप्रद नै हुने थियोे । जीवा लामिछानेले जस्तै मौलिक नियात्रा लेख्न सके नेपाली नियात्राले निकै फड्को मार्न सक्ने थियो भन्ने कुरा देश देशावर पढ्दा बोध हुन्छ ।
–यसराज भट्टराई
म गाडी पर्खेर घर बाहिर बेञ्चमा बसिरहेको थिएँ । मेरै गाउँको एकजना आमै दोकानबाट धागो किनेर आउँदै थिइन् । “थकाई लाग्यो साह्रो !”, भनेर म बसेकै बेञ्चमा बस्न आइपुगीन । बसौँ न आमा भनेर म अली पर सरेँ ।
“बुहारीलाई जान भनेको टेरिन”, आमैले खुईई गरेर लामो श्वास फेरिन ।
“बिचरा आमाले दुःख पाउनु भएछ”, मैले थपेँ ।
उहिले नी नानी, हामीले जती दुःख आजकलका बुहारीले गर्दैनन् । बिहान तिन बजे उठाएर भकारा सोहोर्न लगाउँथे । मकै पिध्नु जाँतोमा, घाँस लिन जानु पथ्र्यो गोठमा, थला भरी गाई, भैँसी हुन्थे, काम नगरे लपटा खाइन्थ्यो ।”
“अनि आमै त्यत्रो दुःख गरेर दुध चाहिँ के गर्थे त ?” मैले सोधेँ ।
“मोही पार्थे ठूला दारका ठेकामा ।”
“अनी मोही ?” फेरी सोधेँ ।
“आँगनमा खाडल बनाएको हुन्थ्यो, त्यहि मोही हालेर नुन छरीदियो, अनि गाई भैँसी खोलीदिए पछि त्यो मोही चाटी चुटी खान्थे, अनि चरणमा छोड्नु पर्ने ।”
“ढिकी, जाँतो खाजा भुटेका मकै, कोदाका रोटी, मकैको भात खाइन्थ्यो । लुगा राम्रा लाइएन । खुट्टा पटपटी फुट्थे । जुका लाग्थे फारसमा । ए नानी आजकलका बुहारीले कहाँ गर्छन्, एक क्षण खन्न लगायो भने ढाड दुख्छ । घाममा काम गरे ज्वरो आउँछ । एक भारी घाँस ल्याए भने खाना अर्कैले पकाइदिए हुन्थ्यो भनेझै गर्छन् । चुल्हो पोत्नु छैन, लोटाउनु छैन, ग्यास छ, सुखले मातिएका छन् नी नानी आजभोलि ।”
आमैले नबिसाई भनिरहेकै थिइन् । मँ गाडी हेर्दै सुनिरहेको थिएँ ।
“बिहान भरसक नऊठुँ भनेझै गर्छन्, ईश्वर !”
लामो श्वास फेरिन आमैले । धेरै बेर सुनेपछि मैले सोधेँ, “आमै नातिनी कती बजे उठ्छीन ?”
“ए त्यो अल्छी त सुत्छेनी सात बजेसम्म ।”
“घाँस काटछिन् ?” फेरि सोधेँ ।
“हसिँया समाएको छैन अहिलेसम्म, उठेर भात खायो, स्कुल गयो, डाले छ राम्रै डाले ।”
मैले भनेँ, “आमै त्यो नातिनी पनि पछि कसैकी बुहारी हुन्छे, उसकी सासुले पनि त बुहारी अल्छिनी रैछे । काम नै नगर्ने भन्दा तपाईंलाई खुशी लाग्छ ?”
“अब अहिलेकाले कहाँ गर्छन् त हौ”, ऊहिले जस्तÞो आमैले मुख फोरिन् ।
“मैले खोजेकै त्यही थियो, आमै । तपाईंकी नातिनी पनि त पछि कसैकी बुहारी हुन्छिन् नी ! जस्तै आज कसैकी छोरी, नातिनी तपाईंकी बुहारी छन् । त्यसैले त आमै अर्काको छोरीलाई भन्नु अघि आफ्नै छोरी, नातीनी पनि त हेर्नु पर्यो नी !”
आमै छक्क परेर मलाई हेरिन् । त्यही क्षण गाडी आयो ।
“आमै मँ गए है”, भनेर गाडीमा चढेर हिँडे । कुन्नी आमै कतिबेला घर पुगीन् ? अहिले साँझमा खाना खाँदै गर्दा घाँटी खसखसायो । सायद, अहिले बुहारीलाई हेर्दै आमैले मनमनै मलाई सम्झँदै होलीन भन्ठान्छु ।
–राज कुमार राजभण्डारी ‘खोटाङ्गे’
यो दुःखीको भाग्यलाई आज कसैले लुटेको छ
आजभोलि मेरो छाती सिसा सरी नै फुटेको छ ।
आफ्नै मान्छेलाई तड्पाई तिमी गएका छौ आज
कलेजो नै छिया छिया बनी सम्बन्ध टुटेको छ ।
तिमीलाई मैले सारा मन दिए तिमीले लियौ
तर, मुटुमा ठूलै चोट पारी मन टुटेको छ ।
उसको सामु चाहेर पनि अब जान सकिन
अनेकौं बाहाना पारेर बचनले चुटेको छ ।
भौंतारिएर सहारा खोज्दै हिँडिरहेको बेला
पिर व्यथा बुझ्नेहरू साथ दिन जुटेको छ ।
–त्रिपुरा खरेल
पल्ला घरे लखन्तरे, बुढ्यौलीले
जीर्ण भएको छ
सिकुवा, मझेरी चोटाहरूसँगै
आफन्तहरू समेतका लागि
ऊ अजीर्ण भइसकेको छ
घरका आवाज कानमा ठोकिन्छ–
घरका पुराना गाडीहरू
आउटडेटेड भए रे !
ती स्क्र्यापको भाउ लागेछन्
युटिलिटीमा धकेलिएका
बुढो गोरु र गाईहरू पनि
आउटडेटेटकै लिस्टमा छन्
आराले रेटेको बुढो रुखले
रोएर धरान भिजाइसक्यो
बुढो माने स्क्र्यापमा बेचिनु ?
उसको लागि नि युटिलिटी तयार छ
घरखोते बुढो मान्छे झस्किन्छ
कलपुर्जाले चलाएको
एउट सिङ्गो शरीर उसको
घरि खुट्टा दुख्छ, हिँड्न सक्दैन
ओछ्यानमा थलिन्छ
घरि हात कक्रिन्छ
निष्क्रिय बनिदिन्छ
समयले उसलाई पनि
कचकचे बनाएको छ
शरीरका कलपुर्जा चलाउन
लुब्रिकेन्ट चाहिँदो रहेछ
अहिले पैसा सस्तो छ
सामान महँगो छ
सामानले पैसा किन्न सक्छ
पैसाले सामान किनिदैन
मक्किएका हाडजोर्नीलाई
समयको कस लागेको छ
अहिले ऊ मक्किएर
फलाम जत्तिकै भएको छ
गाडीले सर्भिसिङ्ग मागे झैँ
लसिलो झोल सुकेको शरीरले
समयसँग लुब्रिकेन्ट माग्दैछ
समय फर्किएर हेर्दैन
समयलाई उसको खाँचो छैन
समयले भट्टीमा पकाएपछि
अहिले ऊ स्क्र्याप बनेको छ
कुन बखतमा बेचिने हो ?
कहिले आफ्नो पालो आउने हो
समयलाई पर्खिरहेको छ ।
सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारमा नगद भारु २१ हजार राशिसहित स्मृति चिह्न प्रदान गरिनेछ । गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवम् वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु ११ हजार राशिसहित सम्मानपत्र र स्मृति चिह्न प्रदान गरिनेछ । संवाद सञ्जाल परिवार चयन समितिको सिफारिसमा सिन्हालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहेका छन् ।
युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् ।
कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा. सुवेदी प्राज्ञिक चेत भएका व्यक्ति हुन् । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उनको उपस्थिति रहेको छ । अराजकजस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक हुन् । सफल अनुवादकका अलावा उनी कवि, नाटककार र निबन्धलेखक पनि हुन् ।
अंग्रेजी र नेपाली भाषामा बराबर कृतिका लेखक डा. सुवेदीको मूलतः समालोचना मुख्य विधा हो । उनी नेपाली भाषामा पाश्चात्य समालोचनाका नवचिन्तनलाई भित्राउनेमध्ये एक हुन् । यसैले उनलाई नवीन चेतनाको अग्रदूत पनि भनिन्छ । डा. सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउण्ड एण्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्यांकन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् ।
यस्तै उनले अरस्तुको काव्य सिद्धान्तको नेपालीमा अनुवाद गरेका छन् । यस्तै उनले अंग्रेजी भाषामा विभिन्न फुटकर रचनाको अनुवादका अलावा ५१ कविका अंग्रेजीमा 'पोयमस् अफ द सेन्चुरी'को अनुवाद गरेका छन् । यस्तै उनका काठमाडौं ओडेसी, ड्रिम्स काठमाडौं, ड्रिम अफ पिच ब्लुसम्सलगायतका अनुवाद कृतिहरू प्रकाशित छन् ।
अर्का पुरस्कृत वरिष्ठ सर्जक एवम् अनुवादक डा. गोकुल सिन्हा सन् १९४० मा खरसाङ, दार्जीलिङमा जन्मिएका हुन् । कविता, लघुकथा, निबन्धमा कलम चलाउने डा. सिन्हाले बाइबल, गीताको नेपाली भाषामा अनुवाद गरेका छन् भने नेपाली रामायणको पहिलोपटक अंग्रेजी भाषामा अनुवाद गरेका छन् । ।
द रामायणा अफ भानुभक्त (२०१५) उनको प्रकाशित अनुवाद कृति हो । नेपाली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्ने डा. सिन्हाको बिसाइड घलिब (१९८७), टेगोर (१९९७), द कुरान (१९८०, द फर्स्ट एभर इन नेपाल), द बाइबल (२००० र २००२, इन एशोसिएसन विथ द वर्ल्ड बाइबल ट्रान्सलेसन सेन्टर) र गीता (२००८, इन झ्याउरे, अ नेपाली फोल्क मिटर) रहेका छन् । यस्तै उनले अन्य थुप्रै फुटकर रचनाहरूको पनि अनुवाद गरेका छन् । उनका विभिन्न विधाका २५ पुस्तक प्रकाशित रहेका छन् ।
यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies