–डा अरुणा उप्रेती
मिठाई धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाई उत्सव, रमाइलोका बेलामा, प्रसादका रूपमा खाइन्छ तर, त्यो मिठाईमा के–के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सरसमेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेका छन् । यस्ता मिठाइहरू प्रायः मैदा र चिनीबाट नै बनेको हुन्छन् । मैदा र चिनी दुवैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोगबाट त शरीरमा पौष्टिक तत्वको कमी हुन जान्छ । शरीरमा पौष्टिक तत्वको कमी भएपछि अनेक किसिमका स्वास्थ्य समस्या पैदा हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक बयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ । तर, वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौं । उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो । यदि त्यसमाथि मिठाई पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ । यसरी बनाएको बिस्कुटहरू कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन ।
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानिकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिवल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोलि नै केही समस्या नपर्ने हुनाले मानिसहरूलाई यसरी गुलियो धेरै हालेको पदार्थ, नदेखिने हुनाले ढुसी लागेको पदार्थ खाएपछि बिरामी परिन्छ भन्ने पनि थाहा हुँदैन ।
अमेरिकन डायबेटिज एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसन भन्छ, “डायबिटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।” सो एसोसिएसनले डायबिटिज भइसकेको छ वा हुने जोखिम छ भने पानी, बिना चिनीको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।
चिनी सबै चिसो पेयहरूमा पाइने एक प्रमुख तत्व हो । चिनी विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरूमा राखिएको हुन्छ । अधिकांश चिसो पेयमा चारदेखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रूपमा चिनी रहेको छ । त्यस्तैगरी चिनी मानिसहरूमा मधुमेहको र साथै हृदयरोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरूको वृद्धि गर्नका लागि प्रमुख सहयोगीका रूपमा रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको बुलेटिनअनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्षयताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरू जस्तोः टाइप २ डायबिटिज र अधिक मोटोपनको वृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलिया पेय पदार्थ भएको पाइएको छ । यसै कारणले गर्दा पनि मेक्सिको चिनीको गुलियो भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्यवृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी कर लगाएपछि पेय पदार्थको खरिदमा छदेखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो ।
गुलियोको कारणले पनि दाँतको पालिस् पखालिने अवस्था बन्छ । यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्याहरू बढी देखिएका छन् । दाँतमा प्वाल पार्ने र दन्त हर्ष । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरूले बताएका छन् । बट्टामा राखेको फलफूलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफूलको रस किन्नुभन्दा फलफूल नै स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ । चाडपर्वमा चिसो पेय पदार्थ र बट्टाका फलफूलको रसको पनि धेरै नै प्रयोग गरिन्छ बट्टाको फलफूलमा पनि एकदम धेरै नै प्रयोग गरिन्छ । बट्टाको छलफलमा पनि एकदम धेरै नै चिनी भएको तथ्य छ ।
नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै अर्को पेय वस्तु बजारमा आएको छ, इनर्जी ड्रिंक । दशैं तिहारमा एकदम धेरै मानिसहरूले यो प्रयोग गर्छन् । कतिपयले कोसेली पनि लैजान्छन् । यसलाई यो शक्तिवर्द्धक पेय वस्तुको रूपमा व्यापक प्रचार प्रसार गरिएको छ । युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरू अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रूपमा उपभोग गरिरहेका छन् । यसले शरीरमा कति धेरै हानी छ भन्ने कुरा आम उपभोक्ताहरूले बुझेका छैनन् । आम सञ्चार माध्यममा विज्ञापनको आइरहेको पनि यस्ता गुलिया पदार्थहरूको बारेमा छलफल हुँदैन ।
यस पेयमा प्रशस्त मात्रामा चिनी हुने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ । थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरूको भनाइ छ । वरिष्ठ वाल रोग विशेषज्ञ डा. विष्णु पण्डितका अनुसार बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्रान्डका सफ्ट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन् । यस्ता पेय पदार्थका कारण बच्चाहरूमा खाना रुचि कम हुन्छ र उनीहरूलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेय वस्तुहरू खानेहरूमा मोटोपना आउँछ । चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायबिटिजको सम्भावना बढ्छ । यसले बालबालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ ।
बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरा मिठाई किनेर खाने चलन छ । यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाई ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाई बनाउन सकियो भने राम्रो हुन्छ । हलुवा, पुरी, सेल, खीर आदि त घरमा पनि सहजसँग बनाउन सकिन्छ । यस्तै खानेकुरामा ध्यान दिनसकेमा निरोगी बन्न सकिन्छ ।
(लेखक पोषणविद् हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies