तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली दूतावाससँगको सहकार्यमा कतारस्थित नेपालका बैंक तथा रेमिट्यान्स कम्पनीहरूले रेमिट्यान्ससम्बन्धी सूचना तथा जानकारी दिने उद्देश्यले दूतावासमा "डिजिटल डिस्प्ले बोर्ड" राखेका छन् । कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बिहीबार उद्घाटन गरेको बोर्डमा सेवाग्राहीहरूले आफूले कमाएको रकम भरपर्दो मध्यमबाट परिवारसम्म पुर्याउने रेमिट्यान्सको विषयमा सम्पूर्ण जानकारी दिइएको छ ।
रिया मनि ट्रान्सफर, आइएमई रेमिट तथा पे, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जिएमई रेमिट्यान्स, ईसेवा मनि ट्रान्सफर, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, हिमाल रेमिट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एमरेष्ट बैंकले गरेको डिस्प्लेमा रेमिट्यान्स भनेको के हो ? औपचारिक माध्यम भनेका के-के हुन् ? कतारमा औपचारिक माध्यमबाट रेमिट्यान्स गर्ने माध्यमहरू के-के हुन् ? औपचारिक माध्यमबाट पैसा पठाउँदा के-के फाइदाहरू हुन्छन् ? जस्ता विषय र यसका लाभहरू तथा दूतावासका केही सूचनालाई समेत प्रस्टाइएको छ ।
उद्घाटन पश्चात बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा राजदूत ढकालले नेपालको अर्थतन्त्र धानेको रेमिट्यान्सलाई अझै सरल र व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरेका थिए । रोजगारीको सिलसिलामा कतारमा रहेर पनि वैधानिक तरिकाबाट नेपालमा पैसा कसरी पठाउने जानकार नभएका सेवाग्राहीहरूका लागि रेमिट्यान्स कम्पनीहरूले गर्ने चेतनामूलक कार्यक्रममा दूतावासको सहयोग रहने ढकालले प्रतिबद्धता व्यक्त गरे । उनले रेमिट्यान्स कम्पनीका प्रतिनिधिहरूलाई आवश्यक परेको अवस्थामा सुझाव सल्लाह र छलफलका लागि दूतावास सदैव साथ रहने बताए । अवैधानिक तरिकाबाट नेपाल भित्रिने रेमिट्यान्सले राज्यलाई घाटा र सेवाग्राहीहरूलाई समस्यामा पार्ने ढकालको भनाइ थियो ।
उक्त कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले डिस्प्ले बोर्डमा एक्सचेन्ज रेट राख्नका लागि सुझाव दिएका थिए । नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबारका लागि इजाजत वा मान्यता प्राप्त कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई औपचारिक माध्यम मान्ने गरिन्छ । वैदेशिक रोजगार वा व्यापार व्यवसायबाट प्राप्त गरेको आम्दानीलाई औपचारिक माध्यम प्रयोग गरी आफन्त, साथीभाइको नाममा नेपालमा रहेको कुनैपनि बैंक खाता या मोबाइल वालेटमा रकम स्थानान्तरण गर्नुलाई रेमिट्यान्स भनिन्छ ।
काठमाडौं : सत्तारुढ तथा विपक्षी दलका सांसदहरुले रुस–युक्रेन युद्धमा करिब १५ हजार नेपाली युवाहरुको जीवन समाप्त हुने अवस्था रहेकोे भन्दै तत्काल पीडामा रहेका परिवारले उनीहरुको सम्बन्धमा जानकारी पाउने अवस्था हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद सूर्य थापा र नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले मुलुक र आश्रित परिवारलाई युद्धमा फसेका नेपालीबारे जानकारी सार्वजनिक गर्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताए ।
एमाले सांसद थापाले गत जुन महिनाको २८ तारिकमा रुस–युक्रेन युद्धमा नेपाली युवाहरु ठूलो संख्यामा भर्ति गरिएको सम्बन्धमा अमेरिकको न्युयोर्क टाइम्सले विस्तृत विवरणसहितको समाचार सार्वजनिक गरेपनि नेपाल सरकारले परिवारका सदस्यहरुलाई न श्वास, न आशको अवस्थामा पुर्याएको दाबी गरे । उनले नेपालीलाई युद्धग्रस्त क्षेत्रमा पु¥याउने गिरोहको खोजी र कारबाही गर्न पनि ढिलाइ भएको दाबी गरे ।
उनले वैदेशिक रोजगारीमा वैधानिकरुपमा श्रम स्वीकृति लिएर कतार गएका प्यूठान काठेबगरका सोमेस सुनार र स्वर्गद्वारीका लालबहादुर घर्ती दलालमार्फत रुस पुगेको विषयमा परिवारका सदस्यहरुले परराष्ट्र मन्त्रालयको कानून र उद्धार शाखामा निवेदन दिएको हप्तौं भएपनि उनीहरुको अवस्था पत्ता लगाउन कुनै पहल नभएको बताए ।
सांसद थापाले नेपाल सरकारले आफ्ना नागरिकको खोजी गरी नेपाल फिर्ता गर्ने क्षमता राख्नुपर्ने माग गर्दै भने, ‘नेपालले औपचारिकरुपमा भारत र बेलायतबाहेक अन्य देशको सेनामा आफ्ना नागरिक पठाउन नपाउने अवस्था छ, तर नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन सरकार, प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय बोल्दैनन् ?’
सांसद थापाले तत्कालै सार्थक पहल भएको अवस्थामा रुस तथा युक्रेनी सेनामा पुगेका नेपालीको सग्लो शरीर स्वदेश नफर्किने खतरा रहेको विषयमा सरकारले चासो राख्नुपर्ने माग समेत गरे ।
उता नेपाली कांग्रेसका सांसद डा. भण्डारीले सरकारका गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले रोजगारीको सिर्जना हुन नसकी देशबाट युवा पलायनको डरलाग्दो अवस्था उत्पन्न भएकाले संसदले नीतिगत हस्तक्षेपको निर्णय गर्नुपर्ने अवस्थामा देश पुगेको बताए । उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले रोजगारी सिर्जना हुने कृषि, पर्यटन तथा उद्योगका काममा लगानी हुन नसकेको विषमया सबै दल एकढिक्का भएर लाग्न ढिलाइ भएको उल्लेख गरे ।
काठमाडौं : सारदा सुवेदीसमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । बागलुङ बडिगाड गाउँपालिका घर भइ हाल काठमाडौं बागबजार बस्ने युद्ध बहादुर केसीले सारदा सुवेदीसमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन प्रतिव्यक्ति २६ लाख रुपैयाँ लाग्छ भनि ७६ लाख रुपैयाँ लिएर फरार भएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
केसीले सुवेदीलगायतलाई बेलायतमा केयर गिभरमा १० लाख ५० हजार रुपैयाँ तलब हुने काम लगाइदिन्छु भनि विश्वास दिलाइ उक्त रकम लिएको प्रहरीले बताएको छ । केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
काठमाडौं : हंगेरी, दक्षिण कोरिया र पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकोे छ । रौतहट माधव नारायण नगरपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं वडा नं. १४ कुलेश्वर बस्ने चन्दन कुमार श्रेष्ठले अभिषेक रावललाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाइदिन्छु भनि ठगी गरेको उजुरीमा प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले रावललाई हंगेरी पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ पटक–पटक गरी २ लाख ७४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भइ ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ । प्रहरीले श्रेष्ठलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।
त्यस्तै वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले गोरखाको गोरखा नगरपालिका वडा नं. १४ घर भइ हाल काठमाडौंको सामाखुसी बस्ने बाबुराम थापालाई पनि पक्राउ गरेको छ । थापाले अमिर तामाङसमेत ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने र प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर पीडितहरुबाट पटक–पटक गरी ९ लाख रुपैयाँ लिएको प्रहरीले बताएको छ ।
थापाले दक्षिण कोरिया पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ उक्त रकम लिएको खुलेको प्रहरीले बताएको छ । थापालाई प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।
त्यसैगरी पोर्चुगल पठाइदिन्छु भनि ठगी गरेको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोक लिसंखुपाखर घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने टिका बहादुर भण्डारीलाई पनि पक्राउ गरेकोे छ । भण्डारीले टोपेन्द्र घर्तीसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ भनि १७ लाख ६० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।
भण्डारीले पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने काम लाइदिन्छु भनि विश्वास दिलाइ उक्त रकम लिएको देखिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कालीका गाउँपालिका १ रसुवाकी नानी तामाङ (नाम परिवर्तन)लाई यूएईबाट कतारमा घरेलु कामदारको रूपमा बेचिएको पाइएको छ । १९ महिना अगाडि नेपालको एक म्यानपावरबाट रसुवा नै घर भएका अमृत गुरुङले दुबई भिजिट भिसामा पठाएपछि उनी दुबईबाट कतारमा बेचिएको भेद खुलेको हो ।
गत सालको डिसेम्बरमै एनसीसी कतारले यस बारेमा जानकारी पाए पनि कसरी कदम चाल्ने, कहाँबाट सत्य तथ्य बुझ्ने र कसरी नेपाल फिर्ता पठाउने भन्ने बारेमा दूतावाससँग समन्वय गर्दै अगाडि बढेको एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । यो विषय मानव बेचबिखनसँग जोडिने र अति नै संवेदनशील रहेका कारण केही समय लागेको बताउँदै उनले एनसीसीको जानकारीमा आइसकेपछि एनसीसीकै श्रमिक विभागका संयोजक र सह संयोजकले आवश्यक कदम चालेको बताए ।
श्रमिक विभागका संयोजक कृष्ण पन्थीले मासिक करिब १२ सय तलब दिने सर्तमा यूएईबाट कतार ल्याए पनि दुई–तीन महिनामा एक पटक एक हजार मात्रै दिने गरेको पीडितलाई उद्धृत गर्दै मध्यान्हसँगको कुराकानीमा बताए । उनले तामाङ आफैंले हिम्मत गरेर घर छोडेर एनसीसीको सम्पर्कमा आइसकेपछि मात्र उनको नेपाल फिर्तीका लागि सहजीकरण गर्न सहज भएको बताए ।
दुबईबाट कतार पठाउने पीडकको खोजी र पीडितलाई उचित न्याय दिलाउन एनसीसी कतारले पुरै पहल गर्ने भएको छ । कतारमा घरेलु कामदारका लागि नेपाल सरकारले श्रम स्वीकृति दिँदैन ।
काठमाडौं : सामाखुसी क्षेत्रमा कार्यालय स्थापना गरेका वैदेशिक रोजगार व्यवसायीलाई घरधनीहरुले साथ दिएका छन् । काठमाडौं महानगरपालिकाको ७ दिनभित्र कार्यालय हटाउनुपर्ने उर्दीपछि भएको म्यानपावर व्यवसायी र घरधनीहरुबीचको छलफलमा घरधनीहरुले म्यानपावर कम्पनीहरुले घर छोड्नुपर्ने पक्षमा आफूहरु नरहेकाले ट्राफिक व्यवस्थापन गरेर पूर्ववतरुपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको विस्डम ह्युमेन रिसोर्स प्रा.लि.का सञ्चालक भेष केसीले जानकारी दिए ।
महानगरपालिकाले ७ दिनभित्र कलकारखानासहित म्यानपावर कम्पनीका कार्यालय आवासीय क्षेत्र बाहिर सार्न माइकिङ गरेपछि वैदेशिक रोजगार व्यवसायी एकता समितिले वडाध्यक्षलगायतसग महानगरपालिकाले गरेको माइकिङका सम्बन्धमा छलफल गरेको थियोे । छलफलमा वडाध्यक्ष ख्यामराज तिवारीले म्यानपावर कम्पनीको कार्यालय राख्न नदिने वा दिने भन्ने कानूनमा स्पष्ट नभएको, तर आवासीय क्षेत्र छुट्याइएको अवस्थामा आवासीय क्षेत्रमा मापदण्डअनुसार हुनुपर्ने मध्यमार्गी धारणा सार्वजनिक गरेका थिए ।
व्यवसायी केसीले महानगरपालिको उर्दीपछि पहिलेदेखि नै कार्यालय सार्ने योजना बनाएका बाहेक उर्दीकै कारणले कुनै पनि म्यानपावर कम्पनी नसरेको जानकारी दिए । व्यवसायीहरुले कार्यालय सार्न वैदेशिक रोजगार विभागको अनुमतिसहित अन्य कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले महानगरपालिकाले भन्नेबित्तिकै कार्यालय सार्न नसकिने बताएका छन् ।
काठमाडौं महानगरले माइकिङ गर्दै उक्त क्षेत्रमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीसहित उद्योगहरु ७ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिँदै ७ दिनको अवधिमा स्थानान्तरण नगरेमा कानूनी कारबाही गर्ने बताएको थियोे । तर त्यसपछि महानगरपालिकाबाट थप कुनै निर्देशन आएको छैन । व्यवसायी केसीले वैदेशिक रोजगार व्यवसायीहरुबीच पार्किङको समस्यालाई समाधान हुने गरी पार्किङ तथा अन्तर्वार्ताका गतिविधि सञ्चालन गर्ने सहमति भएको र सोही अनुसार पार्किङ र अन्तर्वार्ताको कामहरु भइरहेको बताए ।
काठमाडौं : ईपीएस कोरिया शाखाले शुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत शुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने र परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ ।
यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि शुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भइसकेको र उक्त परीक्षाका लागि एक दिनमा पाँच वटा सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन् । उनले भनिन्, ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौं, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।’
परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिङ्गरप्रिन्ट दर्ताका लागि उपस्थित भइ परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।
परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन् । उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरु अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि पोर्चुगललगायतका देश पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं.३ घर भइ हाल काठमाडौंको काडाँघारी बस्ने विजय राईलाई पक्राउ गरेको हो ।
उनले मिन बहादुर थापासमेतलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल, दुबई, साउदी अरब र रोमानिया पठाइदिने आश्वासन दिएर त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएर ६ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।
राईले थापालाई विश्वास दिलाउन एमटी ओभरसिज नामको कम्पनीमा लगेर रकम लिएका थिए । त्यसपछि राईले थापालाई दुबईको भिसा लागेको भनि विमानस्थलमा बोलाएर टिकट रद्द भएको बताएर सम्पर्कविहीन भएका थिए ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारको नाममा ठगी गरेको आरोपमा धादिङको सिद्धलेक गाउँपालिकाका घर भइ हाल काठमाडौं चन्द्रागिरि नगरपालिका बस्ने श्रीराम पण्डितलाई पनि पक्राउ गरेकोे छ । पण्डितले श्रीराम अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पटक–पटक गरी एक लाख रुपैयाँ लिएको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि दुवै जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ ।
तिलोचन गौतम/मध्यान्ह
काठमाडौं : मलेसियाको पेनाङ्गमा रहेको एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका बर्दिया १ बर्दियाका ४० वर्षीय शिव प्रकाश थारुलाई जनउद्धार केन्द्र मलेसियाले उद्धार गरि स्वदेश फर्काएको छ ।
अवैधानिकरुपमा काम गर्दै आएका थारु प्यारालाइस भएर तीन महिनादेखि बिरामी थिए । साथमा कागजात नभएको कारण अस्पताल भर्ना गरेर उपचार गराउन सम्भव नभएपछि केन्द्रले र नेपाली दूतावासको सम्मन्वयमा हिमालय एअरलाइन्समार्फत बिहीबार बिहान स्वदेश फर्काएको जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिए ।
थारुलाई जनउद्धार केन्द्रका कोषाध्यक्ष विरस पुनले विमानस्थलसम्म पुर्याएर २ जना साथीहरूको साथ लगाएर नेपाल पठाएका थिए । थारुलाई जनउद्धार केन्द्रका संरक्षक तथा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले त्रिभुवन विमानस्थलमा पुगेर आफन्तको जिम्मा लगाएका थिए । प्यारालाइसिस बिरामी थारु अहिले आफन्तहरुको सहयोगमा वीर अस्पताल भर्ना भइ उपचाररत छन् ।
काठमाडौं : ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारदेखि शुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भएको शाखाले जनाएको छ ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइने व्यवस्था मिलाएको शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले त्यसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिइन् । पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने र शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएको भन्दै कँडेलले अन्य सिफ्ट त्यसपछि तय गरिने बताइन् ।
परीक्षार्थीहरु परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्ने व्यवस्था शाखाले गरेको छ । परीक्षा शुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरियन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने व्यवस्था मिलाइएको पनि निर्देशक कँडेलले जानकारी दिइन् ।
परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies