
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्दै ऋणीहरूबाट ऋण असुली गर्ने कार्यलाई थप कडा बनाइएको जानकारी दिए ।
बचत फिर्तामा देखिएका नीतिगत तथा कानुनी अड्चनहरूलाई सरकारले सम्बोधन गरिसकेको उल्लेख गर्दै उनले ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताए । उनले कुनै एक व्यक्ति विशेषलाई मात्र नभई सहकारी ठगीमा संलग्न भई फरार रहेका सबै पात्रहरूलाई खोजी गरी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।
सहकारीको समस्या समाधान गर्नु सरकारको मुख्य प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री रावलले यस कार्यमा कुनैपनि सम्झौता नगर्ने र दोषीहरूलाई कानुनी कारबाही गरी बचतकर्ताको हित संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको शुद्धीकरणका लागि आवश्यक सबै कदम चाल्न सरकार दृढ रहेको समेत बताए ।