एक दशकभन्दा लामो समय सडक नाटक र आर.जे. भि.जे. हुँदै २०६९ बाट मोडलिङ तथा अभिनयमा प्रवेश गरेका अभिनेता तेज गिरी अब्बल अभिनेताको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । आफूले अभिनय गरेको चलचित्रमार्फत उनले उत्कृष्ट अभिनेताको अवार्डसमेत हासिल गरिसकेका छन् । हालसम्म उनले डेढ दर्जन बढी म्युजिक भिडियो र एक दर्जन चलचित्रमा विभिन्न भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । गत वर्ष प्रदर्शनमा आएको उनी अभिनित चलचित्र ‘प्रेमगञ्ज’ले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शन भइरहेको छ । प्रस्तुत छ अभिनेता तेज गिरीसँग चलचित्र ‘उपहार’ र समसामयिक विषयमा मध्यान्ह दैनिकका लागि सानु श्रष्ठले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं अभिनित चलचित्र उपहार प्रदर्शनमा छ, कस्तो आशा गर्नुभएको छ ?
यस चलचित्रमा आफूले पाएको भुमिकालाई न्याय दिन मैले अत्यन्तै मेहनत गरेको छु । बलियो टिमले निर्माण गर्नुभएको चलचित्र हो । समसामयिक विषयवस्तुलाई समेटेर निर्माण भएको हुँदा चलचित्र पनि राम्रो बनेको छ । त्यसैले पनि म यस चलचित्रबाट पूर्ण आशावादी छु । यस चलचित्रमा जोडिएर मैले धेरै कुराहरु सिक्ने अवसर पनि पाएको छु ।
उपहार सुटिङको समयमा बिर्सनै नसकिने त्यस्तो घटना केही छ कि ?
त्यस्तो बिर्सन नै नसकिने घट्नाहरु त केही छैनन्, तर म हरेक कामबाट केही न केही सिक्ने कोसिस गर्छु र यस चलचित्रको सुटिङका हरेक पलहरु मेरा लागि यादगार छन् ।
बैंकिङ क्षेत्रको मान्छे कला लाइनमा प्रवेश गर्नुको कारण ?
म बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले नै सडक नाटकहरुमा सक्रिय थिएँ । स्कुले जीवनदेखि नै जीवनभर यही क्षेत्रमा सक्रियरुपमा लाग्छु भन्ने सपना बोकेको थिएँ । बैंकिङ क्षेत्रमा प्रवेश गरेपछि पनि मैले वित्तीय साक्षरता, व्यावसायिक साक्षरता र बैकिङ जागरणसम्बन्धी सयौं नाटकहरु र केही चलचित्रहरुमा विभिन्न भूमिकामा अभिनय गरें । यसै सिलसिलामा २०७१ सालमा मलाई नेपाली कथानक चलचित्र धौलीमा अभिनय गर्ने अवसर मिल्यो । यही चलचित्र मार्फत सिने जगतमा नायकको रुपमा प्रवेश गरें र अहिलेसम्म निरन्तर सक्रियरुपमा आफ्नो उपस्थिति जनाउँदै आएको छु । धौली चलचित्र भन्दा अघि २०६९ मा नेपाली कथानक चलचित्र कालेमा अभिनय गर्ने अवसर मिलेको थियो, तर दुर्भाग्य त्यो चलचित्र हालसम्म प्रदर्शन हुन सकेन ।
कला क्षेत्र र बैंकिङमा भिन्नता के छ ?
यो दुवै क्षेत्रले देश विकासमा समान योगदान दिएका हुन्छन् । कला क्षेत्रले कलामार्फत देशको कला, संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै धेरैलाई रोजगार सिर्जना गरेको हुन्छ भने बैंकिङ क्षेत्रले पनि उद्यमशिलता विकासमा ठूलो योगदान दिइ हजारौंको संख्यामा रोजगारी सिर्जना गरेर अर्थतन्त्रमा ठूलो सहयोग गरेको हुन्छ । व्यवस्थापनको हिसावले भने वित्तीय क्षेत्र अत्यन्तै पारदर्शी छ भने कला क्षेत्रमा पारदर्शिताको कमी देखिन्छ ।
तपाईंले अभिनय गरेका चलचित्रहरुमध्ये कुन चलचित्र चित्त बुझ्दो लाग्यो ?
हालसम्म दर्जन बढी चलचित्रमा भिन्न, भिन्न भूमिकामा अभिनय गरेको छु, त्यसमध्ये मलाई चित्त बुझेको चलचित्र भने प्रेमगञ्ज हो । यो चलचित्रमा मैले मनैदेखि काम गर्न पाएको थिएँ र यो चलचित्रले मेरो चर्चा चुलिएको थियो ।
प्रतिस्पर्धाको यो भिडमा आफू कहाँ छु जस्तो लाग्छ ?
पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रियरुपमा कार्य गर्दै आएको भएता पनि यस क्षेत्रका लागि म विद्यार्थी जस्तै हुँ । सिकाइ भनेको मृत्युपर्यन्त रहने कुरा हो । मैले सिक्नुपर्ने अझै धेरै कुराहरु छन् । यस क्षेत्रमा मैले अझै धेरै योगदान दिनुपर्नेछ । म काममा विश्वास गर्छु र चर्चाको पछि कहिल्यै लाग्दिनँ । मेरा लागि सबैभन्दा ठूलो प्रतिश्पर्धि भनेको नै म आफैं हुँ । आफैंलाई बलियो र मजबुद बनाउन र उत्कृष्ट नतिजा दिन निरन्तर लागि रहनेछु ।
चलचित्रमा आउन शुरुमा लगानी गर्नुपर्छ, तपाईंको सवालमा यो कुरा लागू भयो कि भएन ?
हो, मैले पनि त्यही भनेको सुन्दै आएको छु । तर मेरो सवालमा त्यो भएन किनकि म मिस्टर नेपाल २०१२ मा उत्कृष्ट ५ हुँदै अभिनयमार्फत मोस्ट ट्यालेन्टको आवर्ड जित्न सफल भएको थिएँ । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएका निर्देशक उद्धब अभिजितले नै पहिलो पटक मलाई काले चलचित्रमा अभिनय गराउनुभएको हो । त्यसपछि क्रमशः अन्य चलचित्रमा जोडिँदै आएको हुँ । केही चलचित्रमा पारिश्रमिक नलिएर शेयरमा बसें, तर आफूले भने आजसम्म एक रुपैंया पनि लगानी गर्नुपरेको छैन ।
म्युजिक भिडियोमा पनि देखिनु हुन्थ्यो, अहिले देखिनु हुन्न किन ?
हजुर, विगतमा लगभग डेढ दर्जन भन्दा बढी भिडियोहरुमा काम गरें, तर केही वर्षदेखि भने गरेको छैन । चलचित्रमा काम गर्दा तयारी र समय धेरै दिनुपर्ने भएकाले समय व्यवस्थापन गर्न केही कठिनाइ हुँदा नगरेको हुँ । त्यो भन्दैमा गर्दै नगर्ने भन्ने होइन राम्रो टिम र राम्रो काम भयो भने फेरि पनि गर्नेछु ।
नेपाली चलचित्रले दर्शक नपाउनुको कारण ?
हाम्रो देशको जनसंख्याको तुलनामा चलचित्र निर्माणको संख्या धेरै भएर हो । धेरै निर्माण हुँदा राम्रा चलचित्र कम बन्ने गर्दछन् । नराम्रा चलचित्रका कारण दर्शकहरु भड्किरहनुभएको छ । अर्को पाटो भनेको १ करोडमा बनेको चलचित्रले ४–५ सय करोडमा बनेको चलचित्रसँग प्रतिस्पर्धा गर्नु परेका कारण पनि असर परेको देखिन्छ । नेपाली माटो, नेपालीपन र नेपाली समाजको मुद्दा बोकेका मौलिक चलचित्रले नेपाली दर्शकलाई आकर्षण गर्न सफल भएको देखिन्छ ।
नेपाली चलचित्रलाई विश्व वजारमा पुर्याउन के गर्नुपर्ला ?
सर्वप्रथम प्राविधिकरुपमा सबल चलचित्र निर्माण हुनुपर्दछ । नेपाली दर्शकहरु विश्वभर फैलिएका छन् । उनीहरुलाई लक्षित गरी चलचित्र निर्माण हुनपर्छ । पछिल्लो समय चलचित्र हेर्ने दर्शकहरुको पनि रोजाइ र अपेक्षा परिवर्तन भएको छ । दर्शकको रुचीलाई बुझ्ने कोसिस गर्नुपर्छ । नेपालको धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यतालाई उच्च प्राथमिकतामा राखेर चलचित्र निर्माण गर्नुपर्छ । विश्व बजारमा लैजान सरकारी तवरबाट समेत समन्वय आवश्यक छ ।
भावी योजना के छ ?
आफ्नो अभिनयमा अझै निखारता ल्याउनका लागि प्रशिक्षणहरु लिनेछु । शारीरिक र मानसिक रुपमा बलियो हुनका लागि व्यक्तित्व विकासमा समय खर्चनेछु । देशभक्ति भाव बोकेका चलचित्रहरुमा काम गर्ने योजना रहेको छ, जसका कारण देशमा भएका विकृतिहरुको अन्त्य गर्नमा ठूलो सहयोग पुगोस् । कलाकारिताको अलावा सामाजिक कार्यहरुमा पनि सक्रिय हुने योजना बनाएको छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies