आरके डिसी/मध्यान्ह
काठमाडौं : अन्ततः सत्ता समीकरण फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले मन्त्रीको शपथ लिएका छन् ।
१० पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए ।
उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद गठन गरेका थिए ।
जसमा कांग्रेसका ९ जना, माओवादी केन्द्रका ५ मन्त्री र एक राज्यमन्त्री, जनता समाजवादी पार्टीका २ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना मन्त्री थिए ।
यो समीकरणमा भएका सबै दलका मन्त्री हटेर नयाँले शपथ लिएसँगै प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्षमै तेस्रोपटक सत्ता समीकरण बदलिएको हो । यो सत्ताको रिले दौडमा कांग्रेस र एमाले एक बाहिरिँदा अर्को भित्रिरहेका छन् । यसपटक पनि त्यस्तै भएको हो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाबन्दी हुँदै बृहत बामएकतासम्मको लक्ष्य अनुसार नयाँ समीकरण बनाएको बताएका छन् ।
सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले राजधानीमा गरेको ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पनि बृहत बाम एकताकै लागि नयाँ समीकरण बनेको बताउँछन् । भन्छन्, ‘समाजवादी मोर्चाबन्दीका माध्यमबाट बृहत बाम एकताको लक्ष्य राखिएको छ । त्यस आधारमा नयाँ समीकरण गरेर अगाडि जान खोजिएको हो ।’
राष्ट्रिय सभामा भागबण्डा
नयाँ सत्ता गठबन्धन बनाएका दलले आठ बुँदे सहमति गरेका छन् । चार दलका प्रमुखले हस्ताक्षर गरेको सहमतिमा राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने उल्लेख छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने कार्यतालिका छ ।
सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलसँग पनि संवाद अगाडि बढाउने बताइएको छ भने चार दलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अविलम्ब टुंग्याउन पनि सहमति गरेका छन् । माओवादीको चाहनाअनुरुप नेकपा एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका अधिकांश बुँदामा सहमति जनाइसकेको छ ।
सरकारको काम अघि बढाउन संयुक्त तीन तथा कार्यक्रम बनाउने सहमति पनि चार दलले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies